सुन्दर मध्य तथा सुदुरपश्चिम (तस्विर संग्रह)


Image

‘हट घोडा हट….. ।’ भारततर्फ प्रस्थान गर्ने कञ्चनपुरको सिमानाका गड्डाचौकीतिर टाँगामा चढेर प्रस्थान गर्दै यात्रुहरु ।

Image

‘शान हाम्रो…..।’ चिसापानीको कर्णाली पुल ।

Image

‘मेरा आँखामा आँखा जुधाएर हेर…..।’ मृगका बथान बर्दिया राष्ट्रिय निकुञ्जमा ।

Image

‘शितल, शान्त अनि शौम्य….’ दाङको जखेरा ताल ।

Image

‘बादलुको घुम्टोभित्र सानो मेरो गाउँ….’ सुर्खेत जिल्ला तथा समग्र मध्यपश्चिमको सदरमुकाम वीरेन्द्रनगर उपत्यका ।

Image

‘साँझपख एकान्तमा….’ वीरेन्द्रनगरबाट देखिएको सुर्यास्त पछिको गोधुली साँझको दृश्य ।

Image

‘कौडीको भाउ !’ चर्चित काँक्रेविहार भग्नावशेष ’round मिल्किएका पुरातात्विक महत्वका शिलाहरु ।

Image

‘ॐ मणिपद्मे….’ काँक्रेविहार भग्नावशेष ।

Image

काँक्रेविहार भग्नावशेष ।

Image

‘पाखाबारी तोरी फूलेको….’ कैलालीको नारायणपुर गाविसको तोरी खेती ।

Image

‘मौरी फूलमाथी…..’ कैलालीको नारायणपुरमा तोरीमा रमाउँदै गरेको भिर मौरी (जसलाई भिरे पनि भनिन्छ)

Image

‘सुदुरको शान….’ कैलालीको टिकापुर पार्कको वीरेन्द्र बिश्राम गृह ।

Image

‘हाम्रो भाषा-हाम्रो भेष…..।’ कैलालीको टिकापुर पार्कमा ड्राई पिकनिकपछि घर फर्किँदै परम्परागत पोशाकमा स्थानिय थारु समुदायका महिलाहरु ।

Image

‘प्रेमको प्रतिक…’ कैलालीको टिकापुर पार्कमा फूलेको रातो गुलावको फक्रिँदै गरेको फूल । टिकापुर पार्कमा विभिन्न प्रजातिका गुलावहरु पाईन्छन् ।

Image

‘डुँगा चढी सरर जाउँला बरिलै…..’ कर्णाली नदीमा र्‍याफ्टिङ ।

Image

‘नजिक नआउ है ! क्वाप्पै पार्दिन्छू !’ बबई नदीमा घडीयाल गोही ।

Image

‘भोक लाग्योन्त…. !’ आहाराको लागी माछाको खोजीमा बबई नदीमा एउटा चरा ।

Image

‘गतिशिल हैन स्थिर…..’ बर्दियाको बबई नदी ।

 

Posted in Uncategorized | Tagged , , , , , , , , | 2 टिप्पणीहरु

चुनाव यात्रामा तनाव


साप्ताहिक रेडियो कार्यक्रमको उत्पादनका क्रममा केही नागरिकसंग टेलिफोनबाट कुराकानी गर्ने र सामाजिक संजालका अदृष्य कोठे बहसमा सामेल हुने बाहेक यसपालीको संविधानसभा निर्वाचन प्रति आम नागरिकका अभिब्यक्तिहरु बुझ्ने मौका मिलिरहेको थिएन । यस्तैमा चुनावको मिति नजिकिँदै जाँदा मत हाल्न कोको जाने भनेर साथीहरुसंग छलफल पनि भयो तर लामो समयदेखिको हिँसाको छाँयामा हुर्केको हुनाले पनि हुनसक्छ धेरै चिनजानका साथीहरु भोटहाल्न नजाने भएछन् । मलाई पनि भोट दिएर के हुन्छ भन्ने कुराको ठेट उत्तर आफैमा नमिलिरहेको हुनाले के गरौँ गरौँ भैरहेको थियो । तथापि सुशासनको वकालत गर्ने, लोकतन्त्रमा विश्वास गरेको बहस गर्ने र नागरिक सर्वोच्चताका ठुलाकुरा गरिटोपल्ने भएका नाताले पनि मैले मतदान गर्नेपर्छ भन्ने तर्कले म आफैलाई जित्यो । अरुले नपत्याउँदा नपत्याउँदै पनि मंसिर १ गते शनिबारका दिन एकाएक नेकपा—माओवादीको चक्काजाम बाबजुत पनि सुर्खेत जाने निधोमा पुगेँ ।

सरकारले चक्काजामलाई विफल पार्न र मतदान गर्न गाउँघर फर्कँदै गरेका नागरिकलाई सुरक्षा दिनका निम्ति भनेर मन्त्री परिषदको निर्णयबाटै प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेको बताएको थियो । यसले पनि केही मात्रामा ढुक्क बनाएको थियो । तर जब बसपार्क पुगेर सुर्खेतको गाडी’bout बुझेँ त्यहाँ सुर्खेत जाने गाडी चक्काजामका कारण अघिल्लै दिनदेखि संचालनमा नआएको खबर पाएँ । अब अर्को उपाय के त ! नेपालगञ्जको गाडीमा भएपनि जानुपर्छ झैँ लाग्यो तर त्यसमा पनि सिट रहेनछ मुढामा बसेर जानेभए मात्रै भन्ने उत्तर मिल्यो । संचारकर्मी भएको नाताले केही उपकरणहरु साथमा थिए त्यसैले मुढाको यात्रा त्यति ठिक लागेन । त्यत्तिकैमा ‘यात्रुको चापलाई ध्यानमा दिँदै’ भनेर नेपालगञ्जको कृष्णसार यातायात समितिले एउटा नयाँ गाडी थप्यो साथमा चढ्ने बित्तिकै जो जहाँ जानेभएपनि एक हजार रुपैँया ‘फिक्स रेट’को शर्त तेर्स्याएर । मेरा निम्ति त त्यो निर्णय खासै अनुपयुक्त थिएन तर मुग्लिङ, नारायणगढ, नवलपरासी, रुपन्देहीमा जानेहरुका लागि भने अप्रिय नै थियो त्यो कुरा, तथापी विकल्प थिएन अर्को त्यहाँ जाने यात्रुहरुका निम्ति ।

भरिएको बसलाई पनि दुईघण्टा कुराएर बस साढे छ बजे नयाँ-बसपार्कबाट हिँड्यो ।

बाटोमा खासै यात्रु नभएकोले बसले कलंकी पार गर्न २० मिनेट भन्दा ज्यादा समय लिएन । सतुंगल पुग्दैगर्दा मेरा निम्ति यो चक्काजामको पहिलो घटना आँखै अघि देखियो—ससाना २ जना किशोरहरुले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेर भागे । बसमा ह्वारह्वारर्ती आगो लाग्यो, जिउमा पेट्रोल पोखिएर आगो लाग्दै गरेको एकजना युवक चिच्याउँदै लुगा खोलेर गाडीको झ्यालबाट हामफाल्दै गरेको त्यो दृष्यले मलाई ‘भोटसोट खाँचैसित्ति, फर्किन्छु यहीँबाट !’ भन्ने लाग्यो तर बस सेकेण्ड पनि नरोकिएर झन बेतोडका साथ हुँईकियो, मानौँ कि अबको तारो त्यही थियो, जसबाट बच्न उ भागिरहेछ ।

नागढुँगामा पुग्दा बसको लामो लाम थियो । बाटोको जोखिमलाई ध्यान दिँदै साढे पाँच बजेदेखि बसपार्कबाट गुडेका गाडीलाई संगै स्कर्टिङ गर्न भनेर रोकिँदा बसहरुको लामो लाम भएको रैछ ।  चेकिङमा बसेका प्रहरी भन्दैथिए—‘सतुँगलको बसमा हानेको बमका कारण नौ जना सर्वसाधारण घाईते भए ।’ प्रहरी स्कर्टिङमा यतिलामो यात्रा तय गर्नुपर्दा कता कता डर पनि लाग्दैथियो तर त्यो डरलाई उत्तेजनामा बदल्ने काम चाँही बसभित्र भएको बहसले गर्न थाल्यो ।

आखिर चुनावमा भोट हाल्न जान लागेका मतदाता यात्रु न परे, आफ्नो चरित्र देखाईहाले-सुरु भयो ‘चुनावी बस बहस’ । आधाउँधी यात्रुहरु बैद्यलाई सकेजतिको गाली गर्नमा मस्त भए भने केहीले संविधानसभाको चुनाव भएकाले कसैलाई पनि छुटाउन हुँदैनथ्यो भनेर उदारताको भाव प्रकट गरे । जे होस् तिहार लगत्तैको यात्रा भएपनि कसैमा चाडपर्वको ह्याङओभर थिएन । थियो त बरु देशको चिन्ता, बन्दको आक्रोश, चुनावी परिणामको आँकलन अनि संविधान बन्ने नबन्ने ’boutका तर्कहरु ।

काठमाण्डौबाट सुरु भएको स्कर्टिङ यात्रामा आधा आधा घण्टाको शशस्त्रको डिउटी चेन्जको बिश्राम त छँदैथियो, नवलपरासीको सुनवलमा पुगेर केहीबेरसम्मका लागि भन्दै करिब दुईघण्टाको अर्को बिश्राम भयो । हामी चढेको बस सहित मात्र दुईवटा बसलाई छाडेर बाँकी ४० वटा बस लिएर सुरक्षाकर्मीको अघिल्लो मोवाईल टिमले बुटवल पार गरिसकेको हुँदा थप १०/१२ वटा बस नआउन्जेल भन्दै हामीलाई त्यहाँ रोकियो । यात्रुहरु केही बेर त प्रतिक्षामा रहे तर एकघण्टा भन्दा बढि समय धैर्य गर्न नसकेपछि गाडीबाट ओर्लेर फेरी बहस गर्न थाले । बसमा मलेसिया र दुबईबाट फर्केका यात्रुहरु पनि रहेछन् । लामो समयपछि नेपाल फर्किँदा चक्काजामका कारण भोग्नुपरेको सास्ती, देशमा काम गर्न नपाई बिदेशिनु परेको पिडा सबै खाले गफहरु उनीहरुले गर्न भ्याए । त्यसमध्ये रोल्पाका घर्ति थरका एक युवाको भनाई मन छुने खालको थियो । उनी भन्दैथिए—‘आफूले त केही गर्न सकेनन् सकेनन्, काम गरिखान्छौँ भन्नेलाई पनि बिदेशिन बाध्य पारे यी राजनितिक दलहरुले ।’ आफ्नो कुरामा सबैको मौन सहमति देखेर हौसिँदै उनले थपे—‘विदेश जाने एक लाख रुपैँयाले गाउँमै पसल थाप्छु भनेर खोजेको थिएँ तर सबैभन्दा धेरै उधारो लिने र नतिर्ने तिनै दलका कार्यकर्ताका कारण, अत्ताल्लिएर बिदेश भास्सिएको हुँ म । बिदेशमा समेत काम गर्ने कम्पनीमा नेपालीले राजनिति गर्न थालेपछि त्यहाँ पनि बस्न नसकेर नेपाल फर्किएको छु । हेरम अब फेरी कता खेद्नेहुन् ।’

बिदेशबाट फर्केका ती युवाको कुरा सुन्दासुन्दै दुईघण्टा बितेछ । त्यसपछि भने हामी यात्रुहरुले थप गाडी नआएको देखेर सुरक्षाकर्मीलाई गाडी अगाडी बढाउन आग्रह गर्‍यौँ र अघि बढियो । बुटवलमा पुगेपछि अधिकाँश यात्रुहरु त्यहीँ ओर्लिए, किनकी बुटवलको गाडी नपाएर उनीहरु बढी भाडा तिरेर नेपालगञ्जको गाडीमा चढेका यात्रुहरु थिए । त्यसपछि ६/७ जना यात्रुहरु बोकेर बस अघि बढ्यो । झिसमिसे उज्यालो हुँदा सायद चन्द्रौटा पुगिएको थियो क्यारे, अगाडी करिब ४० वटा गाडीको लाम देखियो । लौ मार्‍यो ! फेरी बम फेला परेछ र गाडी रोकिएछन् क्यारे भनेर झरेको त निकै कम ग्यापमा दौडिएका अघिल्ला तीन गाडीहरु एक आपसमा ठोक्एिर बाटो जाम् भएको रैछ । धन्न सामान्य सिसा फुटेको बाहेक मानविय क्षति भने भएको रहेनछ । एकछिन पछि सबै गाडीहरु त्यहाँबाट अघि बढे ।

यसरी सुरक्षाकर्मीको स्कर्टिङमा रोक्किँदै अघि बढ्दै बाँकेको शमशेरगञ्ज आईपुग्दा विहानको १० बजिसकेको थियो । राजमार्ग सुरक्षाका निम्ति प्रहरीले त्यहाँ भारतिय नम्बरप्लेटको साईरन र इमेरजेन्सी लाइटयुक्त गाडी प्रयोग गरेको देखियो । केही यात्रुले त नेपाली प्रहरीले नपुगेर भारतबाटै सुरक्षाकर्मी त मगाएनन् भन्न पनि भ्याए । यद्यपी त्यो अर्थहीन तर्क थियो । सायद सवारी साधन नपुगेर भारतबाट भाडामा ल्याईएको गाडी थियो त्यो । किनकी भारतले नेपालललाइ सहयोग गरेको गाडी थिएन त्यो ।

शमशेरगञ्जबाट करिब आधाघण्टामा कोहलपुर चोकमा पुगियो र म त्यहीँ उत्रिएँ किनकी मलाई सुर्खेत पुग्नु थियो । काठमाण्डौबाट सुर्खेतको रात्रीबस अघिल्लो दुईदिन देखि नै चलेका थिएनन् त्यसैले मलाई डर थियो कतै आज कोहलपुर—सुर्खेत रुटका लोकल बस पनि नगुड्ने त हैनन् भनेर । चोकमा पुगेको-भयो त्यस्तै । बल्लबल्ल एक घण्टापछि एउटा माईक्रो बस त आईपुग्यो तर त्यसले पनि प्रतिब्यक्ति ५०० भाडा दिनेभए मात्रै लाने भन्यो । २५० भाडा लाग्ने रुटमा यसरी मनमर्जी दोब्बर भाडा लिने त्यसमा पनि सुरक्षाकर्मीले स्कर्टिङ गरिदिँदा दिँदै । यो त ’nuff भनेर मैले बिरोध गरेँ । सबैले ‘हो मा हो’ मिलाएपछि त्यो बसले भाडा घटाएन बरु जान्न भन्दै कोहलपुर बसपार्क तिरै फर्कियो ।

एकजना यात्रु मसंग रिसायो पनि, जान्छु भनेको बसलाई २५० को लोभ गरेर भड्काएर फिर्ता पठाउने मान्छे यै हो भनेर । वास्तवमा मैले पनि अराजकता प्रदर्शन गर्दै मनमर्जी गर्ने सार्वजनिक यातायातको प्रवृत्तिको पो बिरोध गरेको थिएँ त । जानु त मलाई पनि थियो सुर्खेत । उसलाई यस्तै भनेर सम्झाएँ तर उसले मानेन ।

अर्को एकघण्टा पछि फेरी त्यही माईक्रो बस आईपुग्यो । अघि मसंग रिसाउने ब्यक्तिको अनुहार केही उजेलो भयो । माईक्रोले पनि अघि भनेको आफ्नो कुरामा लचकता देखाउँदै भाडा घटाएको बतायो तर मेरा निम्ति फरक नपर्ने गरी । अर्थात आधाबाटो छिन्चुसम्मको ४०० तर सुर्खेतको चाँही ५०० नै । म केही उपाय नलागेपछि दिक्क मानेर चढ्न खोज्दै थिएँ, एउटा ठुलो बस सुर्खेत रुट तर्फ आएको देखेँ । मैले अर्को बस आयो झरौँ, त्योसंग म कुरा गर्छु, सस्तोमा लैजान्छ भनेपछि सबैजना माईक्रोबाट झरे । बससंग बबईको २००, छिन्चुको ३०० र सुर्खेतको ४०० मा लैजाने सहमति भयो । तर मैले टिकट चाँही चाहिन्छ भनेपछि फेरी किचलो भयो । बसवालाले कोहलपुर-सुर्खेतको भाडा ४०० रुपिँया लेखेको टिकट कुनै हालतमा दिन तयार भएन । अघि मसंग झगडा गर्ने मान्छेलाई अर्को बहाना मिल्यो । उ मलाई पटकपटक किचकिच गरेर आफु पनि नजाने अरुलाई पनि जान नदिने मान्छे भन्दै आरोपमा उत्रियो । तर यस पटक पनि सबै यात्रुले मेरो साथ दिए र टिकट दिनुपर्ने अडान लिए ।

यस बिचमा २ बजिसकेको थियो । गाडीको निधो नहुन्जेल मेरो अघिल्लो दिनदेखि नै खानाको टुँगो थिएन । भोक लागेपनि यात्रा अनिश्चित भएका कारण मैले भोकलाई मारेर बसेको थिएँ । बल्लतल्ल बस भरियो । शशत्र प्रहरीको भ्यान आईपुग्यो र उनीहरु हामीलाई स्कर्टिङ गरेर सुर्खेत पुर्‍याउन तयार भए तर अब किचकिच गर्ने पालो सायद ड्राईभरको थियो क्यारे—उ स्कर्टिङमा जान तयार भएन । कारण—स्कर्टिङमा जाँदा अर्को दिन उसको गाडीमा ड्यास माओवादीले बम राख्नेछन् । हुन पनि भएको त्यस्तै थियो । चक्काजाममा चलाएको भन्दै केही ठाउँमा रोकेर राखिएका सवारीसाधनहरुमा बम प्रहार र आगजनी गरिएका थिए । हाम्रो यात्रा झन अनिश्चित भयो । त्यत्ति नै बेला कोहलपुर—सुर्खेत रुटको गाभर भन्ने ठाउँमा म्याजिक भ्यानमा बम हानिएको खबर शशत्र प्रहरीको वाकीटकीमा सुनियो । प्रहरीले त्यही कुराका कारण कि स्कर्टिङमा जानुपर्ने नत्र गाडी जानै नदिने बतायो । यता यात्रुहरुको छटपटी चुलिएकै थियो, किनकी सुर्खेत पुगेर मात्रै भएन त्यहाँबाट पनि गाउँ जानेहरुलाई रात पर्नेवाला थियो । फेरी गाडी परिवर्तन गरेर जाने विकल्प पनि थिएन । हिँडेर जान सकिने कुरै भएन ८६ किलोमिटरको दुरी ।

बल्लतल्ल कुरा केमा मिल्यो भने शशस्त्र प्रहरीले गाडी जलेको ठाउँसम्म मात्रै स्कर्टिङ गर्ने त्यसपछि बस बिना स्कर्टिङ सुर्खेत जाने । राज्यको सुरक्षा संयन्त्रमाथि विश्वास नगरेर बसवालाले ५०/६० जना यात्रुलाई जोखिममा त्यत्रो यात्रा गराउँछु भन्दा चुप लाग्ने कुरै भएन तर गाडीवालाको जवाफ थियो—’मेरो गाडीलाई प्रहरी स्कर्टिङमा लैजाने हो भने भोलि घरमै आएर बम् हान्छन्, त्यसको क्षति कस्ले बेहोर्छ? प्रहरीसंग जानेभए उनैको गाडीमा गएर बस्नुस् म जान्न ।’ विकल्पविहीन निरिह नागरिक चुप लागेर बसको सिटमा बस्नुको विकल्प थिएन । गाडी अघि बढ्यो तर धन्न गाडीमा आगजनी भएको रहेनछ, आगो लगाउन मात्रै खोजिएको रहेछ । हामी गाभर पुग्दा मानिसहरुको भिड र बाटोको छेउमा सकुशल पार्किङ गरिराखेको रातो म्याजिक भ्यान खडा थियो । त्यसपछि बिना स्कर्टिङ मुटुमाथि हात राख्दै सुर्खेत पुगियो । भाग्य बलियो भनौँ या संयोग बाटोमा कुनै अवरोध भने थिएन । यसरी काठमाण्डौबाट करिब १२ देखि १४ घण्टाको सुर्खेत यात्रा त्यसको दोब्बर समय लगाएर डर र त्रासमा बाँच्दै पुरा गरियो ।

जोखिमपुर्ण यात्रा पार गरेर मतदान गर्न पुगेपछि मतदान त गर्नुपर्‍यो नै । तर मतदानको अघिल्लो दिन मेरो मतदानस्थल जर्बुटा गाविसको वडा नम्बर ४ मा पर्ने उमावि करैखोलाको भवन छेउ कसैले रातो कपडा भित्र ढुँगा बेरेर बाहिर तार समेत जोडेर राखिदिएछ । त्यसले अर्को त्रास फैलायो । एकैछिनमा सेना आयो त्यसलाई डिस्पोजल गर्नका निम्ति । सेनाले डिस्पोजल गर्नु अघि बमको त्रास न्यून गर्न पनि त्यहाँ उपस्थित सबैले त्यो बम हो कि हैन निर्क्यौल गर्न माग गरेपछि मात्रै बम नरहेको थाहा भयो । उता वीरेन्द्रनगरमा भने त्यो कुरा यसरी फैलिएछ कि मेरो फेसबुक स्टाटस हेरेर घर पुगेको थाहा पाउने साथीहरुले फोन गरेर हैरान गर्न थाले । सबैलाई बम हैन कसैले तर्साउन मात्रै त्यस्तो गरेको हो भन्दा भन्दै हैरानै भईयो ।

भौतिक त्रास भन्दा हल्लाको त्रास डरलाग्दो हुँदो रहेछ, मतदान केन्द्रमा बम राखिएको हल्लाको त्रासका कारण मंगलवार हुने निर्वाचनलाई असर पर्छ भनेर युवाहरुले निकै मेहेनेत गरेर बम नभएको पुष्टि गरेपछि मात्रै मानिसहरुमा विश्वास भयो ।

सोही सकारात्मक कुराको परिणाम हुनसक्छ करिब ४२०० मतदाता रहेको जर्बुटा गाविसमा करिब ३३०० मत खस्यो । अर्थात करिब ७८ प्रतिशत मत खस्यो । सोचेको भन्दा निकै शान्तपुर्वक र सबै दलहरु बिच हार्दिकता र समन्वयमा मतदान सम्पन्न भयो । त्यतिखेर त्यहाँ मतगणनाको परिणाम आउने बेलामा प्रचण्डले भनेजस्तो उनका कुनै पनि कार्यकर्ताले यहाँ धाँधली भयो भनेनन् । बरु अहिलेसम्मकै सबैभन्दा शान्तिपुर्ण र निष्पक्ष निर्वाचन भनेर यसको तारिफमा कुनै कञ्जुस्याँई गरेनन् ।

बास्तवमा भयो पनि त्यस्तै, किनकी निर्वाचन मार्फत ताजा जनादेश दिएर आफ्ना प्रतिनिधिलाई निर्वाचित गराउनु बाहेक नागरिकको अर्को कुनै लोभ थिएन अर्को कुनै ध्येय थिएन । नागरिकले दिनभर लाम लागेर, इमान्दारिताका साथ आफ्नो कर्तव्य पुरा गरे लोकतन्त्रको एउटा महत्वपुर्ण आधार निर्वाचनमा मतदान गरेर । अब उक्त जनादेशलाई स्विकार र सम्मान गर्दै त्यसैका आधारमा नयाँ संविधान बनाउनका लागि नेताहरु पो बरु कत्तिको ईमान्दार हुने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

यो लेख २०७० मंङ्सिर ८ अर्थात Dec. 23, 2013 को अन्नपुर्ण पोष्ट दैनिकको पेज शनिवारिय परिशिष्टाङ्क फूर्सदमा छापिएको हो ।  

चुनाव यात्राका क्रममा लिईएका केही तस्विरहरु :

स्कर्टिङ कुर्दै लामबद्द सवारी साधनहरु

स्कर्टिङ कुर्दै लामबद्द सवारी साधनहरु

 बाँकेको शमशेरगञ्जमा शशस्त्र प्रहरीले प्रयोग गरेको साईरनयुक्त भारतिय नम्बरप्लेटको गाडी ।

बाँकेको शमशेरगञ्जमा शशस्त्र प्रहरीले प्रयोग गरेको साईरनयुक्त भारतिय नम्बरप्लेटको गाडी ।

 नेकपा-माओवादीको चक्काजामका कारण सुनसान कोहलपुर बसपार्क ।

नेकपा-माओवादीको चक्काजामका कारण सुनसान कोहलपुर बसपार्क ।

 सुर्खेतको छिन्चुबजार, जहाँ चक्काजामका कारण सवारी साधन नगुडेपछि सडकमा कुकुरहरुको राज थियो ।

सुर्खेतको छिन्चुबजार, जहाँ चक्काजामका कारण सवारी साधन नगुडेपछि सडकमा कुकुरहरुको राज थियो ।

 सुर्खेतको जर्बुटा गाविस स्थित उमावि करैखोलाको मतदान केन्द्रकबाट मतदान सम्पन्न भैसकेपछि मतपेटिका सदरमुकाम वीरेन्द्रनगर लगिँदै ।

सुर्खेतको जर्बुटा गाविस स्थित उमावि करैखोलाको मतदान केन्द्रकबाट मतदान सम्पन्न भैसकेपछि मतपेटिका सदरमुकाम वीरेन्द्रनगर लगिँदै ।
Posted in Article | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

आँशुका थोपा……


‘कोई त भने जहाजमा हरर

कोई त भने पशिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ

कोईको घरमा डाक्टरको चाकरी

कोई त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ

कोईको भने धनमाथी धनको रास

कोईको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’

बाहिर पानी झमझम् परिराख्याथ्यो, झ्याउँकिरीको झ्याउँझ्याउँ आवाजले कर्कश थपेपनि आमैले ग्यालेन बजाउँदै मलाइ गीत सुनाउँदै थिईन् ।Image

‘ढकढक-ढकढक’

‘ढकढक-ढकढक’

अचानक बाहिर कसैले ढोका ढकढकायो । आमाको गीत झ्याप्पै रोकियो ।

‘ढकढक-ढकढक’

‘ढकढक-ढकढक’

फेरी ढोका ढकढकाएको आवाज आयो ।

को हो?

आमैले सोधिन् ।

म हो म, फणिन्द्र के भाउजु !

बुझ्नै कठीन अनि लर्बरिएको स्वरमा बाहिरबाट आवाज आयो ।

‘अनि यसबेला के भो? कताबाट आउनुभो र ! यस्तो पानी परिराख्याछ खुरुक्क बेलैमा घर जान छोडेर !’-आमैले भित्रैबाट जवाफ फर्काइन ।

‘हेर्नुस न भाउजु । बजारबाट आउँदैथेँ, देविथान डाँडादेखि पानीले धुस्न बनाएर चुट्यो । अनि यसो ओत लागम् भनेर यता छिर्‍या ।’

‘अब के ओत लाग्नुहुन्च यसबेला?  उसैपनि पुरै भिजिसकेँ भन्नुन्च, एकछिनमा त घर पुगिहाल्नुन्च के रे ।’

आमाले फणिन्द्र काकालाइ यति भन्दैगर्दा म भने आमाका काखमा पुषको जाडोमा बिरालो सिरकमा गुटमुटिए झैँ गुटमुटिईसकेको थिएँ । किनकी फणिन्द्र काकासंग मलाइ अति डर लाग्थ्यो।

राताराता आँखा, कालो अनुहार, निला गिँजा अनि निलै ओठ । हरदम रक्सीको नसामा झुलिरहने फणिन्द्र काका ईट्टाभट्टाको चिम्नी जस्तै चुरोट सल्काउँदै बुङ्बुङ्ती धुवाँ उडाउँदै हिँड्थे । मौका पर्‍यो कि हामीजस्ता केटाकेटीका कान निमोठ्ने, कन्सिरीका रौँ तान्दिने र रोएपछि निला गिँजा र नमाझेर खैरा परेका दाँत देखाउँदै अट्टहास हाँस्थे ।

‘हैन के भाउजु, पानीले भिजाएर बेसरी जाडो भो, एकछिन ज्यान तताएर जाम भनेर बोलाको हो, ढोका खोल्नुस न भन्या ।’-फणिन्द्र काकाले कनकन गर्न थाले ।

‘आऽऽऽ हामी आमाछोरा सुत्न लाईसकिम् । भो जानुस खुरुक्क आफ्ना घराँ ।’-आमा च्याँठ्ठिईन् ।

‘कति आमाछोरा मात्रै सुत्नुहुन्छ भन्या भाउजु । दाइसंग पनि सुत्नुस न भनौँ भने दाई ससुराली आएको पाहुना जस्तो दशैतिहार चाडपर्वमा मात्रै आउँछन् । कैलेकाँही बरु हामीसंगैऽऽऽऽऽ’

‘थुईक्क तिम्रा मुखाँ किरा पर्नी । लाजसरम छैन बिजेती? जाँडले मातेर आइमाइ केटाकेटी भाका घराँ रातिराति ढोका हान्दै मुख छाड्दै हिन्चौ? तिम्लाई बाफती ! भाउजु हुम् म तिम्री । बिर्सेउ जाँडका तालमा?’

आमाले रिसको पारो एकैचोटी एकसय पाँच डिग्रीमा पुर्‍याउँदै एकैसासमा भनिन् ।

फर्निचर उद्योगमा हरहिसाब राख्ने काम गर्दै आएको फणिन्द्र नामुद जँड्याहा थियो । हरेक रात उ आएको देविथान डाँडाबाटै थाहा हुन्थ्यो । मध्यरातमा रिस उठेकाहरुलाइ भट्टेसराप दिँदै आउँथ्यो । रातिराति अरुको घरमा पनि ढोका हान्दै हिँड्च अरे, अरुकी छोरी-श्रीमतिहरुको हात तान्न पनि पछि पर्दैन अरे भन्ने कुरा मैले पनि सुन्थाथेँ ।

आमाले हकारेपछि फणिन्द्रे हाम्रो खलामा मुखमा आएजतिको गाली गर्दै कराउन थाल्यो । फणिन्द्रेले सुन्न नसक्ने बोल्न थालेपछि आमाले मेरा दुबैकान थुनिदिईन् । म पनि फणिन्द्रको डाको सुनेर सातो फाल्नुभन्दा यहि ठिक लाग्यो अनि आमाकै जाँघमा घोसेमुन्टो लाएर पल्टिईरहेँ ।

…………………………………………………………………

बिहान अबेरसम्म सुत्ने मेरो बानीका कारण दिनहुँ आमाको गाली खानुपर्थ्यो । चिसो बतासले  जिउमा छुँदैगर्दा फेरी ढोका ढकढकाएको सुनेँ । फणिन्द्रेले फेरी ढोका हान्यो भनेर मेरो सातो गयो । जुरुक्क उठेर आमालाई हेरेँ, झ्यालको कापबाट बिहानको कलिलो घामको उज्यालो मेरो आँखैमा पर्‍यो । बिस्तारै छेउछाउका चिजबिज देखिन थाले ।

ढोका त आमैले पो ढकढक गर्दैरैछिन, त्यो पनि भित्रबाट !

‘के भो आमा?’-मैले सोधेँ ।

‘फणिन्द्रेले ढोका थुनेर मरेछ हाम्लाई । अब कसरी ढोका खोल्नु? त्यैपनि क्वैले सुन्चन कि भनेर घरि ढोका ढकढक्याईछु घरि मान्छे बोलाईछु । क्वैले सुन्दैनन् के रे !’

म एक्कासी क्वाँक्वाँ रुनथालेँ ।

यै ! किन रुन्चस? क्वैले न क्वैले त ढोका खोल्दिहाल्च नि । हामी  के बर्षभरि थुन्निचम् र !

संजोगबस म रोएको अचार्जा ठुलाबाले सुनेछन् । उनी बिहान बिहान गाउँका प्राय सबैका घरमा हालखबर, सन्चोबिसन्चो सोध्दै हिँड्थे ।

‘नाँई के भछ हँ आज यो घरकालाई? बाइरा’ट ताल्चा पड्काछ, भित्र मुन्छे बोल्चन फेरी?

‘भिनाजु, हामी यता भित्र छम् । शत्तुरले थुनेर मर्‍यो । लौन ढोका खोल्दिन पर्‍यो ।’-आमाले अचार्जा ठुलाबासंग नेपथ्यबाटै बार्ता गरिन् ।

‘नाँईऽऽ को साँईदुवा हो हँ त्यो यसरी बालबच्चा, आईमाई केटा’टीलाई ढोका थुनेर मर्नी !’

अचार्जा ठुलाबाले रिसले भुन्भुनिँदै ढुँगाले हानेर ताल्चा फोडे अनि ढोका खोले । आमाले हिजोरातिको घटनाको बेलिबिस्तार लाईन् ।

‘त्यसै छोड्न हुन्न हेर राँईली ! त्यस्ता बाफतीको भर हुन्न । आज ढोका थुन्यो । भोलि जे पनि गर्नसक्च । त्यो दुदेबच्चो र तिमी मात्रै छौ घराँ । क्यै परिहाले बोलाम भन्नपनि छिमेकाँ घरै छैनन् । बोलाको पनि कोले सुन्नी? उता भाइ जागिरे छन्, उनलाई तिमोरु कसरी बस्याछौ थापत्तो क्यै हुन्न । बेलाँ ठेगान नलाए त्यस्ताले दिनदिनै दु:ख दिनसक्चन । कुरा बुझ्यौ?’-अचार्जा ठुलाबाले आमालाई भने ।

‘हुन त हो भिनाजुऽऽऽ तर….’ आमाको आक्रोश एकाएक सेलाएर भयमा बदलियो  ।

‘आज तातो रिसका भरमा कचरी बसालम्ला वा पुलिसलाई खबर गरम्ला तर भोलि बस्नु त यै समाजाँ छ । मन परुन्जेल न मान्छेले मलाई राम्रो भन्नीहुन् । मन नपर्दाका दिन फलानीलाई त फल्नाले यस्तो गर्‍या हो नि भन्दै झन् गाउँभरी ब्वाँईब्वाँई बदख्वाँई गर्दै हिन्चन । त्यसमाथि मलाई बेजेत गरि भनेर त्यो बौलाहाले पनि जेपनि गर्न सक्च । बाबु स्यानो छ । भो भिनाजु दु:ख बेसाउँदिन म।’-आमाले यति भनेर आँखाबाट तप्प आँशु झारिन् ।

आमाले भनेका यतिका भारी शब्द नबुझेपनि आमाका आँखाबाट आँशु झरेको देखेर मेरो मन पनि थामिएन । म पनि रोएँ तर आमा जस्तै मौन हुन जानिन अनि चिच्याउँदै रोएँ ।

……………………………………………………………………………

एक्ली महिला आफ्नो जवान उमेरमा काखमा बच्चा चेपेर घर गरिखान निकै गाह्रो थियो आमालाई । फणिन्द्रजस्ता गिद्देदृष्टि भएका यौनपिपाशुहरु गाउँघरमा बिभिन्न नातापाताको खोल ओढेर भौँतारिइरहेका हुँदा रहेछन् । ती कहिले दाजुभाई भएर आउँछन् कहिले देवर जेठाजुभएर आउँछन् । मैलेपनि यस्ता थुप्रै कथित नातेदारहरु देखेँ । तर नाता परिवार समाज अनि स्वयं आफ्ना पतिको बिश्वास नगुमाउन अपमान पीडा खपेर बसिन आमा । आमाका यीनै कुराहरुको चस्मदित गवाह बनेर बाल्यकाल ब्यतित गर्दै किशोर अनि यौवनावस्थामा प्रवेश गरेँ म ।

समय फेरिईसकेको थियो, देशमा प्रजातन्त्र आइसकेको थियो, आमाको काखमा म मात्र एक्लो थिइन मेरो भाइले पनि हैकम जमाइसकेको थियो अनि बाको सरुवा पनि  घरपायक नभएपनि कम्तिमा जिल्लामा भइसकेको थियो तर एउटै कुरा फेरीएको थिएन-‘म मेरी आमा र भाईको जर्किन बजाएर साँझसाँझमा गीत गाउने अनि पालैपालो नाच्ने रमाइलो गर्ने आदत् ।’

म नाचेर सक्दैथिएँ । अब नाच्ने पालो भाइको थियो ।

गीत उनै गरिबि अभाव र पीडाकै थियो-

झरनाको चिस्सो पानीऽऽऽऽऽ

सुकेर जाँदैनऽऽऽऽऽ रोकेर रोकिँदैनऽऽऽ

बारी खेप्ने खेतालाको यै हो जिन्दगानी
झरनाको चिस्सो पानीऽऽऽऽऽ

‘भाउजु !’

हाम्रो गीत रोकियो ।

बाहिर बसन्त अँकल आएका रहेछन् ।

‘ओहोऽऽऽ बाबुहरु पनि घरमै रैछन त ! ठुल्बाबुको त आईए फस्ट ईयरको जाँच आउन लाग्यो अनि बजारतिरै डेरा लिएर ट्युशन पढ्न लाग्या भन्या हैन र ?’

‘हो क्यारे अँकल हुन त । तर कैलेकाँही घर आउन मन लागिहाल्छ नि ! ‘

बसन्त अँकल टुसुक्क पेटीमा बसे ।
आमाले पिर्का दिईन ।

अघिपछि मसंग राजनितिक बहस गर्न रुचाउने, देशविदेशका खबरको जानकारी र टिप्पणी लिन रुचाउने बसन्त अँकल आज अलि फरक जस्तै देखिएका थिए ।

‘के भो बसन्त बाबु? सन्चो भएन कि? अथवा अरु केही तनाव भो कि? आज अलि अर्कै देखिनुभाछ त !’-आमाले सोधिन् ।

बसन्त अँकल केही बोलेनन् ।

केहीबेरको मौनता चिर्दै बोले-‘एक अम्खोरा पानी दिनुस् न भाउजु, साह्रै खरो भो ।’

आमाले पानी दिईन् । उनले पानी पिए क्वाँकक्वाँकक्वाँक घाँटी बजाउँदै ।

एकछिनपछि लामो स्वास फेर्दै बसन्त अँकल घरतिर लागे । भाई निन्द्रा लाग्यो भन्दै सुत्न गयो ।

‘आमा म एकछिन क्लबको अपिसमा पुगेर आउँचु है !’-मैले भनेँ ।

‘यस्बेला केको क्लब स्लब होला फेरी ! खुरुक्क सुत् । दिनकाल राम्रा छैनन् । गाउँमा रातिराति माउवादी आउँचन अरे । धेरैबेर बसेर हल्लाखल्ला गर्न ठिक छैन अब ।’-आमा भुन्भुनाउँदै थिईन म निस्किहालेँ ।

एकछिन क्लबमा बस्दैगर्दा जिल्लामा हुन लागेको महिला हिँसा सम्बन्धी गीत प्रतियोगिताका निम्ति मैले लेखेको गीतमा साथीहरुले लय र संगीत भर्ने काम हुँदैथियो । अचानक कोही चिच्याएको स्वर सुनियो । क्लबमा भएका हामी सबै बाहिर निस्कियौँ । आवाज मेरै घरतिरबाट आएको थियो ।

म दौडेर घरमा पुगेँ । भाइले बसन्त अँकलको कठाँल्नो समातेर थप्पड लगाउँदै थियो । बसन्तकी श्रीमति गुहार माग्दै थिईन् । आमा बडो भयभित मुद्रामा आँखाबाट बलिन्द्र आँशु चुहाउँदैथिइन । करिब २५-३० जनाको जमातले मेरो घरको खलो भरिएको थियो ।

मैले एकछिन केही मेसै पाउन सकिन कि यहाँ के भैरहेछ भनेर ।

भिडबाट कुनचाँहीले भनेको आवाज मेरो कानमा गुञ्जियो-यो उमेरमा यसरी आमा समान भाउजुलाई कुदृष्टि लाउने? धन्न कान्छो छोरो संगै रहेछ र अनिष्ट हुन पाएन ।  कतिसम्मको पातकी होला यो मान्छे?

बश् पुग्यो मलाई ! मैले ब्रमाण्डका सारा ग्रह-उपग्रह, तारापुञ्ज, नक्षत्र सबै आफ्नै आँखा अगाडि नाचिरहेको देखेँ । सुर्यको दशौँ हज्जार डिग्रीको तातोले पोलेको अनुभुति भो जिउमा । धरहराजस्ता सातवटा स्तम्भबाट खसेको जस्तो शिथिल अनि थनथिलो भो ज्यान । अचानक बिद्युतिय उपकरणजस्तो स्वचालित हुँदै मेरो हात कतिखेर उठेर बसन्तको नाक्चोमा बजारिन पुगेछ पत्तो पाईन मैले । मेरो हातले उसको नाकबाट रगतका मुस्लाहरु निकाल्न नपाउँदै उ भाईको पञ्जाबाट फूत्केर कुलेलम ठोकेछ ।

पटकपटक यस्ता सानातिना झमेलाबाट त्रस्त तथा ग्रसित र आजित भएको मेरो मानसिकतामा यो घटनाले आक्रोशको ज्वारभाटा पैदा गरिदियो । मैले मर्नु या मार्नुको बिकल्प देखिन त्यस क्षणमा । बहुलाएको शिँहजस्तो भएका हामी दुईभाईलाइ कसोकसो मानिसहरुले थुनेर राखे । उता बसन्ते भने भागेर गाउँ छोड्यो ।

कुरा एक्कान दोक्कान मैदान हुन कतिबेर लाग्छ र गाउँघरमा ! मानिसहरु मेरी आमालाई ‘चरित्रहीन’को आरोपदेखि बलात्कृत महिलाको रुपमा ‘बिचरा पात्र’को  रुपमा सहानुभूति प्रकट गर्नेसम्मका गफ गर्न भ्याए । चियाचौतारो देखि पानीपँधेरोसम्म मेरो आमामाथि हुनखोजेको तर परिस्थितिले टारिदिएको बिषम घटना ‘हटकेक’ बिषय बन्यो कुराकानीका निम्ति । केहीले आमालाई माओवादीको जनअदालतमा मुद्दा हाल्न उकासे भने केहीले मलाई नै भुमिगत भएर बदला लिन उकासे अनि माओवादीका केही क्षेत्रिय स्तरका नेताहरुसम्म पुर्‍याए पनि ।

शरिरमा त आमालाई नङले कोतरेको दागसम्म थिएन । हुन पनि करेसामा लुकेर बसेको बसन्तेको पञ्जाबाट भाईले उनलाई सकुसलै उद्दार गरेको थियो । तर उनको मनमा लागेको चोटको पीडा उनकै गर्भमा नौ महिना उफ्रेर या उनकै दुधका लाम्टा चुसेर हुर्केका चिम्टाका दुई कप्टेराजस्ता हामी दाजुभाईले त बुझ्न सकेका थिएनौ गहिरिएर भने अरुले कसरी बुझ्थे र !

आगोले पोलेको घाउको उपचार के करेन्ट हुन सक्छ र ! कोही कुरा काटेर हामीलाई अपमान गर्न खोज्ने त कोही सुझाव दिएर साख्खिलो बन्न खोज्ने । सबैका सबैखाले कुरा सुन्दासुन्दा मेरा कानबाट पीप निस्किन मात्रै बाँकी थियो । यस्तैमा एकदिन मसंग बाले एक्लै कुरा गर्ने ईच्छा राखे । यतिका दिनसम्म बदलाको ज्वारभाटाले उमालिरहेको मेरो मनमस्तिस्कले बाको कुरा सुन्ने फूर्सदै कहाँ पाएको थियो र !

बाको कुरा सुन्दै गर्दा अचानक मेरा हातखुट्टा लुलिए । म थुचुक्क भुईँमा बसेँ । आजसम्म मैले ‘छोई नबिराउने’ भगवान् मानेको मेरो बाको मुखबाट यो परिस्थितिमा त्यस्तो कुराको अपेक्षा गरेको थिईन मैले । गाउँघरका मानिसहरुको कुरा सुनेर हो या आफ्नै मनमा उब्जेको शँकाकै कारणले हो बाले भने-‘यदि तिमीहरुलाई आफ्नी आमा साँच्ची चोखि छैनन् भन्ने लागेको छ भने मलाई कुरा नलुकाई भन है ! म उसलाई ससम्मान आधासम्पति दिएर बिदाई गर्छु ।’

बास्तवमा बाले पनि समाजकै लोकलाजका सामु आत्मसमर्पण गरेका रहेछन् तर म मेरी आमालाई न्याय नदिलाई नछोड्ने अटोठमा थिएँ । मेरो अठोट र आक्रोशमा कतिले मलजल हाले भने कतिले रिस खा आफू, बुद्दी खा अरु भनेर सँयमित हुन पनि आग्रह गरे । तर केहीले मेरो आक्रोशले काम बिगार्ने भन्दै बालाई भनेपछि अन्तत: आमालाई गाली बेईज्यतिमा मुद्दा दायर गर्न बा लगायतका अगुवाहरुले मनाएर उजुरी दिन गए ।

…………………………………………………………………………

बेलुकीपख घाँम डाँडामाथि अस्ताउने तर्खर गर्दैथियो । बाँसघारीमा डाँङ्ग्रेहरु खुब झर्को लाग्नेगरी कराउँदै थिए । म घरको बार्दलीमा बसेर खै के गर्दैथिएँ कुन्नी । खलामा बा-आमाका साथमा एकहुल मानिसहरु आए । म बार्दलीबाट ओर्लेर तल गएँ अनि उजुरी दिएको ’boutमा सोधेँ । आमाले आफ्नो झोलाबाट एउटा पट्याएर राखिएको पातलो पहाडी कागत झिकेर मलाई दिईन् । त्यसमा लेखिएको लामो कानुनी भाषा झर्को मानिमानी पढ्दैजाँदा एकठाउँमा पुगेर मेरो स्वास झण्डै रोकिएला झैँ भयो । त्यहाँ लेखिएको थियो……….. आगे सोही गाविस सोही गाँउटोल निवासी बर्ष ४३ को बसन्तले जबरजस्ती करणी गरेको………………’ म एक्कासी चिच्याएँ ।

‘यो के लेखाको?’

‘खै तेरा बा, जेठाबा र अरु सप्पैले यस्तो लेखेपछि कडा सजाय हुन्छ, उ उम्किन नपाउने गरी जेल जान्च भने के रे अनि मैले मन नलागि नलागि सहि गर्दिएँ ।’

आमाले यति भन्दाभन्दै मैले त्यो कागत धर्‍यातधुरुत च्यातिदिएँ ।
‘हुँदै नभएको कुराले मान्छेलाई कत्रो पिरलो छ तपाँईहरु यसलाई मजाक ठान्नुन्च? जे भएको हो त्यो लेखाएर मुद्दा दर्ता गर्न सकिन्थेन?’

मेरो प्रश्नको जवाफ कसैले दिएन । मेरो आमाको काँधमा बन्दुक राखेर बसन्तेसंगका अरु राजनितिक प्रतिशोध पुरा गर्न खोज्नेहरुले सायद मौका यहि हो भनेर मेरा बाआमालाई फकाएर नभएको झुठा ब्यहोरा लेखाई दुर्ब्यवहारको सट्टा करणी नै उल्लेख गरिदिए मुद्दाको खोस्टोमा । उनीहरुले पीडामाथी पीडा थोपर्दै आत्मसम्मान नै नरहने गरी कागजी रुपमा बलात्कृत बनाइदिए मेरी आमालाई ।

मलाई झन् असह्य भो तर के गर्नु ? मैले अरु बिकल्पहरु पहिल्याउनै सकिरहेको थिईन त्यस बखत् ।

दिनहरु बित्दै गए । घटनाहरुमाथि खेल्ने खेलाडीहरुले बाआमासंग कहिले एकल कहिले सामुहिक वार्ता गरिरहे दिनानुदिन त कहिले एकैदिनमा तीनचार पटक । अन्तत: मिलापत्रमा कुरो टुँग्याउने सहमति भो । आमालाई लुरुलुरु अघि लगाएर एक जमात अदालतमा पुगेर मुद्दा फिर्ता गराएर आयो । घरमा कचहरी
Imageबस्यो । बसन्तेले ‘मदिराको नसामा थाहा नपाएर त्यस्तो गरेको’ भनेर माफी माग्यो । आमा मौन नै थिईन । भेलाले कुरा मिलेको निश्कर्ष निकाल्यो ।  मान्छेहरुले कुनै राजनितिक पार्टीको चुनाबी घोषणा सभामा झैँ पररर ताली बजाएर भेलाको निश्कर्षलाई अनुमोदन गरे र बसन्तेले भेलामा जम्मा भएका सबैलाई च्या-खाजा खुवायो ।

आमाले भिडको कुनाबाट आँखाका डिलमा डम्मै भरिएका आँशुका थोपा बर्ररररर भुँईमा खसालिन ।

बश् मैले लामो सास फेर्न बाहेक अर्थोक केही गर्न सकिन ।

Posted in कथा | Tagged , , | 2 टिप्पणीहरु

गजल


छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु ।
राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥

ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले,
असल नभइ ठुलो बन्दा, भोगी भएछु ।

काम-क्रोध लोभ-मोह, त्याग्न सके महान्,
दिखावामा विश्वास गर्दा, ढोँगी भएछु ।

सार हेर्नु रुप हैन भन्दै अर्ति दिएपनि,
बन्न खोज्या ‘माछा’ थियो, घोँगी भएछु ।

छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु ।
राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥

२०७० श्रावण २१ सोमबार 

Posted in Uncategorized | 4 टिप्पणीहरु

बर्षदिनको जोहो…..


भनिन्छ जीवन एउटा यात्रा हो । यो जीवनरुपी यात्राका क्रममा यात्रारत प्राणीले कैयौँ जीवनहरु देख्न पाउँछ । ती सबै यात्राका क्रममा देखिएका जीवनहरुलाइ कुनै न कुनै रुपमा समेट्न या रेकर्डमा राख्न सक्ने हो भने  शब्दका रुपमा साहित्यक कृति, चित्रमा उतार्दा सिनेमा या बृत्तचित्र या फोटोकथाको रुप लिन्छ पक्कैपनि ।

यसपटक अर्थात साउनको पहिलो हप्ता मेरो अर्को यात्राथलोको रुपमा बर्दियाको ठाकुरद्वारा गन्तव्य हुनपुग्यो । मौसमका हिसावले यात्राथलोको उपयुक्त गन्तव्य नभएपनि कामले गर्दा यहाँ टेकेको केही समयमै जीवनको एउटा पाटो देख्न पुगियो ।

पुर्वपश्चिम राजमार्गदेखि करिब १३/१४ किलोमिटर भित्र पर्ने ठाकुरद्वारा विश्वमै दुर्लभ मानिने पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जको हेडक्वार्टर रहेको र पर्यटकिय दृष्टिले उपयुक्त गन्तव्य भनिएपनि सुखसुविधाका हिसावले भन्दा धेरै नै पछाडि छ ।

राष्ट्रिय निकुञ्जसंग जोडिएको यस ठाउँका बासिन्दाले निकुञ्जले भन्ने गरेको मध्यवर्ति क्षेत्रले प्राप्त गर्न सुविधाहरु कति पायो या पाएन त्यो समिक्षाकै बिषय भएपनि इन्धनको मुख्य श्रोत दाउरा संकलनमा भने निकै झमेला भोग्नुपर्ने यहाँका बासिन्दाहरु बताउँछन् । त्यसैले दाउराको मुख्य श्रोतमा उनीहरु कर्नालीको एउटा भँगालोले बर्खायाममा बगाएर ल्याउने सुकेका रुख या ढलेका रुखहरुलाइ उर्लँदो भेलमा ज्यानको पर्वाह नगरी बल्छी थापेर किनारमा तार्दै जम्मा गरेर बर्षभरीका लागि प्रयोग गर्छन् । बर्खामा रोपाँइ पछिको अर्को मुख्य काम उनीहरुका लागि नदीले बगाएका मुडा र दाउरा जम्मा गर्नु नै रहन्छ ।

ठाकुरद्वाराको शिवपुर गाउँका नारायण चौधरी यही कर्नालीको भँगालोमा पौडिँदै ढलेका रुखका मुढा जम्मा गर्दैगर्दा भेटिए । हामीले हेर्दैगर्दा करिब एकघण्टाको समयमा उनले एक डल्लब (गाडा) दाउरा जम्मा गरे । परिवारका अन्य सदस्यहरु बुवा तथा दुइ जना दाजुहरु र केही अरु छिमेकीहरुसंग मिले नारायणले दाउरा जम्मा गर्दैगर्दा खिचिएका तस्विरहरु उनको जीवनशैलीको फोटोकथाका रुपमा यहाँ राखेको छु । मन परेमा हेर्न सक्नुहुन्छ ।

2 3 4 5 6 7 8 9 10 11IMG_4170IMG_4175 IMG_4176IMG_4187 IMG_4188 IMG_4189 IMG_4190IMG_4193IMG_4197 IMG_4199 IMG_4200 IMG_4201IMG_4204IMG_4214

Posted in Photo Story | टिप्पणी छोड्नुहोस्

सोसल मिडिया: प्रयोग र प्रवृत्ति


केही साता अघि पत्रकार एवं लेखक लेनिन बञ्जाडेले ट्विटरमा एउटा ट्विट गरे । नेपालका एक प्रतिष्ठित ब्यापारीको नाम बहुचर्चित पत्रिका फोर्ब्सले निकाल्ने अरबपतिहरुको लिष्टमा चढेको खबरले बजार तताएको समयमा गरिएको लेनिनको उक्त ट्विट थियो – ‘नेपालमा एउटा होइन, हजारौं ‘अरब’पति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओच्छ्यानमा सुत्छन् ।’ लेनिनको यो ट्विटलाइ १६० जनाले (यो लेख लेख्दासम्म) रिट्विट मात्रै गरेनन ३७ जनाले फेवरेट गरे भने ५ मार्च २०१३ का दिन गरिएको यो ट्विटको सवालले त्यतिखेर ट्विटरको टाइमलाइन नै ततायो अर्थात दिनभरको बहसको बिषय भयो ।

यस अघि २२ जनवरी २०१३ का दिन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको एउटा ट्विट थियो-‘Friends, we have just managed to reduce load-shedding by 2 hrs, from today. I promise, it won’t exceed 10-12 hrs this winter.’ लोडसेडिङको चरम मारमा परेका नागरिकले प्रधानमन्त्रीको यस्तो ट्विट भेटेपछि रिट्विट नगर्ने कुरै थिएन, तुरुन्तै २२५ रिट्विट र १०६ फेवरेट (यो लेख लेख्दासम्म) भइहाल्यो । प्रधानमन्त्रीको यो ट्विटका पक्ष र बिपक्षमा पनि थुप्रै कृया प्रतिकृयाहरु आए । प्रधानमन्त्रीको यो ट्विटको प्रतिकृयामा पत्रकार कृष्ण भट्टराईले ‘तपाईंबाट हामीले धेरै आशा राखेका थियौं, छौं र राखिरहने छौं, देशमा केही गरेर देखाउने अवसरलाई सदुपयोग गर्नुहुनेछ भन्ने आशा छ ।’ भनेर लेखे भने भकुंडेले लेखे- ‘पैल्यै दुई घण्टा बडाएर पछी घटाको जस्तो गरेका, हाम्लाई खाल्डाँ हालेका प्रमले, कम्ताका चतुरे छन ईनी !’

दुइसाता अघि ट्विटरमा अनन्त कोइरालाले लगातार दुइदिनसम्म एउटा बहसमा ब्यस्त ट्विटरको टाइमलाइनलाइ अर्कैतिर मोडिदिए । एकदिन ‘एक जमाना थियो‘ भनेर अर्को चाँही ‘वाह मोमो’ । यी दुइदिन अनन्तले सुरु गरेका यी दुइ कुरामै ट्विटरमा धेरै मानिसहरु अल्झेको देखियो ।

माथिका यी तीन घटनाहरु त यो आर्टिकलको लेखकले देखेका केही प्रतिनिधिमूलक घटनाहरु मात्रै हुन । सोसल मिडियाको बढ्दो प्रभावसंगै यसले मानिसको आनीबानी र बिषयबस्तु प्रतिको रुचीमा पनि फेरबदल ल्याइदिएको छ । हिजो चिया पसल र पत्रिका पसलमा बसेर घण्टौ गफिन रुचाउने युवा जमात यतिबेला फेसबुक र ट्विटर जस्ता सामाजिक संजालमा घण्टा बितेको पत्तै पाउँदैन । सामाजिक संजाल आफ्ना अभिब्यक्तिहरु अरुमाझ लैजाने थलो मात्रै बनेको छैन अरुका धारणाहरु बुझेर त्यसमा थप प्रतिकृया र सहमति असहमति प्रकट गर्ने माध्यम पनि बनेको छ । साथै आफुले गर्न लागेको काम प्रति अरुको साथ र समर्थन जुटाउन र सामुहिक अभियानहरुलाइ सफल बनाउन पनि यसको प्रयोग बढिरहेको छ । तर बिषयबस्तुको सहि ढंगले चयन गर्न नजान्दा र सामाजिक संजालमा आफ्नो रुची र क्षेत्रसंग नमिल्ने मानिसहरुलाइ साथी बनाउँदा कहिलेकाँही नचाहिने बिषय र झमेलाले गाँजेर आफूलाइ थप तनाव पनि हुनसक्छ । फेसबुक र ट्विटर दुबै चलाउने किरण अधिकारी भन्छिन,-‘सामाजिक संजालमा आफ्नो रुचीसंग मेल खाने साथीहरु परेनन भने अरुका अनाबश्यक ट्याग, अनावश्यक ट्विट र स्टाटसले तनावै बनाउने रहेछ ।’ उनी थप्छिन,-‘केही साता यता कहिले मलेसियामा भएको झडपका नाममा त कहिले मरिसकेका ब्यक्तिलाइ सम्झिने नाममा मसंग नेटवर्कमा भएका ब्यक्तिहरुले फेसबुकमा राखेका फोटो र स्टाटसले दिक्कै पारिरहेको छ मलाइ ।’

पछिल्ला दिनहरुमा सामाजिक संजालमा अरुलाइ बदनाम् गर्नेगरी र हिँसाका तस्विरहरु राखेर सक्दो शेयर गरौँ भनेर आइरहेका तस्विरले पनि मानिसलाइ दिक्दार बनाइरहेको छ । गतहप्ता मात्रै फेसबुकमा नेपाली काँग्रेसका युवा नेता गगन थापासंग जोडेर ‘खसीको मासुको सातसय रुपिँया लिने‘ भनेर तथानाम गाली गरेको स्टाटस देखिएको थियो ।Image

सोसल मिडियाका जानकार पत्रकार उज्वल आचार्य सोसल मिडियामा सबैभन्दा धेरै राजनितिका कुराहरु हुने बताउँछन् । राजनिति जुन बाटोमा गइरहेको छ त्यसैको परिणामस्वरुप ब्यक्तिका कुण्ठा र दिक्दारीहरु आफ्ना ट्विट, ब्लग तथा स्टाटसमा झल्किने उज्वल आचार्यको भनाइ छ । उनी भन्छन्-‘ सोसल मिडियामा अन्तरकृयात्मक छलफलका लागि नयाँ बहस भन्दा पनि बजारमा आएका अरु समसामयिक बिषयमा प्रतिकृयात्मक टिप्पणी बढी हुन्छ भन्दा फरक नपर्ला ।’

त्यस्तै अर्का पत्रकार लेनिन बञ्जाडे भन्छन्-‘ हामीकहाँ सोसल मिडियामा हुने बहसलाइ नम्बरिङ गर्ने हो भने एक नम्बरमा राजनीति, दुइ नम्बरमा समसामयिक विषयवस्तु, तीन नम्बरमा खेलकुद र चार नम्बरमा साहित्यका कुराहरु पर्छन होला।’

कहिलेकाँही सेलाएजस्ता या कतिपय आफ्ना गन्थनमन्थनमै अल्झिएका सोसल मिडियाका प्रयोगकर्ता बिच अधिकाँश मुलधारका मिडियामा आएका समाचार, लेख या अरु सामग्रीहरु बिषयका रुपमा देखा पर्छन र प्रयोगकर्ताहरु त्यतै अल्झिएको जस्तो पनि देखिन्छ । जुन कुराको उदाहरणका रुपमा हामी अभिनेत्री निशा अधिकारीको सगरमाथा चढ्ने प्रकरणलाइ पनि लिन सक्छौँ । निशा सगरमाथा चढ्ने र उनीलाइ सगरमाथा चढाउन बिभिन्न बित्तिय संस्थाहरुले सहयोग समेत गरेको समाचार मिडियामा आएपछि ‘कर्पोरेट रेस्पोन्सिबिलिटी’को चर्चा गर्ने ब्यावसायीहरु प्रति लक्षित गर्दै धेरै प्रतिकृयात्मक ब्लग, ट्विट तथा स्टाटसहरु लेखिएका थिए । साथै कतिपय अवस्थामा समाजमा भएका अरु घटनाक्रम प्रतिका चोटिला टिप्पणी र प्रतिकृया पनि हामीले सोसल मिडियामा देख्न सक्छौँ । यसको उदाहरणका रुपमा प्रचण्ड पुत्र प्रकाश दाहालको बिहे प्रकरण र अकुपाइ बालुवाटार अभियानका क्रममा शिवानीसिँह थारुले ४ जनवरी २०१३ का दिनमा लेखेको बलात्कारीहरुको लिङ्ग काट्ने महिलाको स्क्वाड बनाउन पाए… भन्ने ट्विटलाइ पनि लिन सक्छौँ ।

कहिलेकाँही प्रयोगकर्ताहरुले मनोरञ्जनका लागि थालेका बहसहरुले पनि निकै चर्चा पाउने गर्छन् । माथि उल्लेख गरिएको अनन्त कोइरालाले थालेको ‘वाह मोमो’ र ‘एक जमाना थियो‘ भन्ने बहस त्यस्तै थियो । ह्यासट्याग(#) राखेर ट्विटरमा अनन्तले सुरु गरेको बहस निकै चर्चित बन्यो । यस बिषयमा अनन्त भन्छन्-‘ ह्यासट्याग राखेर बहस गर्नु खासमा ट्रेण्डिङ्कै लागि हो जुन प्राय: एउटै टपिक/शब्दमा बढी ट्वीट भएपछि त्यो शब्द ट्रेण्ड हुन्छ, तर यो विशेषगरी अंग्रेजी शब्दहरूमा हुने हुँदा हाम्रो लागि उपयुक्त नहुन सक्छन् । त्यस्तो बेला हाम्रो आफ्नै मौलिक ट्रेण्ड बनाउँ भनेर ट्वीट गर्ने हो, तर हामीचाहि विशुद्ध रमाइलोका लागि र एउटै बिषयमा सबैको अनुभव बाँड्न त्यस्तो गर्छौं ।’

सामाजिक संजालको महत्व भनेकै बिचारहरुको विविधता हो तर सामाजिक संजालमै कहिलेकाँही बिचारहरुको विविधतालाइ स्विकार्न या अरुको अस्तित्वलाइ स्विकार्न नसकेका कारण मानिसहरुको झगडा पर्ने र झगडा कै कारण अनफलो, ब्लक या अनफ्रेण्ड गर्ने चलन पनि छ । तर अधिकांश अवस्थामा सामाजिक संजालमै समेत ‘बिचारको सिण्डिकेट’ छ भनेर यसका प्रयोगकर्ताहरु पनि गुनासो गरिरहेका हुन्छन् । तर बहस एकातिर मोड्नका लागि या ‘बिचारको सिण्डिकेट’ स्थापित गर्न पनि त्यति सजिलो भने छैन । यसका लागि या त धेरै भन्दा धेरै फलोअर भएको हुनुपर्‍यो या त अरुको पुरै ध्यान आफूतिर खिच्नसक्ने अभिब्यक्ति राख्न सक्नुपर्‍यो । कतिपय ब्यक्तिले यसकै लागि समेत आफ्नो एकाउण्टको नाम अरु भन्दा अलि फरक पहिचान सहितको र भाषा पनि सकेसम्म अरुको भन्दा फरक बनाउने गरेको पनि देखिन्छ । खासगरी ट्विटरमा यो चलन बढी देखिन्छ । उदाहरणका रुपमा हामी काकाबाभकुँण्डेभँगेरोमाइला साहुपुजारीपागलबस्तीमान्ठा, लगायतलाइ लिनसक्छौँ ।

ट्विटरमा धेरै फलोअर भएका नेपालीहरुका ’boutमा केही समय अघि नेपालीटाइम्स साप्ताहिकले ट्विटरका टप टेन नेपालीहरु भनेर एउटा सूची समेत निकालेको थियो भलै उक्त सूचीमा धेरैले असहमति समेत प्रकट गरेका थिए । उक्त साप्ताहिकले निकालेको सूची अनुसार एक नम्बरमा न्यूयोर्कमा बस्ने नेपाली मूलका फेसन डिजाइनर प्रवल गुरुङ थिए भने पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई सूचीको तेश्रो नम्बरमा थिए ।

बाबुराम भट्टराईको प्रवेशसंगै ट्विटरमा राजनितिज्ञहरुको प्रवेश पनि बढेको देखिन्छ । पछिल्लो समयमा निलाम्बर आचार्यदेवेन्द्रराज पाण्डेकमल थापारविन्द्र अधिकारी लगायतका राजनितिज्ञ र नागरिक समाजका प्रतिनिधिहरु ट्विटरमा सक्रिय देखिन्छन । यसअघि गगन थापासरिता गिरिहरुमात्र ट्विटरमा सक्रिय थिए । राजनितिज्ञहरुको ट्विटर प्रवेशपछि राजनिति फोहोरी खेल भनेर टिप्पणी गर्नेहरुले पनि यी राजनितिज्ञहरुसंग अन्तरकृया गरिरहेको देखिन्छ ।
सामाजिक संजाल आफ्नो रुची अनुसार नै प्रयोग गर्ने हो । तर प्रयोगका नाममा अरुमाथि अनावश्यक बिषय थोपर्ने या आफ्ना कुराहरु मात्रै लाद्दा पनि संजालमा आवद्द आफ्ना मित्रहरुमाझ अलोकप्रिय भइन सक्छ । तसर्थ प्रयोगकर्ताले सोसलमिडियाको महत्व बुझ्दै आफ्नो मौलिक पहिचान बनाएर अरुका कुरा सुन्ने, आफ्ना कुरा भन्ने र स्वस्थ बहस गर्ने माध्यमका रुपमा यसलाइ उभ्याउन सके मूलधारका मिडियाले ल्याउन नसकेका तथ्य र सुचनाहरु ल्याउने श्रोत र बैकल्पिक मिडिया बन्न सक्छ सोसल मिडिया । 

Posted in Article, Article | Tagged , , | १ टिप्पणी

साझाको पहिलो यात्रा………..


पछिल्ला दिनहरुमा मैले साझा बस साझा बस भनेको खुब सुन्ने मौका पाएँ । साझा बसले नै नेपालको सम्पुर्ण यातायात ब्यवस्था धानेझैँ गरी होहल्ला मच्चियो पछिल्ला दिनहरुमामा यो राजधानी शहरका सबै मिडियाहरुमा । हुन त काठकाण्डौमा बस्नेहरुलाइ नेपालमा काठमाण्डौ बाहेक अन्त पनि ठाउँ छन भन्ने त्यत्ति हेक्का हुँदोरहेनछ र हो कि? तै, जे भएपनि यो साझाबस भन्ने चिज कस्तो रहेछ, कैले चढ्न पाइएला भन्ने कौतुहल मनमा रहिरह्यो भलै दशैँका बेलामा घर जाँदा वाक्दै जानुपर्दा र त्यही हालतमा काठमाण्डु फिर्नुपर्दा गाडी देख्यो कि कोपरिहालुँ झैँ लाग्छ, त्यो कुरा आफ्नै ठाउँमा रहोस् ।

Imageसाझा चढ्ने रहरलाइ बाँध्न नसकेर यो सेवा पुन: सुचारु भएको पहिलो दिन (उद्घाटन चैत्र ३१ मा भएपनि) बैसाख एक गते म र संचारकर्मी साथी गणेश आचार्यलाइ फोन गरेर ‘साझा चढ्न जाउँ’ भनेँ । उनी पनि फुर्सदमै रहेछन क्यारे ! मेरो प्रस्ताव सहर्ष स्विकारे । हामीहरु बानेश्वरबाट सिनामंगलसम्म जाने बिचार गरेर साझा बसमा चढ्यौँ ।

Imageनाम जस्तो उस्तै चमकदमक थियो साझाको । नयाँ बस, भर्खरै प्लास्टिक उप्काएका चिल्ला सिटहरु । भर्खरै प्रेममा परेका ठिटाठिटी झैँ मुस्कुराइ रहेका यात्रुहरु (सायद सबैले रुट परेर नभइ ट्राइ मार्न चढेकोले होला एक अर्कामा मुखामुख गर्दै हाँसिरहेका देखिन्थे) । भित्र छिरेर सिटमा ‘तसरिव’ टेकाउन नपाउँदै साझाकी परिचालक महिलाले १५ रुपियाँको टिकट ल्याएर हातमा थमाइदिइन् । मैले मसंग त बिद्यार्थी परिचय पत्र छ भनेँ तर उनले ‘टिकट काटिसकेँ मैले, कि पहिल्यै भन्नुपर्थ्यो’ भनिन् । मैले चुप लागेर २ जनाको तीस रुपियाँ उनलाइ दिएँ । बस मीनभवन पुग्दैगर्दा बाहिर यात्रुले हात तेर्स्याउँदै थिए तर चालकले गाडी रोकेनन् । पछि सोध्दा भन्दैथिए त्यहाँ साझाको यात्रु स्टप हैन रे ।

IMG_0319बस तीनकुनेमा पुगेर रोकियो । परिचालकले चालकलाइ ‘दाइ दाइ ढोका खोल्नुस न’ भन्दैगर्दा बस गुडिहाल्यो र चालकले जवाफ फर्काए-“गुडेको बसको ढोका खोल्छ कसैले?”

तीनकुनेबाट गैह्रीगाउँ पुग्दैगर्दा फेरी केही मानिस गाडीबाट ओर्लन खोजे तर लामो बसमा चालक र परिचालकबिचको सम्वाद या संचार राम्रो हुन नसक्दा मानिसहरु झर्न पर्ने ठाउँमा झर्न पाएनन् र यात्रुहरुले झर्केर कराएपछि बल्ल चालकले गैह्रीगाउँ उकालोमा बस रोके ।

IMG_0294सिनामंगलसम्म जाने भनेपनि यात्राको यो रमाइलोले लोभ्याएको हुनाले हामी एयरपोर्टसम्म नै जाने बिचारमा भयौँ । बस एयरपोर्टभित्र पस्दा जसरी सुरक्षाकर्मीले अरु ट्याक्सी या निजी सवारीको चेकजाँच गर्थे त्यसरी चेक नगरीकन ‘सब ठिक छ हैन त?’ भनेर छोडिदिए । यो देख्दा साझामा चढेर बिमानस्थल त्यो पनि नेपालको एकमात्र अन्तरराष्ट्रिय बिमानस्थलको सुरक्षा लापरवाही प्रति अचम्म लाग्यो ।

बस बिमानस्थल भित्र त पुग्यो तर एक कतै नरोकिएर घुमेर फर्कियो । अन्तरराष्ट्रिय टर्मिनल अघि केही मानिसहरु निरर्थक हाल हल्लाउँदै थिए ।
हामी बसबाट नझरेपछि परिचालकले सोधिन र हामीले फेरी बानेश्वर पुग्ने भनेपछि राउण्ड ट्रिपका लागि रु १० को अर्को ट्रान्सफर टिकेट ल्याएर थमाइदिइन् ।
IMG_0331समग्रमा युरो मापदण्डका साझाले ल्याएका यी सवारीसाधनहरु निकै उपयोगी भएपनि ब्यवस्थापनमा देखिएका ससाना कमजोरीले जुन उत्साहका साथ यसको नाम लिएको पाएको थिएँ त्यस्तो पाउन मैले सकिन । साझालाइ बास्तवमै साझा बनाउनका लागि गर्नुपर्ने केही कामहरु यी पनि हुन झैँ लाग्यो ।

  • झर्ने र ओर्लिने ठाउँ निश्चित बनाएर त्यहाँ बोर्ड झुण्ड्याउने ब्यवस्था भए राम्रो ।
  • चालक र परिचालकबिच राम्रो सम्वन्यका लागि इयरफोन या बेलमार्फत कम्युनिकेशन राम्रो बनाइए   राम्रो ।
  • बस कुन स्टपमा कतिबेला आउँछ भन्ने कुराको संचार प्रभावकारी बनाइनुपर्ने ।
  • झर्ने या चढ्ने स्थानमै टिकट (सकेसम्म टेलर सिस्टमको) काट्ने ब्यवस्था मिलाइए राम्रो ।
  • मनोरञ्जनका लागि भन्दै बसभित्र राखिएको टिभी मोनिटरमै यी सवै कुराको जानकारी देखाइए यात्रुले प्रयाप्त सुचना पाउने ।

IMG_0339यतिका कुराहरु राख्न सके साझा यातायात सुरुदेखि नै ब्यवस्थित हुनेछ । नत्र साझा पनि बिस्तारै अरु यातायात झैँ हुनेहो कि भन्ने आशंका ब्यक्त गर्ने ठाउँ देखियो ।

Posted in Article | 6 टिप्पणीहरु