त्यो चरित्रको बयान म गरुँ कसरी…..!


दिनहुँ राजनितिक दलका नेताहरुको वाकयुद्द र संविधानसभाका समाचारहरु मात्रै भेटिने अखबारका मुख्य पानाहरु केहि दिनयता एउटा पात्रको नामले भरिएका छन्-डा.गोविन्द केसी । हुन त अधिकांश समय नितिहरुको पनि निति राजनिति भन्दै खेलकुद, कलाकारिता, कृषि, चिकित्सा, अर्थ या अरु पेशाका समाचारहरु भित्र कतै एकदुई कोलम या अन्तिमतिरका केही पानाहरुमा दिने पत्रकारिताका परम्परागत मान्यताहरु भत्काउँदै अचेल यस्ता समाचारहरु पनि अखबारका मुख्य समाचार बन्न थालेका छन् तर ति ‘ईस्यु’का कारण भन्दा पनि कुनै महत्वपुर्ण ‘ईभेन्ट’का कारण ।

डाक्टर केसीको अनसनका शिलशिलाहरु सुरु भईसकेपछि नेपालको चिकित्सा क्षेत्रको बहस भने अब राष्ट्रिय मुद्दा मात्र नभई अन्तरराष्ट्रिय समेत भईसकेको छ भन्दा पनि फरक नहोला । जुन बहस पत्रकारिताका अरु विटहरु खेलकुद, अर्थ, कला या अरु कुनैपनि विटमा यसरी भएको छैन भन्न भन्दिए पनि हुन्छ होला । संचारमाध्यममा स्वास्थ्य क्षेत्रको समाचारको संख्या बढ्ने क्रमको सुरुवात पछिल्लो केहि बर्षमा डाक्टरले विरामीको उपचारका क्रममा खेलवाड गरे भनेर डाक्टरमाथि हात हाल्ने र अस्पताल तोड्ने क्रम बढेसंगै भएपनि त्यसपछि बिस्तारै समाचारहरुमा चिकित्सा क्षेत्रका अरु सवालहरु पनि थपिन थालेका हुन् सायद ।

दुर्गममा दक्ष स्वास्थ्यकर्मीको अभावमा बिरामीहरु दिनदिनै मर्नुपरेको समाचार मात्र अब चिकित्सा क्षेत्रको समाचार रहेन । चिकित्सा क्षेत्रमा भएका अरु कमिशन, भ्रष्टाचार लगायतका बेथितिहरुसंगै चिकित्सा विज्ञान पढाउने काममा हुने करोडौँ रकमको चलखेलको कुरा अब सतहमै आईसकेपछि रहरले होस् या करले, यतिबेला सरोकारवालाहरु सबैको ध्यान यो मुद्दालाई कसरी ‘तह’ लगाउने भन्नेमा नै केन्द्रित भएको देखिन्छ ।

यति कुरा भन्दै जाँदा म आफ्नो विगतलाई सम्झिन्छु यतिबेला-जतिबेला राम्रो उपचारको खोजीमा म गृहजिल्ला सुर्खेतबाट आमाले सुतीको कपडामा पोको पारेर दिएको गहुँको रोटी र मुलाको अचार बोकी दिनभरको यात्रा गरेर सुर्खेतबाट नेपालगञ्ज आएको थिएँ । किनकी नेपालगञ्ज मध्य तथा सुदुरपश्चिमका २४ जिल्लाहरु मध्ये सबैले स्वास्थ्य सुविधाले सम्पन्न मानिआएको जिल्ला हो विगत २/३ दशकदेखि नै । त्यसमाथि मध्यपश्चिममा क्षेत्रिय वा अरु अञ्चल अस्पतालहरु भएपनि सुविधाका हिसाबले भेरी अञ्चल अस्पताल आज त सबैभन्दा अघि छ भने उतिबेला झन् हुने नै भयो । भेरी अञ्चल अस्पतालमा उपचार गराउन म मात्रै होईन मध्यपश्चिमका अरु १४ जिल्लाका नागरिकहरु पनि यसैगरी रोटी, मकै या सातु बोकेर नेपालगञ्ज धाउने गर्थे, अँझैँ धाउँदैछन् । एक दुई या तिनदिनको यात्रा गरेर नेपालगञ्ज धाउनु, ३०/४०/५० रुपिँयामा ‘कमन रुम’मा हप्ता दश दिन विताउनु या गञ्छे हुनेहरुले सोही अनुसार राम्रा होटलमा सिंगल रुम लिएर उपचार गराउनु अनि थाप्लोमा थपिएको ऋणको बोझलाई सञ्चो हुने विश्वासले बिर्साउँदै आफ्नै गाउँ फर्किनु, यहि नियतिमा बाँचेका हामी मध्यपश्चिमबासीहरुका लागि भेरी अञ्चल अस्पताल बर्षौँसम्म एउटा धरोहर रहिरह्यो, जीवन बचाईदिने धरोहर ।

तर पछिल्ला दिनहरुमा यहि धरोहरका समाचारहरु संचारमाध्यममा एकपछि अर्को गर्दै आउन थाले त्यो पनि कहिले डाक्टर डाक्टर विचको कचिंगलसंग जोडिएर, कहिले उपकरण हुँदाहुँदै पनि प्रयोग नभएर बिरामीको उपचार हुन सकेन भनेर त कहिले डाक्टरको लापरवाहीका कारण अस्पतालमा बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्‍यो भनेर । र यही चैत्र १७ गतेको एउटा राष्ट्रिय दैनिकमा अर्को समाचार आयो ‘प्रसूति वार्डका चिकित्सक र कर्मचारीले डेढ वर्षदेखि भत्ता नपाएपछि सेवाको गुणस्तर खस्कँदा अस्पतालमा सुत्केरीको मृत्यु बढेको’ भनेर । यो संगसंगै अस्पताल जस्तो संवेदनशिल स्थानमा कमिशन र चरम लापरवाहीका कारण उपचारको काम अस्तब्यस्त हुन थालेपछि चैत्र १५ गते आईतबार मात्रै अख्तियारले तेश्रोपटक छापा मारेको समाचार पनि सार्वजनिक भयो । औषधि, सर्जिकल उपकरण र मसलन्द खरिदमा भएको भ्रष्टाचारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ गते समेत गरी तेस्रो पटक अस्पतालमा छापा मारेको रहेछ । यी तमाम कुराहरु देख्दा के लाग्न थालेको छ भने अब भेरी अञ्चल अस्पताल, अस्पताल मात्र नरहेर राजनितिक कृडास्थल बनेको छ ।

एकातिर राजधानीमा एउटा च्याँखुरे ज्यान भएको बुढो डाक्टर उपचारको काम समेत रोकेर सत्याग्रहमा होमिएको छ, अर्कोतिर राजधानी बाहिर भएपनि मध्यपश्चिमको राजधानी सरहको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताल चिकित्सकहरुकै लापरवाही र राजनितिका कारण कोमामा गएजस्तै भएको छ । यी सबै कुराहरु अर्थशास्त्रमा माग र पुर्तिको परिभाषा भन्नेगर्दा उदृत गरिने अघिल्ला केही शब्दलहरहरु ‘अन्यवस्तु यथावत रहेको अवस्थामा’ भनेजस्तै गरी भने भएका हैनन् । समाज सुधार्ने राजनितिले आफूलाई त सुधार्न सकेन सकेन, जनस्वास्थ्य सुधार्ने संस्था तथा निकायहरुलाई पनि यसरी फोहोरी बनाउँदैछ कि मानौँ त्यहिँबाट फैलिएको संक्रमणले कुनदिन सबैलाई बढार्ने हो !

काठमाण्डौँमा अहिले चलिरहेको मेडिकल राजनितिबारेमा धेरै चर्चा भइसकेका छन् भईरहेका छन्, यस बारेमा मैले थप चर्चा गर्दा ईन्द्रको अगाडी स्वर्गको बयान हुनसक्छ । कुरा गरौँ आफ्नै गृहक्षेत्र मध्यपश्चिमकै ।

नेपालगञ्ज वर्तमान प्रधानमन्त्री सुशिल कोईरालाको गृहनगर हो । वर्तमान प्रधानमन्त्रीको सादगीको कुरा देशभित्र मात्रै हैन बिदेशमा समेत चर्चा भईसकेकै कुरा हो । किनकी सम्पतिको नाममा मात्र तीनवटा मोबाइल भएका संसारका सबैभन्दा सरल प्रधानमन्त्रीको रुपमा उहाँको राम्रै चर्चा भयो । अन्तराष्ट्रिय मिडियामा बिरलै आउने नेपाल सन्दर्भले यहि कारणले पनि अलिकति चर्चा पायो ।

तर गत फागुन ८ गते आइतबारको कान्तिपुरको पृष्ठ आठमा प्रकाशित समाचार पढेपछि भने भन्न मन लाग्यो- कठै शुशिल’दा तपाईको सादगी ! क्या आडम्बर रहेछ त्यो !

समाचार अनुसार भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. पीताम्बर सुवेदीले गएको कात्तिक २५ का दिन स्वास्थ्य मन्त्रालयका सचिवसमक्ष राजीनामा दिएका रहेछन् । त्यसको बोधार्थ उनले स्वास्थ्यमन्त्री खगराज अधिकारी र स्वास्थ्य विभागका महानिर्देशकलाई पनि पठाए । तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म उनको विकल्पमा अस्पताल प्रमुख नियुक्ति गर्न सकेको छैन ।

त्यही समाचार अनुसार त्यसको कारण रहेछ प्रधानमन्त्रीज्यूको संरक्षण डाक्टर सुवेदीलाई प्राप्त हुनु ।

अहिले भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. सुवेदीमाथि झन्डै एक करोड भ्रष्टाचारको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ । अस्पतालमा तीनपटक छापा मारेर सबै कागजपत्रहरु अख्तियारले बरामद गरिसकेको छ ।  त्यतिमात्रै हैन, अस्पतालमा डायलेसिस उपकरण आएर पनि दुईबर्षदेखि थन्किएको रहेछ । अस्पतालमा ईसीजी मेसिनसमेत बिग्रेर थन्किएको रहेछ । अरु त अरु महिनौंअघि खरिद भएको जेनेरेटर समेत सञ्चालनमा छैन रे ! अस्पतालका यस्ता ब्यवस्थापकिय समस्याहरु त्यहाँका प्रमुखको मुद्दामा चेपिएका छन् ।

हुन त नेपालका प्राय: सबै सरकारी अस्पतालहरुको अवस्था बिजोग नै छ । पर्याप्त भौतिक पुर्वाधारको कमी, निजी कमाईमा लिप्त चिकित्सक र सरकारको बेवास्ताको कारणले सरकारी अस्पतालहरु जीर्ण बन्दै गइरहेका छन् । यस्तैमा भेरी अञ्चल अस्पताल सम्बन्धि यो समाचारको शिर्षक सामान्य भए पनि जनस्वास्थ्यसंग जोडिएको संस्थाको त्यस्तो हालत सम्बन्धी समाचारको बिषयबस्तु बास्तवमै काँडा उमार्ने खालको थियो ।

निमित्त मेडिकल सुपरिटेण्डेन्टलाई टिकाइराख्न प्रधानमन्त्री स्वयंले जुन आशक्ति देखाउनुभएको रहेछ, त्यो कुरालाई लोकतन्त्रमा विधिको शासन अर्थात शुसासनमा विश्वास राख्ने कमैले बिश्वास गर्लान् । तर शुशिलदा’लाई नजिकबाट चिन्ने र मिडियामा गरिएका बिश्लेषणलाई आधार बनाउने हो भने त्यसको सत्यतालाई नजरअन्दाज गर्न मिल्दैन ।

हुन त सादगीको कारणले भएको अभाव र अभावको कारणले अपनाउन परेको सादगीमा जिन्दगी बिताएका शुशिलदा’मा यो बृद्धावस्थामा आएर खासै द्रव्यमोह नहोला । तर उहाँका आसेपासेहरु एक बट्टा मिठाइ वा कुनै होटेलको प्रबन्ध वा यात्राको लागि टिकटको व्यवस्थामा जात फालिसकेका नहोलान् भन्न सकिन्न है ! उसै पनि श्रीमती वा छोराछोरीलाई खुसी पारेर आफ्नो काम बनाउने चलन बिश्वव्यापी नै हो, त्यसमाथि हाम्रो समाजको कुरै नगरौँ !

देशका प्रधानमन्त्री जसको प्राथमिकतामा अरु ठूलाठूला कुरा पर्नुपर्ने हो, उहाँ नै आफ्नो गृहजिल्लामा रहेको भेरी अञ्चल अस्पतालको पटकपटक विवादमा परिसकेका एउटा निमित्त कार्यालय प्रमुखको थमौतीमा लाग्नुभएको हो भने यो बडो दुर्भाग्यको कुरा हो । राजनिति गर्ने, समाज सुधार्ने, प्रशासन सुधार्ने या अँझ भनौँ देशको शासनसत्ताको मुख्य नाईके यस्ता कुरामा जोडिनुबाटै थाहा हुन्छ, राज्य संचालन कसरी भैरहेको छ? आफ्ना हनुमानहरुको रक्षाको लागि कसरी राज्यका अंगहरुलाई निस्कृय बनाइन्छ? अख्तियारलाई कसरी सोझासाझाहरुलाई हाउगुजी र ‘ठूला माछा’ हरुलाई सुरक्षित गर्ने अक्वारियम बनाइएको छ भनेर ।

र स्वास्थ्यमन्त्री, ज्यू !

यो घटनामा प्रधानमन्त्रीको जत्तिकै साईनो तपाँईको पनि छ । प्रधानमन्त्रीको मान्छे भन्दै अस्पतालका निमित्त प्रमुखमाथि कुनै ‘एक्सन’ लिन नसक्नु स्वास्थ्यमन्त्रीको कमजोरी त हो नै ।

आफ्नै मन्त्रालय मातहतको निकायलाई ब्यवस्थित गर्ने र सुशासनयुक्त बनाउने मुख्य जिम्मेवारी त तपाँईकै हो नि ! तपाँई, डाक्टर केसीको आन्दोलनमा त त्रिभुवन विश्वविद्यालयलाई स्वतन्त्र निकायको नाम दिँदै बच्न सक्नुहोला तर आफ्नै मातहतका निकायमा भैरहेको बेथिति रोक्न यहाँलाई कस्ले रोक्यो? किन रोक्यो? अस्पतालमा प्रमुख बाहेक ब्यवस्थापन सम्बन्धि काम हेर्ने र अस्पतालको विकासका काममा लागिपर्ने अर्को निकाय पनि हुन्छ-अस्पताल ब्यवस्थापन समिति । त्यससंग छलफल गरेर यस्ता सानातिना ब्यवस्थापकिय अड्चनहरु फूकाईदिने काममा सहजिकरण गर्न किन तपाँई चुक्दैहुनुहुन्छ?

लोकतन्त्र र सुशासन चर्का नारा लाउँदैमा महशुस हुँदैन मन्त्री महोदय, यो त नागरिकले भोग्न पाउनुपर्छ । कुनैबेला खगराज अधिकारीको नाम सत्यको पक्षमा उभिदा आफ्नै पार्टीको चुनावमा केन्द्रिय सदस्यमा समेत हारेको भनेर पनि चर्चा गराईएको थियो, आफ्नै पार्टीका ठूला नेताकै बारेमा भन्डाफोर गर्नसक्ने भनेर प्रचार गरिएको थियो । के त्यो सबै गफै रहेछ त !

के माननिय स्वास्थ्यमन्त्री ज्यूको संचारमाध्यमसंग सम्पर्क छैन? के तपाँईले दैनिक पत्रपत्रिकाहरु पढ्ने गर्नुहुन्न? अँझ मन्त्रालयमा त पत्रपत्रिका पढेर आफ्नो मन्त्रालयसँग सम्बन्धित समाचार ब्रिफिङ गर्न मान्छे नै खटाइएको हुन्छ क्यारे ! के तपाईलाई आफ्नै मन्त्रालयसंग सम्बन्धित अस्पतालहरुको भद्रगोलका खबरहरु निरन्तर पढेर कुनै दु:ख लाग्दैन? हैन भने आफ्नो सामान्य आदेशमा समेत समाधान हुनसक्ने ब्यवस्थापकिय समस्या समाधान गर्न तपाई किन अग्रसर हुनु भएन?

के तपाँईले आफ्नो मन्त्रालयको बिषयमा बालुवाटारतिर चोरऔँलो देखाएर आफु चोखो बन्न मिल्छ? यदि सबै मन्त्रालयमा बालुवाटारको हस्तक्षेप चल्ने भए लगेर बुझाइदिनु ताला चाबी सबै उतै? कि कसो?

अझ सबैभन्दा अचम्मको कुरो त भेरी अञ्चल अस्पतालमा गत फागुन १२ गते प्रसुति अपरेसनपछि बर्दिया, बाँसगढी ६ स्थित डेउढाकलाकी ३३ वर्षीया सुशीला सिग्देल पौडेलको मृत्यु भएको घटनामा चिकित्सकले बेलैमा सुत्केरीको खराब अवस्था पत्ता लगाउन र त्यही अनुसार उपचार चलाउन नसक्दा मृत्यु भएको छानबिन समितिको निष्कर्ष हुँदाहुँदै आफैले गठन गरेको छानविन टोलीको प्रतिवेदन लागु गर्न पनि तपाई उदासिन हुनुहुन्छ रे !

के छानविन समितिले अप्रेसनमा संलग्न चिकित्सकलाई कारबाही गर्न र अस्पतालको व्यवस्थापकीय कमजोरी अत्यधिक देखाउँदै डा. सुवेदीलाई प्रमुखबाट हटाउन सुझाव दिएको हैन?  कठै तपाईको विचार ! कठै तपाईको सत्य प्रतिको प्रतिबद्धता ! यदि टोलीको सिफारिस लागु नगर्ने भए किन गर्नु भो त समिति गठनको त्यो नाटक?

मन्त्री महोदय, अस्पतालमा हुने दुर्घटनामा पिडित पक्ष तोडफोडमा नउत्रिईकन कानुनी उपचार खोजेको एकाध घटनामा पर्छ होला यो घटना । अध्ययन टोलीको प्रतिवेदन आउला र कसैले कतै केहि गरेको भए उनीहरुलाई कारवाहि होला भनेर पिडित पक्षले राज्यलाई विश्वास गर्नु नै अभिसाप हो? यस्तै हो भने भोलीदेखि फेरी सबै विरामी अस्पताल बिरुद्ध खनिएर सिसा फुटाउने वा लाखौं क्षतिपुर्तिको माग गर्नेछन् ।

प्रश्नहरुको बाढी छ मसंग, थाहा छैन यसलाई सोध्ने शिलशिला के हो, तैपनि सोध्दैछु-के मेरो बाल्यकालको अबोध दिमागले बुझेको डाक्टरी छवी भ्रम रहेछ? के भगवानको दोश्रो स्वरुप भनिने चिकित्सकहरु पोल्ट्री फार्ममा उत्पादन गरिएका संवेदनाहिन ब्रोइलर कुखुराहरु हुन्? अनि राज्य र जनताको उत्थान गर्न राजनितिमा होमिएका हौं भन्ने तपाँईजस्ता नेता/मन्त्रीहरुको बोली फगत चेपारो हो? कति ससाना स्वार्थमा अल्झिँदा रहेछन मन्त्री प्रधानमन्त्रीहरु, अनि कहाँबाट आओस विकासको चेत? समग्र राजनितिमा जस्तो अस्तित्वमा नभएका झुटा कुरा मानिसको दिमागमा कोचेर आफु चोखो हुने भ्रान्तिको खेती नै त रहेछ स्वास्थ्य क्षेत्रको हविगत !

र अन्तमा, गोविन्द केसीको  अनसन प्रति त तपाईलाई कुनै मतलब हुने कुरै भएन । आफुलाई मन्त्री बनाइदिने पार्टी र त्यसका ठालुहरुको लगानी जो परेको छ त्यसमा । तपाँईले गर्न सक्ने कुरामात्र भन्दैछु मन्त्रीज्यू, त्यो के भने मेरा यी माथिका तमाम प्रश्नहरुको जवाफ दिनुपर्दैन तपाँईले । केवल काम गरेर देखाई मेरा मुखमा बुझो लगाईदिनुस् । नत्र बाध्यभई कुनैदिन भन्नुपर्नेछ-चोरलाई चौतारो र साधुलाई सुली दिने तपाईको त्यो चरित्रको बयान म गरुँ कसरी…..!

About baabajee

just human
This entry was posted in Uncategorized and tagged , , , , . Bookmark the permalink.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )