त्रासदीपुर्ण यात्राको सम्झना !


बैसाख १२ गतेका दिन भुकम्प आउँदा म दाङमा थिएँ । भुकम्पको कम्पन खुट्टामा मात्रै हैन सोसल मिडियामा समेत ब्यापक रुपमा आउन थालेपछि तत्कालै काठमाण्डौँ सम्पर्क गरेँ । फोन लाग्दै लागेन । अनि सुर्खेत घरमा फोन लगाएँ । बुवा आमाले त्यहाँ पनि भुकम्पको झड्का महसुस गरेको तर केही नभएको जानकारी दिनुभयो । मलाई चिन्ता काठमाण्डौँकै लागिरह्यो किनकी छोरी र श्रीमति त्यहिँ थिए । केहि घण्टाको प्रयास पछि फोन लाग्यो र उनीहरुले ठुलो भुकम्प आएको र आफूहरु बाहिर खुला स्थानमा सुरक्षित रहेको जानकारी गराए ।

त्यतिन्जेल भुकम्पले पुर्‍याएका क्षतिका समाचारहरु आउन थालिसकेका थिए र सोसल मिडियामा एक्टिभ साथीहरु तथा पत्रकार मित्रहरुले मलाई मध्यपश्चिततिर केही भएमा सुचना दिन आग्रह पनि गरेका थिए । संयोगवश दाङ तथा मध्यपश्चिममा भुकम्पका केहि झड्काहरु महसुस हुनु, यदाकदा मानिसहरु भागदौड गर्दा खुट्टा भाँचिने, मर्किने बाहेक अरु त्यस्तो कुनै कुसमाचार सुन्नुपरेन ।

यता तारन्तार भुकम्पको झड्का आईरहेको सुचना सोसल मिडियाबाट पाईरहेँ । किनकी दाङमा त्यतिबेला बिजुली थिएन, बिजुली नभएपछि टिभी हेर्न पनि पाईएन । एफएम रेडियोहरु लोकदोहोरीमै मस्त भईरहे । त्यति नै बेला त्यहाँ पानी पनि परिरहेको थियो । साथीहरु जीवन, हरी, लक्ष्मी र म तत्काल भेटेर जुन कार्यक्रमका लागि दाङ आएका थियौँ त्यसलाई स्थगित गरेर आआफ्नो गन्तव्यमा फर्किने योजना बनायौँ । योजना अनुसार आफूआफूले रिपोर्ट गर्नुपर्ने निकायमा जानकारी गराईयो । त्यतिन्जेल साँझ परिसकेको थियो । मनमा धुकचुक पालेर शनिबारको रात भौतिक रुपमा दाङमा भएपनि सोसल मिडिया तथा मस्तिस्कमा काठमाण्डौँ राखेर बिताईयो एक झिमिक पनि ननिदाई । यता रातभर सोसल मिडियामा काठमाण्डौको भुकम्प र खुल्ला आकाशमुनि रातबिताईरहेका परिवार, साथीहरु र सबै सोसलमिडियाका मित्रहरुको अपडेट पाईरहँदा मन रोईरह्यो । त्यसमाथि राति छोरीसंग कुरा गर्दा उसले, हामी सकुशल छौँ, बाहिर छौँ, जाडो छ, भोकै छौँ… तर पनि ठिक छ बाबा भन्दिई । मन त उडेर कहाँ पुग्यो कहाँ !

आईतवार विहानै हाम्रो कार्यक्रम स्थगित भएको औपचारिक जानकारी आयो । अनि तत्कालै नेपालगञ्ज हुँदै काठमाण्डौँ जाने योजना बनायौँ र एउटा तालिमका लागि नेपालगञ्ज जम्मा भएका पत्रकार महिला साथीहरुलाई उक्त कार्यक्रम सुरु नै नगरी विदाई गरेर हामीहरु काठमाण्डौँ फर्किनका लागि नेपालगञ्ज हान्नियौँ । यहि बिचमा परिचित मित्र हुमहरी भट्टराईका बुवा बितेको खबर पाईयो । अनि जतिसुकै हतार भएपनि मानविय गुण देखिने यस्तै बेलामा हो । हामीले हुमहरीलाई भेटेर जाने भन्दै मेडिकल कलेजको शिक्षण अस्पतालमा पुग्यौँ । त्यहाँबाट लाशलाई घर लगिसकेको सुचना पायौँ र फेरी चप्परगौडी हुँदै मसुरीखेत पुगेर उनलाई भेट्यौँ र सान्त्वना दिएर नेपालगञ्ज हिँड्यौँ ।

कतिखेर नेपालगञ्ज पुगियो, थाहा पनि भएन । नेपालगञ्ज पुगेर प्लेनबारे बुझ्दा आईतबार बुद्ध एयरका कुनै उडान नहुने र सोमबार पनि निकै कम संभावना रहेको जानकारी पाईयो । अन्तत: काठमाण्डौँ नफर्किई नहुने काम भएका चारजना साथीहरु हरी चौधरी, म, जीवन र ईन्द्र साथीहरुले प्लेन नउडे गाडीमा भएपनि जाने योजना बनायौँ । दुर्भाग्यवश: उक्त दिन नेपालगञ्जबाट काठमाण्डौँका लागि कुनै पनि सार्वजनिक यातायात चलेका रहेनछन् । किनकी भुकम्पको झड्का निरन्तर आईरहेको कुरा सबैलाई विभिन्न माध्यमबाट थाहा भई नै रहेको थियो । अँझ कतिलाई त आगामी भुकम्पको भविश्यवाणीको सुचना(भ्रम) पनि आईरहेको रहेछ । उनीहरु हामीलाई काठमाण्डौँ नफर्किन आग्रह गर्दैथिए । भाडाका साना सवारीधनीहरु पनि सकेसम्म गाडी भाडामा नदिने मनशायका साथ आनाकानी गर्दैथिए । अन्तत: एउटा गाडीको करिब करिब टुँगो लाग्यो र उक्त गाडी दाङबाट आईरहेको भन्ने सुचना पाएर हामीहरु अर्को गाडीमा सामान प्याक गरेर कोहलपुरसम्म आयौँ ।

कोहलपुर पुगेर त्यो गाडीलाई फर्काईदियौँ अनि दाङबाट आउने गाडीलाई कुर्न थाल्यौँ । यतिबेला ४ बजेको थियो । कुर्दा कुर्दै ५ बज्यो । त्यहाँ अरु तीनजना साथीहरु निरज, निर्मल र पंकज थपिए । उनीहरु एकछिन बर्दिया जान हिँडेका थिए, हामी काठमाण्डौ फर्किन । उनीहरु हामीलाई विदा गरेर बर्दिया लागे, हामी उक्त गाडीलाई कुरिरह्यौँ कोहलपुरमा बसेर । कुर्दा कुर्दै साढे आठ बज्यो । अब नजाने कि भन्ने पनि लाग्यो । किनभने यात्राबाटै आएको गाडीलाई यति लामो यात्रा फेरी गराउँदा समस्या पर्ला भन्ने लाग्यो । यता परिवारका मान्छेलाई ४ बजे नै नेपालगञ्जबाट हामी काठमाण्डौँका लागि कोहलपुरतिर हिँडिसक्यौँ भनेर अपडेट गराईसकिएको थियो सबैजनाले । ४ बजे हिँडेको मान्छे कम्तिमा यतिन्जेल कपिलबस्तुको गोरुसिंगे त कटिसकेको हुनुपर्ने । तर हामी कोहलपुरमै रुमल्लिईरहेका थियौँ । यतिन्जेल बर्दिया पुगेका तिनजना साथीहरु काम सकेर फर्किईसकेका थिए । उनीहरु हामीलाई देखेर अचम्मित भए । किनकी हामी अँझै कोहलपुरमै थियौँ ।

बल्लबल्ल गाडीको ड्राईभरलाई फोन लाग्यो । उसले शमशेरगञ्ज आईपुगेको जानकारी गरायो । अब त आउँछ होला भन्ने आशा भयो । अनि एकछिन फेरी त्यहिँ रुमल्लियौँ । साढे नौँ बजेतिर बल्ल गाडी आईपुग्यो एकजना साथी ड्राईभर समेत राखेर । बल्ल ढुक्क भईयो । पौने दशबजे राति कोहलपुरबाट हिँडियो काठमाण्डुका लागि । बाटोमा यात्रा गर्दा बेला बेलामा स्याल, मृग जस्ता जनावरहरु बाहिर निस्किएका हुन्थे, हामी सोसल मिडियामा अपडेट लिने कोशिष गर्थ्यौँ । यतातिर भुँईचालो गयो भन्ने हल्ला चलेको हुन्थ्यो । कति ठाउँमा चाहेर पनि अपडेट लिन सकिएन । किनकी ब्याट्री सकिएला भनेर मोबाईल स्विच अफ गर्दै ब्याट्री जोगाउँदै, कुराकानी गर्दै दोश्रो दिन पनि झिमिक्क ननिदाएर बिहान ६ बजेतिर नारायणगढ पुगियो । त्यहाँबाट जीवनजी घरपुगेर मात्र काठमाण्डौँ जाने भन्दै हेटौँडा लागे, किनकी भुकम्पले उनको घरमा क्षति पुगेको खबर पाईएको थियो । उनी घर पुगेर काठमाण्डौँमा उपचारका निम्ति पुगेका वुबाको अपरेशनका निम्ति हिँडेका थिए ।

नारायणगढबाट रामनगर पुग्दा प्रहरीले गाडीलाई रोकिराखेको देख्यौँ । मानिसहरु प्रहरीसंग बाझ्दै थिए । प्रहरी उनीहरुलाई रोक्दै थियो । के रहेछ भनेर बुझ्न गएको त पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिङ सडकखण्डको मुग्लिङ-जलबिरे बिचमा पर्ने कालीखोला छेउमा सुख्खा पहिरो गएर राजमार्ग अबरुद्ध भएको रहेछ । भुकम्पका कारण पृथ्वी राजमार्गको धेरै ठाउँमा माथिबाट ढुँगा खसेर केही सवारीसाधनमा क्षति पुगेको र कति ठाउँमा बाटो अबरुद्ध भएको रहेछ । ती मध्य कालिखोला छेउको पहिरो अलि ठुलो र हटाउन तीन घण्टा लाग्ने भन्दै प्रहरीले बिचमा पुगेर जाममा बस्नु भन्दा यतै बस भनेर रोकेको रहेछ । हामीलाई पनि कुरा ठिक हो, जंगलमा थुनिएर एउटा चाउचाउलाई पचास रुपिया तिर्नुभन्दा यतै ठिक छ भनेर त्यहिँ कुर्‍यौँ । कुर्दा कुर्दै डेढ घण्टा बित्यो । प्रहरीले भनेको समयमध्ये आधा त बितिसकेको थियो । अर्थात साढे आठ बजिसकेको थियो । एकछिन कहाँ के भएको छ भनेर सोसल मिडियाको अपडेट लिउँ भनेर ट्विटर खोलेको त चितवनका पत्रकार एवं ट्विटे मित्र आनन्द पोखरेलले त्यहाँ एउटा मात्रै डोजर रहेको, त्यसले मात्रै पन्छाउन समय लाग्ने र यतिखेर त्यहाँका सभासद, विपद् ब्यवस्थापन समितिका पदाधिकारी सम्पर्कविहीन रहेको ट्विट गरे । अनि मलाई लाग्यो यसरी यहाँ अल्मलिने हो भने रातिसम्म पनि काठमाण्डौ पुग्न सकिन्न । मैले हेटौँडाको बाटो जाने कि भनेर मलाई ल्याउने गाडीवालालाई सोधेँ । तर उसले त्यहाँबाट जान अनिच्छा देखायो । मैले उसलाई कर गरिन । किनकी गाडी चलाउने र भान्छा चलाउनेको हातमा हाम्रो जीवन हुन्छ । उनीहरुले चित्त दुखाएर छिस्स केही गर्दिए खेल खलाँस !

मैले ठिकै छ उसोभा यतैबाट जाउँला, कुरौँ भनेँ । एकछिन पछि प्रहरी आफैले हामीलाई अगाडी जाने भए जानुस् भन्यो । हामीले पनि जुगेडीसम्म बढौँ न त, केही गाह्रो भए त्यतै रोकिउँला बरु भन्ने लागेर अघि बढ्यौँ । जुगेडीमा पनि गाडीको जाम थिएन । अनि त्यहाँ एकदर्जन चाउचाउ, आधा पेटी पानी र एउटा जम्बो बोतल कोक किनेर गाडीमा राख्यौँ र अघि बढ्यौँ । कालीखोला पुलदेखि ५ किलोमिटर यतै बल्ल गाडीको जाम देखियो । अनि हामी पनि गाडीको क्यूमा बस्यौँ ।

त्यहाँ पुग्दा सवा नौ जस्तो बजेको हुँदो हो, यता र उता गरेर करिब ५ किलोमिटरको जाम हामीले अनुमान लगायौँ । बिचबिचमा गाडी अगाडी लगेर बिचमा घुसाउने साना गाडीवाला र ठुला गाडीवालाको झगडा हेर्दा यस्तो बिपद्का बेलामा पनि बेसोमति स्वभाव देखाउने कस्ता रहेछन् भन्ने पनि लाग्यो । यस बिचमा बल्ल प्रहरीले एक घण्टाको फरक फरकमा दुईवटा डोजर पहिरो फाल्नका लागि पठायो । घरि वल्तिर घरि पल्तिर गरेर पाँच घण्टा बिताईयो । यस अघि डेढ घण्टा रामनगरमा बितेको थियो । कोही आफन्ती बितेर काठमाण्डौँ जान लागेका, कोही परिवारका मान्छेलाई बिपतका बेला के काठमाण्डौँ राख्नु भनेर लिन जान लागेका, कोही बिपद्का बेलामा समेत परिवारसंग बस्न पाईएन भनेर आफैलाई धिक्कार्दै बैदेशिक रोजगारीका निम्ति उडान भर्न काठमाण्डौ जान लागेका अधिकांश यस्तै थिए । केही भने विवाहका गाडी पनि थिए । यात्रुहरु बिचरा दुलाहा दुलहीलाई उडाउँदै थिए-कत्रो भुकम्प ल्याउन सकेको गाँठे भनेर । दुलाहा दुलही भने लाजले रातोपिरो । जन्तिहरु पनि कुर्दाकुर्दै छटपटिएका ।

‘अब पहिरो हट्यो, गाडी अगाडी बढ्छ, सबै बस्नुस्’ गाडीवालाहरु कराउन थाले । हामी पनि गाडीभित्र पस्यौँ । जेनतेन पञ्चमीका पाईला सार्दै साढे २ बजे हामीले पहिरोलाई छिचोल्यौँ तर अगाडी जाम उस्तै !

तिन किलोमिटर छिचोल्न करिब आधा घण्टा लागेछ । हामी तिनबजे बल्ल मुग्लिङ पुग्यौँ । मुग्लिङमा उस्तै जाम, पोखरातिर जाने बाटोमा पनि गाडी ठप्प, यता नारायणगढ जानेमा पनि उस्तै । ठाउँ ठाउँमा भारतिय टेलिभिजनहरुले लाईभ गर्दै थिए । भुकम्पबाट जोगिएकाहरुले धमाधम काठमाण्डौँ छाड्दैरहेछन् । अधिकाँश मधेसीमुलका र भारतिय नागरिकहरु धेरै थिए काठमाण्डौँ छाड्नेमा । बस, माईक्रो बस, जीप, ट्रक, ट्रिप्पर, ट्याक्सी, ट्याक्टर, मोटरसाईकल त सामान्य भैहाले, ट्याँकर पनि खाली थिएनन् मान्छेहरुले । मान्छेहरु केही रोमाञ्चित अनुहारमा देखिन्थे सायद बचियो भनेर होला, केहि हतास पनि थिए । हाईवेमा मोटरसाईकल देख्दा थापाथलीको जामको महसुस हुन्थ्यो ।

करिब १५ किलोमिटरसम्म त यताबाट जाने गाडीहरुको जाम नै थियो । जाम मात्र छिचोल्न हामीलाई अरु दुईघण्टा लाग्यो । पाँचबजे जाम छिचोलेर अघि बढ्दा पनि ठुलोसंख्यामा गाडीहरु खचाखच मान्छे बोकेर उपत्यकाबाट बाहिरिईरहेका देखिन्थे । धादिङ लागेपछि भने बाटोमा केही चर्किएका र केही भत्किएका घरहरु पनि देखिन थाले । जति जति बाटोको दुरी काठमाण्डौँसंग नजिकिँदै गयो, भत्किएका घरहरुको संख्या पनि उति उति बढ्न थाल्यो । भुकम्पको झड्का मात्रै महसुस गरेका हामीले अब भने भुकम्पलाई आँखा अघि देख्न थाल्यौँ । बाटैमा त यस्तो अवस्था उपत्यकामा कस्तो होला भनेर महसुस गर्नथाल्यौँ ।

आठ बजेतिर थानकोट आएर हेर्दा उपत्यकामा बिजुली बत्तीको रौनक थिएन । चेकपोष्टका प्रहरीहरुले पनि कसैलाई सोधपुछ गरेनन् । अल्ली अघि बढेका थियौँ थानकोटको त्रिभुवन पार्कको पारीपट्टीको पर्खाल पुरै भत्किएको देखियो, एकछिनमा एकपछि अर्को गरी भत्किएका घरहरु देखिन थाले । अनि बल्ल लाग्यो- आँखैले देख्नु र सोसल मिडियामा लेख्नु फरक कुरा हुन् । मलाई कतिखेर बबरमहल पुगुँला र बालबच्चा परिवार भेटुँला झैँ लाग्यो । साथी ईन्द्रलाई बाफल चोकमा र अर्का साथी हरीलाई पाटनढोका छाडेर म तत्कालै बबरमहलतिर लागेँ । माईतिघर चोक र बबरमहलको फराकिलो सडकबिचको डिभाईडर पुरै खचाखच मानिसले भरिएको थियो । त्रिपालमुनि मानिसहरुको बास थियो ।

पोखरा महोत्सवमा सुनेको थिएँ-सडकमै खाउँ, सडकमै रमाउँ । तर यहाँ यस्तो थियो-सडकमै खाउँ-सडकमै सुतौँ-सडकमै निदाउँ । सबैको सडकको बास भएको रहेछ । धनीहरु पनि गाडी लिएर सडकमै रात बिताउन आएका थिए । म बबरमहल डेरा नजिकै पुगेँ जहाँ टोल विकास संस्थाको हलमा के बुढाबुढी, के तरुनी तन्नेरी, के महिला के पुरुष, के रोगी के निरोगी सबै एकै ठाउँमा करिब ३०० जना असरल्ल परेर भुँईमा पोखिएको अनाजझैँ पल्टिएका थिए । मान्छेको नजरमा मात्रै मान्छे मान्छेबिच विभेद छ, बर्ग छ । प्रकृतिका अघि त सबै बराबर । यहाँ त्यस्तै थियो-हिजोका घरबेटी र डेरावाल दुबै आज एउटै हलमुनि थिए । त्यहाँ कसैले कसैसंग भाडा माग्ने, फोहोर पार्‍यो निकाल्दिन्छु भनेर धम्की दिने चान्सै थिएन । सुकिलामुकिला भनिनेहरुले पनि कसैलाई फोहर भो, घिनलाग्दो भो भनेर कराउने कुरै थिएन । छेवैको ट्वाईलेट ह्वास्सै गनाएको सायद सबैको नाकले भेउ पाएकै थियो, छेवैमा सुतेको मान्छेको पसिना काखी गनाएको पनि सुँघ्नुपरेकै थियो ।

यी सबै दृश्य फिल्मको पर्दामा झैँ नाचे एकैक्षणमा । म घर पुगेर झोला राखेँ र उनीहरुलाई त्यहाँबाट सारेर बरु डेराकै मोटरसाईकल पार्किङमा ओच्छ्यान लगाएर सुताउने बिचारका साथ लिन गएँ । त्यहाँ कान्तिलाई चिन्नेहरुले सोधेका रहेछन् खै त तपाँईको बुढा भनेर । मैले उनीहरुलाई त्यहाँबाट बिस्तारै ठाउँ छ भने आफ्नै घरको कम्पाउण्ड, या छेउछाउका खुला ठाउँमा सुतौँ तर एउटा हलभित्र गुम्सिएर यसरी सुत्दा अरु विभिन्न रोगको समस्या हुनसक्छ भनेँ । तथापि मेरो कुरा प्रायले सुनेनन् । तर मैले भने मेरा जहान परिवारलाई त्यहाँबाट तत्कालै सारेँ ।

यात्राका क्रममा खिचिएका केही तस्विरहरु :

?

?

?

?

IMG_7275

IMG_7279

IMG_7290

IMG_7307

IMG_7313

IMG_7323

IMG_7335

?

IMG_7368

IMG_7372

?

About baabajee

just human
This entry was posted in Uncategorized and tagged , , , , , . Bookmark the permalink.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )