कथा—‘बद्मास बसन्ते’


‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’

बसन्तेले हाँक मार्‍यो ।

नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ !
देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ सिपालु थियो । बसन्तेको युद्धकलाको भुक्तभोगी म उसको आदेशको अटेर गर्ने कसरी साहस गर्थेँ र !

बसन्ते र म दुबै समान पाँच कक्षामा पढ्थ्यौँ ।

बसन्ते पढाईमा अलि कमजोर थियो, आफ्नो ज्यानजस्तै रुन्चे लागेको ।

म प्रायः उसको गृहकार्य पनि आफै गर्दिन्थेँ । त्यसैले त उ आफ्नी आमालाई ढाँटेर पर्कासेसंग पढ्न जान्छु भनेर दिनभर खोलामा माछा मारिरहँदा समेत निस्फ्रिक्री भईरहन्थ्यो ।

……………………………………………………

अघिल्लो दिन किताब हराएको, दोश्रो दिन गृहकार्य नगरेकोले हेडसरको चुटाई पाएको बसन्ते आज कुनै हालतमा पढ्ने मुडमै थिएन । कक्षाबाट निकालिएपछि पछाडीतिरको झ्यालबाट उसले मलाई ईसारा गर्‍यो-‘ओए ! बाहिर निस्की !’

ठमप्रसाद सरले शारिरिक शिक्षा पढाउँदै हुनुहुन्थ्यो । ठमप्रसाद सर बोल्दा जसरी मुखबाट ‘खोयाबिर्के’को कडा दुर्गन्ध कोठामा फैलिन्थ्यो, अनुशासनमा पनि उत्तिकै कडा मिजास थियो उहाँको ।

मैले झ्यालतिर हेरेको फ्याट्टै देख्नुभो उहाँले ।

तुरुन्तै उहाँको अप्रेशन सुरुभो म माथि पनि । कन्सिरीका एकदर्जन जति रौँ उखेलिएपछि म पनि कक्षाबाट गलहत्याईएँ ।

बसन्ते मलाई देखेर फिस्स हाँस्यो । उसको खुसीको सिमा नै रहेन ।
धौला जुम्लीले बुनेको ऊनीको झोलाको फित्तालाई पछाडी कम्मरमा बाँधेर हामी हुँईकियौँ करेखोलातिर माछा मार्न ।

माछा मार्दै ओरालो लाग्दा दिन बितेको पत्तै भएन । साँझ झमक्क पर्न थालेछ । बाटोमा सारु कान्छो भेटियो । बोल्न नसक्ने उसलाई हामी सारु लाटो भनेर जिस्काउँथ्यौँ । एकछिन उसलाई जिस्काउन पर्‍यो भनेर कस्सिएको त मुर्दारले सिस्नोको आँठोले चुट्नु चुट्यो । रुँदै, चिच्याउँदै कसोकसो उम्केर हामी त्यहाँबाट फरार भयौँ ।

पछि कुरा बुझेको त गाईबस्तु हराएर सारु लाटो ‘उग्र’ भएको रैछ । त्यही घानमा पो हामी मुछिएका रैछौँ !

सिस्नोको पोलाई कम गर्न तितेपाती मिचेर खुट्टामा दल्दादल्दा खुट्टाका खालै गएछन् । बल्लबल्ल सिस्नोको पोलाई कम भएपछि बसन्ते र म खोलाबाट घरतिर हिँड्यौँ । घरपुग्दा साँझको आठ बजिसकेको रहेछ । भित्तामा झुण्ड्याएको पानासोनिक रेडियोमा साङ्ला कुद्‍दै थिए, तैपनि रेडियोले भन्न भ्यायो-‘दिस ईज रेडियो नेपाल ।’

मनमनै सोचेँ, आज रामधूलाई भेटिने भईयो ।

भयो पनि त्यस्तै, मैले हातखुट्टा बाँधेर आमाको हातको रामधूलाई भेटेँ। बसन्तेले सोही प्रकृतिले हजुरबुवाको हातको धूलाई भेटेछ ।

बसन्तेका बुवा लाहुरे थिए ।एक-दुईबर्षमा एकचोटी घर आउने भएर होला, उनले छोराछोरीहरुलाई माया गर्थे । उसो त मेरा बुवा पनि जागिरे भएकोले कहिलेकाँही घर आउँदा पिटिहाल्थेनन् । बसन्तेकी आमा भने सोझी थिईन । बसन्तेको उपद्रयाँईले ‘अत्ति’ भएपछि दिक्क मान्दै भन्थिन-‘बाबु ! तेरा बाँकी चार भाईबैनाले पनि यस्तै सिके भने के गति होला मेरो?’

बसन्ते अलिक भावुक थियो । आमाका यस्ता कुरा सुनेर एकछिन ग्वाँग्वाँ रोईहाल्थ्यो, तर मुर्दारको बानी छिनभरमै ‘कुकुरको पुच्छर बाह्रबर्ष ढुँग्रोमा हालेपनि बाङ्गोको बाङ्गै !’

बसन्तेको साथले मेरो पढाई बिग्रिने भो भन्ने चिन्ता पनि लाग्थ्यो कहिलेकाँही मलाई । तर उसको जिद्दीका अगाडि म ‘लुत्रुक्क’ परिहाल्थेँ ।

हजुरबासंग ठाकठुक परेपछि बसन्तेकी आमा उ सहित अरु चारोटा छोराछोरी लिएर छुट्टै बस्न थालिन् । यो कुराले सबैभन्दा धेरै खुस बसन्ते थियो । अब जति उपद्रयाँई गरेपनि रोक्ने-छेक्ने कोही हुनेछैन भन्ने कुराले नै उसलाई यो’सर्वोच्च’ खुसीको अवसर मिलेको थियो । पञ्चे नेता उसका हजुरबा अली कडा मिजासका थिए । उनलाई यो गल्ती हो भन्ने लागेमा आईमाई पो किन नहुन् कुटिहाल्थे बुढाले । अनि उनको यो दुर्वासा स्वभावबाट चकचके बसन्ते बच्ने त चान्स नै थिएन । त्यही भएर बसन्तेले आफ्नो हजुरबालाई ‘रावण’ भन्थ्यो ।

‘सुनिस पर्कासे ! रामणको लंका छोडेर हामी अब नयेँ घराँ सर्दैछम् नि !’

उन्मुक्त हाँसो सहित एकपल्ट उसले मलाई सुनाएको थियो ।

……………………………………………………

दशैँ तिहार सकिईसकेको थियो, कात्तिक महिनाको अन्तिम-अन्तिम तिरको दिन थियो । म हाम्रो नारेघरको आँटीमा बसेर पाठ घोक्दै थिएँ ।

नयेँबस्ती दाई दौडिँदै दौडिँदै आए र हतारिँदै आमासंग भने-‘माईजु, गाग्री-बाल्टी जे छ तुरुन्तै दिनुपर्‍यो ! बसन्तेले घरमा आगो झोसेछ, पुरै घर ह्वार्रह्वार्ती दन्किराख्या छ ।’

आमा दौडिँदै भित्र जानुभो र गाग्री लिएर नयेँबस्ती दाईसंगै बसन्तेको घरतिर जानुभो ।

मेरो पनि सातो गयो ।

‘मैले जत्तिको सोच्याथेँ त्यो भन्दा उत्पात धेरै काण्डकारी र उपद्र्याहा पो निस्क्यो त यो बसन्ते !’

जे होस् गाउँका सबै मान्छेहरु जम्मा भएर बसन्तेको घरमा लागेको आगो निभाए । त्यतिन्जेलसम्म बसन्ते गायब भैसकेको थियो । उ भागेर मामाघर गएछ । तीन दिनमा खबर पुगेपछि चौथो दिन मामाघरका हजुरबुवाले उसलाई लिएर आए । त्यतिन्जेल बसन्तेकी आमा र अरु तीन जना भाईबैनीहरु मेरोमा अस्थाई बसाईसराई गरी आएका थिए ।

चौथो दिन बसन्तेको आगमनपछि भने मेरो पनि सातो गयो ।

‘कुनैदिन यो उपद्र्याहाले मेरो घरमा पनि आगो झोस्दियो भने !’

‘अँहँ ! यस्तो सोच्नुहुन्न ।’

‘यस्तो सोच्यो भने झन् साँच्चिकै घरमा आगो लाग्छ रे !’
आफैले आफैलाई चित्त बुझाएँ । अनि डराईडराई बसन्तेसंग सोधेँ-‘ओई बसन्ते, तैँले आफ्नै घरमा कसरी आगो लगाउन सकेको?’

‘साला, चुरोट खान सिक्लाई गर्दैथेँ, पछाडी टौवामा भएको परालले आगोटिप्पिहालेछ, अनि त घर पुरै दन्किईहाल्यो नि !’ एकैसासमा बसन्तेले आफ्नोकुरा भन्यो मलाई ।

‘बसन्ते पाँच कक्षा पढ्दापढ्दै चुरोटको स्वाद लिने भैसकेछ । अब उसको संगत कुनै हालतमा गर्नुछैन मलाई ।’
‘एकपल्ट बाले सल्काउन देको देउराली चुरोट मुखमा हालेर तान्दा राम्रै रामधुलाई भेटेपछी चुरोट खान हुनी कुरा हैन्च भन्नी राम्रो हेक्का छ मलाई।’

मैले मनमै निधो गरेँ ।

मंसिरको पहिलो हप्ता आयो । हाम्रो पाँच कक्षाको जाँच पनि सिद्दियो । म ‘फर्स्ट’ भएँ ।

जेठाबाका छोरा दाईहरुले मलाई मिठाई किनेर दिए । सुमित हलमा लगेर परिवार भन्ने फिलिम पनि हेराए । दिनमा १२ घण्टा मसंगै हुने बसन्ते यतिबेला भने मसंग भेटिएकै थिएन । किनकी बसन्ते फेल भएको थियो ।

मैले सिद्दापाईलाको उकालो दौडेर पुरा गरी टुप्पामा पुगेर लामो स्वास लिएझैँ आनन्द मानेर लामो स्वास लिएँ-‘साला यो बसन्तेबाट बल्ल जीवनमा पहिलोचोटी मुक्ति पाईने भो ।’

म अब गाउँबाट नेवारे स्कुलमा पढ्न जाने भएँ । हाम्रो गाउँको स्कुलमा पाँच कक्षासम्म मात्रै पढाई हुन्थ्यो । बसन्ते चाँही फेरी त्यही स्कुलमा पाँच कक्षामै भर्ना भयो ।

म पास हुँदै गएँ, बसन्तेले कक्षाहरु दोहोर्‍याउँदै गयो । एउटै कक्षामा दुईदुईचोटी फेल हुन थालेपछि उसकी आमाले भनसुन गरेर ‘रिटोट्लिङ’ गराउँदै जेनतेन सात कक्षासम्म पुर्‍याईन् ।

……………………………………………………

‘विनय+संगीता’

पाँचमुले स्कुलको माथ्लोपट्टी, खरबारीमा रहेको केतुकीको पातमा यस्तो अक्षर कोरिएको देखेपछि बसन्तेको चेतसातो उड्यो ।

‘स्याला, आफ्नै साथी सत्तुर भएपछि कसको के लाग्छ? भन्ने बेलामा गौमतिलाई लप पार्‍याछु भन्दैथियो, स्यालाले आँखा मेरीतिर पो लगाको रैच?’

बसन्ते भुनभुनियो अनि आकाशतिर हेरेर फिल्मी स्टाईलमा लामो श्वास फेर्‍यो ।

एसएलसी दिएर म फूर्सदिलो भएको थिएँ । असार नभई रिजल्ट नआउने भएकोले यो गर्मी पहिलोपल्ट निश्फिक्री डुलेर बिताउने योजनामा म थिएँ । किनकी एक कक्षामा भर्ना भएदेखी यति लामो विदा पाएको सम्झना नै छैन मलाई ।

चैत महिनाको अन्तिम-अन्तिम ताकाको समय थियो ।
हाम्रो घर पारिपट्टी पलाँस फूलेर पुरै बन रंगीन भएको थियो, साथमा भर्खर फूलेको आँपको फूलको सुगन्ध नै बेग्लै । मौसम रमणीय थियो जे होस् ।

हिजो मात्रै बसन्ते र मैले बजार गएर ३०-३० रुप्पेका २०-२० वटा पोष्टकार्ड लिएर आएका थियौँ । हाम्रो योजना थियो-गाउँकी राम्री राम्री केटीहरु छानेर हिन्दी फिलिमका डायलग र सायरी लेख्दै नयाँ बर्षको शुभकामना सहितको ग्रिटिङ कार्ड दिने ।

बसन्तेले सुरुमा डायलग लेख्यो-‘हमको तो अपनो ने लूटा, गैरोंमे कहाँ दम था,

किश्ती वहाँ डूब रही जहाँ, आँख में पानी हि नही था !’

अरु पनि खै कुन्नी के के लेखेर संगीताको नाम+आफ्नो नाम लेखेर कार्ड तयार पार्‍यो उसले ।

कार्ड दिन हिँडेको बसन्तेले केतुकीको पातमा ‘आफ्नी’ संगीताको नाम अरुसंग जोडिएको देखेपछि कसरी चित्त बुझाओस् !

१५ बर्ष पुगेर १६ बर्ष लागिसकेपछि अरु साथीहरुले आफ्नो लभ परेको बताईरहँदा मलाई पनि रहर लाग्नु स्वभाविक थियो । यही रहर मैले पोहोर दशैको बेला गाउँमा साँस्कृतिक कार्यक्रम गर्दा बसन्तेलाई सुनाएको थिएँ । बसन्तेले त्यही बेला मलाई कमलालाई देखाउँदै उसंग ‘लप पारिदिने’ आश्वासन दिएको थियो । यसरी बसन्ते र मेरो ‘दोस्ती’ फेरी पाँच बर्षपछि जम्न पुगेको थियो ।

‘ओए बसन्ते ! खै त यार, छ महिना भैसक्यो तैँले कमलासंग मेरो लप पार्दिन्छु भनेको । अहिलेसम्म भेट समेत गरा’छैनस् ।’-मैले बसन्तेलाई भनेँ ।

‘अरे, सुपाघाटको जात्रा हो र लप भन्ने कुरा? भन्ने बित्तिकै केटी भेटिईहाल्यो अनि कामकुरा छिनिहाल्ने?’

बसन्तेले थर्कायो मलाई ।

हुन पनि हो, लभ पार्नु चानचुने कुरा थिएन ।

म बसन्तेका पछि लागिरहेँ । बसन्ते संगीताको पछि लागिरह्यो ।

यही बिचमा नयाँ बर्षको शुभकामना कार्ड दिन संगीताको घर अठारपाटे जाँदैगर्दा बसन्तेले केतुकीको पातमा यस्तो ‘रमिता’ देख्नुपर्‍यो ।

‘अरे यार, कसैले जिस्काको होला । कसैले लेखेका भरमा तँ पत्याउँछस् यो कुरा?
विनय र संगीताको लभ साँच्चै परेको भए गौमति कहाँ गई त?
उसले विनयलाई पर्खिबस्छे त उसभा?’

मैले प्रश्नहरुको भेल सोझ्याँए बसन्तेतिर ।

‘यो पातको मात्र बात कहाँ हो र पर्कासे !’-धर्मेन्द्र स्टाईलमा बसन्तेले भन्यो । आफ्ना बुवा ईण्डियन लाहुरे भएकोले बसन्तेले बुवाले ल्याईदिएका हिन्दी फिलिमका चक्का सुनेर मिथुन, गोविन्दा, अजय देवगणहरुको नक्कल गर्थ्यो अनि मुड अनुसार कमेडी, आक्रोश र हिरोईज्म अभिनयको कौशल मलाई देखाईहाल्थ्यो। एकफेरा यस्तै रामायणको नक्कल गर्ने क्रममा साथीको नाँकको डाँडीमाथी बाँण बर्षाएर आमालाई हजार रुप्पे क्षतिपुर्ति पनि तिराएको थियो बसन्तेले ।

‘अनि के त?’ मैले सोधेँ ।

‘मैले अरुको मुखबाट पनि गाईगुँई सुनेको छु । मुला विनय अचेल गौमतिलाई छोडेर संगीतासंग सल्किएको छ अरे ।’

‘हो र? अब के गर्ने त उसोभा?’

‘के गर्ने नी? पर्सी अठारपाटेमा संगीताको साथीको बिहे छ, उ साथीको बिहेमा पक्कै आउँछे, त्यही दिन उसलाई घिसारेर भएपनि ल्याउनुपर्छ ।’

‘घिसारेरै ल्याउने?’ घाँटीसम्म आईपुगेको प्रश्नलाई मैले त्यतै पचाईदिएँ । प्रश्न माथि प्रश्न गर्दा बसन्ते बम्किन्छ भन्ने मलाई राम्रोसंग थाहा थियो।

बसन्ते र संगीता दुबै आठ कक्षामा पढ्थे । उसो त विनय र गौमति पनि आठ कक्षामै पढ्थे । बसन्ते, संगीता, विनय र गौमतिकै सहपाठी थिई कमला । कमला पनि सुन्दर थिई । उसलाई मन पराउनेहरुको त झन लाईन नै लाग्थ्यो रे । बसन्तेले मलाई सुनाएको मलाई । नेवारेको चार बाहिनीका आर्मीहरु त सिभिल ड्रेसमा स्कुल छेउछाउ आएर कमलाकै लागि दिनभर कुरिरहन्थे रे । यो चाँही विनयले सुनाएको मलाई ।

एकपटक कमलालाई एकजना आर्मीले रगतले लेखेको चिठी दिएछ । कमलाले उसकैअगाडी त्यो चिठी ध्याररररर च्यातेर भन्दिई रे-‘भैँसीको किर्ना मारेर लेखेको चिठी लिएर आईन्दा मेरो अगाडी कहिल्यै नआउनु !’

जहिले देखि मलाई बसन्तेले कमलाको आश जगायो, कमलाले त्यही दिनदेखी सपनामा मेरो मनमा डेरा जमाएकी थिई । मैले मनमनै कमलालाई मन पराएझैँ बसन्ते चाँही संगीतालाई ‘खुल्लम्‍खुल्ला प्यार’ गर्थ्यो । संगीता पनि बेलाबेलामा बसन्तेलाई हेरेर मुस्कुराउँथी रे । यो चाँही बसन्तेले भनेको मलाई । त्यसैगरी विनय र गौमतिको जोडीको बारेमा पनि उनीहरुका साथीहरुले मलाई सुनाएका थिए ।

तर विनय भन्थ्यो-‘त्यो संगीता त्यस्तै हो, जस्लाई देखेपनि हाँस्दिन्छे ।’

बसन्तेको प्लान अनुसार बैसाख ७ गते हामी पाँच-छजना केटाहरु राती सुटुक्क निस्केर अठारपाटे लाग्यौँ । बाटोमा बसन्तेले सबैलाई प्लान सुनायो ।

‘साथीको बिहेका निम्ति संगीता पाँचमुलेबाट अठारपाटे गएकी हुन्छे । रातीबिहेको काम सकिएपछि उसलाई बसन्तेले बाहिर बोलाउनेछ । उ बाहिर आएपछि सकेसम्म बसन्तेले फकाउनेछ । संगीताले मानी भने उसलाई लिएर सबै फर्किने र बिहान झिसमिसेमै बसपार्कमा पुगेर उनीहरुलाई बस चढाई अरु घर फर्किने । त्यसपछि बसन्ते चाँही संगीतालाई लिएर आफ्नो बुवा भएको ठाउँ ‘मसुरी’ पुग्ने । अन्यथा संगीताले मानिन भने उसलाई घिसारेर झ्यान्‍कुटी पारेर भएपनि लिएर आउने र केही दिन बसन्तेको मामाघरमा उसलाई लुकाउने । पछि गाउँभरी हल्ला भएपछि संगितालाई मान्न कर लागिहाल्छ ।’

बसन्तेको प्लानमा सबैले टाउको हल्लाए-मानौँ, जम्बु-कश्मिरमा लड्न तयार सेनालाई उसको क्याप्टेनले आदेश दिँदैथियो ।
सहमति अनुसार उकालो लागेका हामी करिब ढाईघण्टापछि अठारपाटे पुग्यौँ । त्यहाँ बिहेको रौनक थियो । पहिलो झड्का लाग्यो-त्यहाँ बिहे केटीको नभई केटाको रैछ । संगीताले बसन्तेलाई उसको केटी साथीको बिहे भनेकी थिई रे ।

नौला मान्छेहरु बिहेको रत्यौलीमा देखेपछि मान्छेहरुले कानेखुसी र सोधीखोजी गर्न थालिहाले । अनावश्यक सोधिखोजी गर्न थालेपछि बसन्ते पनि रन्कियो । एक त संगीताले झुट बोलेकोमा उसको पारो पहिल्यै तातिसकेको थियो । ख्यालख्यालमै बसन्तेसंग त्यहाँ मादल बजाईराखेको केटाको भनाभन भयो । एकै छिनमा गाउँका अरु केटाहरु पनि आए । उनीहरु खुकुरी नै बोकेरआएका रैछन् । एकजनाले बसन्तेको नाकमा मुक्का हानिहाल्यो । बसन्तेको नाकबाट उलुलु रगतबग्न थाल्यो । अब हामी त्यहाँबाट कुलेलम् ठोक्नुको बिकल्प थिएन ।

बसन्तेले साथीहरुलाई आदेश दियो-‘केटा हो ! फरार !’

हामी गुटुटुटु कुद्न थाल्यौँ ।

पहाडको गाउँ । एकदमै भिरालो ठाउँ । चकमन्न रातिको समय । कुद्न खोज्दा बाटो पनि भेटिएन । उकालोतिर दगुर्दै थियौँ, माथ्थिरबाट ढुँगाको बर्षा हुनथाल्यो । फेरी तेर्सो बाटोतिर कुद्न खोजेको, भर्खरै काटेको चना र गहुँको ठुटाले खुट्टा कोतरेर छियाछिया पार्‍यो । त्यहाँबाट फेरी ओरालोतिर कुदेको सिस्नुघारीमा खस्न पुगियो । ऐया र आत्था भन्दै बसन्तेलाई धिक्कार्दै कुदिरह्यौँ ।

धन्न, भाग्य बलियो रैछ !! जसोतसो त्यहाँबाट भागेर हामी सबै पाँचमुले स्कुल आईपुग्यौँ ।

रात चकमन्न थियो तैपनि अन्दाज लगायौँ, दुई या तिन जति बजेको हुनुपर्छ । बसन्तेको घरजम बसाउने अरु कुनै उपाय नभेटेपछि गाउँतिर फर्कियौँ हामी । त्यसबेला राति आ-आफ्नो घर फर्किने कसैको जाँगर भएन । छिमेकीको टौवामासुत्यौँ सबजना ।

बिहान पख गाँईगाँई-गुँईगुँई गरेको आवाज सुनियो । बिउँझिएर हेरेको त हामी सबैका बा-आमा जम्मा भएका रैछन् ।

खै कस्ले हो, ‘अठारपाटे फलानोको बिहेमा गएर रत्यौली खेल्दै गरेका महिलाहरुलाई हातपात गरे रे बसन्ते, पर्कासे र अरु फलाना फलाना केटाहरुले’ भनेर कुरा लगाईदिएको रैछ ।

कुट्नमात्रै बाँकी राखेर सबैका बाआमाले गर्नुसम्म गाली गरे ।

म अरु कसैसंग नबोलि रुझेको बिरालो जस्तो भएर टौवाबाट उठेर गाविसतिर आउँदै थिएँ । बाटोमा भूपाल भेटियो । भूपाल हाम्रो मिल्ने साथी थियो । उ पनि बसन्तेसंगै आठ कक्षामा पढ्थ्यो । उसले सुनायो–‘थाहा पायौ प्रकाश? हामीसंग पढ्ने संगीता थिई नी ! त्यो त ब्यारेकसंग पोईल गईछ ।’

‘हँ !!! त्यही संगीता? जसको लागि हामी रातिराति अठारपाटे पुग्यौँ रज्यान जोगाएर फर्कियौँ उही संगीता?’ मैले भुपाललाई यो प्रश्न सोध्न जरुरी ठानिन । किन भने उनीहरुसंग पढ्ने संगीता उही मात्र एक्ली थिई ।

टाउको कन्याउँदै मैले पछिल्तिर फर्केर हेरेँ ।
अलि परबाट बसन्ते आँखाको कचेरा पुच्छ्दै हामी भएतिरै आउँदैथियो ।

समाप्त ।

plamichhane98@gmail.com

Twitter : @baabajee

About baabajee

just human
This entry was posted in कथा and tagged , . Bookmark the permalink.

कथा—‘बद्मास बसन्ते’ का 4 वटा प्रतिक्रियाहरु

  1. ranjit भन्नुहुन्छ:

    कथा मनपरो तर लेखाई अलि क्याचि भएन प्रयोग भएका केहि शब्द ‘खोयाबिर्के’ ‘अप्रेशन’ ‘फायर’………. जस्ता शब्दले तपाईको लेखाईमा गिर्खा भेटिए । अलि बच्चापाराको लेखाई भयो ।😀

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )