आँशुका थोपा……


‘कोई त भने जहाजमा हरर

कोई त भने पशिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ

कोईको घरमा डाक्टरको चाकरी

कोई त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ

कोईको भने धनमाथी धनको रास

कोईको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’

बाहिर पानी झमझम् परिराख्याथ्यो, झ्याउँकिरीको झ्याउँझ्याउँ आवाजले कर्कश थपेपनि आमैले ग्यालेन बजाउँदै मलाइ गीत सुनाउँदै थिईन् ।Image

‘ढकढक-ढकढक’

‘ढकढक-ढकढक’

अचानक बाहिर कसैले ढोका ढकढकायो । आमाको गीत झ्याप्पै रोकियो ।

‘ढकढक-ढकढक’

‘ढकढक-ढकढक’

फेरी ढोका ढकढकाएको आवाज आयो ।

को हो?

आमैले सोधिन् ।

म हो म, फणिन्द्र के भाउजु !

बुझ्नै कठीन अनि लर्बरिएको स्वरमा बाहिरबाट आवाज आयो ।

‘अनि यसबेला के भो? कताबाट आउनुभो र ! यस्तो पानी परिराख्याछ खुरुक्क बेलैमा घर जान छोडेर !’-आमैले भित्रैबाट जवाफ फर्काइन ।

‘हेर्नुस न भाउजु । बजारबाट आउँदैथेँ, देविथान डाँडादेखि पानीले धुस्न बनाएर चुट्यो । अनि यसो ओत लागम् भनेर यता छिर्‍या ।’

‘अब के ओत लाग्नुहुन्च यसबेला?  उसैपनि पुरै भिजिसकेँ भन्नुन्च, एकछिनमा त घर पुगिहाल्नुन्च के रे ।’

आमाले फणिन्द्र काकालाइ यति भन्दैगर्दा म भने आमाका काखमा पुषको जाडोमा बिरालो सिरकमा गुटमुटिए झैँ गुटमुटिईसकेको थिएँ । किनकी फणिन्द्र काकासंग मलाइ अति डर लाग्थ्यो।

राताराता आँखा, कालो अनुहार, निला गिँजा अनि निलै ओठ । हरदम रक्सीको नसामा झुलिरहने फणिन्द्र काका ईट्टाभट्टाको चिम्नी जस्तै चुरोट सल्काउँदै बुङ्बुङ्ती धुवाँ उडाउँदै हिँड्थे । मौका पर्‍यो कि हामीजस्ता केटाकेटीका कान निमोठ्ने, कन्सिरीका रौँ तान्दिने र रोएपछि निला गिँजा र नमाझेर खैरा परेका दाँत देखाउँदै अट्टहास हाँस्थे ।

‘हैन के भाउजु, पानीले भिजाएर बेसरी जाडो भो, एकछिन ज्यान तताएर जाम भनेर बोलाको हो, ढोका खोल्नुस न भन्या ।’-फणिन्द्र काकाले कनकन गर्न थाले ।

‘आऽऽऽ हामी आमाछोरा सुत्न लाईसकिम् । भो जानुस खुरुक्क आफ्ना घराँ ।’-आमा च्याँठ्ठिईन् ।

‘कति आमाछोरा मात्रै सुत्नुहुन्छ भन्या भाउजु । दाइसंग पनि सुत्नुस न भनौँ भने दाई ससुराली आएको पाहुना जस्तो दशैतिहार चाडपर्वमा मात्रै आउँछन् । कैलेकाँही बरु हामीसंगैऽऽऽऽऽ’

‘थुईक्क तिम्रा मुखाँ किरा पर्नी । लाजसरम छैन बिजेती? जाँडले मातेर आइमाइ केटाकेटी भाका घराँ रातिराति ढोका हान्दै मुख छाड्दै हिन्चौ? तिम्लाई बाफती ! भाउजु हुम् म तिम्री । बिर्सेउ जाँडका तालमा?’

आमाले रिसको पारो एकैचोटी एकसय पाँच डिग्रीमा पुर्‍याउँदै एकैसासमा भनिन् ।

फर्निचर उद्योगमा हरहिसाब राख्ने काम गर्दै आएको फणिन्द्र नामुद जँड्याहा थियो । हरेक रात उ आएको देविथान डाँडाबाटै थाहा हुन्थ्यो । मध्यरातमा रिस उठेकाहरुलाइ भट्टेसराप दिँदै आउँथ्यो । रातिराति अरुको घरमा पनि ढोका हान्दै हिँड्च अरे, अरुकी छोरी-श्रीमतिहरुको हात तान्न पनि पछि पर्दैन अरे भन्ने कुरा मैले पनि सुन्थाथेँ ।

आमाले हकारेपछि फणिन्द्रे हाम्रो खलामा मुखमा आएजतिको गाली गर्दै कराउन थाल्यो । फणिन्द्रेले सुन्न नसक्ने बोल्न थालेपछि आमाले मेरा दुबैकान थुनिदिईन् । म पनि फणिन्द्रको डाको सुनेर सातो फाल्नुभन्दा यहि ठिक लाग्यो अनि आमाकै जाँघमा घोसेमुन्टो लाएर पल्टिईरहेँ ।

…………………………………………………………………

बिहान अबेरसम्म सुत्ने मेरो बानीका कारण दिनहुँ आमाको गाली खानुपर्थ्यो । चिसो बतासले  जिउमा छुँदैगर्दा फेरी ढोका ढकढकाएको सुनेँ । फणिन्द्रेले फेरी ढोका हान्यो भनेर मेरो सातो गयो । जुरुक्क उठेर आमालाई हेरेँ, झ्यालको कापबाट बिहानको कलिलो घामको उज्यालो मेरो आँखैमा पर्‍यो । बिस्तारै छेउछाउका चिजबिज देखिन थाले ।

ढोका त आमैले पो ढकढक गर्दैरैछिन, त्यो पनि भित्रबाट !

‘के भो आमा?’-मैले सोधेँ ।

‘फणिन्द्रेले ढोका थुनेर मरेछ हाम्लाई । अब कसरी ढोका खोल्नु? त्यैपनि क्वैले सुन्चन कि भनेर घरि ढोका ढकढक्याईछु घरि मान्छे बोलाईछु । क्वैले सुन्दैनन् के रे !’

म एक्कासी क्वाँक्वाँ रुनथालेँ ।

यै ! किन रुन्चस? क्वैले न क्वैले त ढोका खोल्दिहाल्च नि । हामी  के बर्षभरि थुन्निचम् र !

संजोगबस म रोएको अचार्जा ठुलाबाले सुनेछन् । उनी बिहान बिहान गाउँका प्राय सबैका घरमा हालखबर, सन्चोबिसन्चो सोध्दै हिँड्थे ।

‘नाँई के भछ हँ आज यो घरकालाई? बाइरा’ट ताल्चा पड्काछ, भित्र मुन्छे बोल्चन फेरी?

‘भिनाजु, हामी यता भित्र छम् । शत्तुरले थुनेर मर्‍यो । लौन ढोका खोल्दिन पर्‍यो ।’-आमाले अचार्जा ठुलाबासंग नेपथ्यबाटै बार्ता गरिन् ।

‘नाँईऽऽ को साँईदुवा हो हँ त्यो यसरी बालबच्चा, आईमाई केटा’टीलाई ढोका थुनेर मर्नी !’

अचार्जा ठुलाबाले रिसले भुन्भुनिँदै ढुँगाले हानेर ताल्चा फोडे अनि ढोका खोले । आमाले हिजोरातिको घटनाको बेलिबिस्तार लाईन् ।

‘त्यसै छोड्न हुन्न हेर राँईली ! त्यस्ता बाफतीको भर हुन्न । आज ढोका थुन्यो । भोलि जे पनि गर्नसक्च । त्यो दुदेबच्चो र तिमी मात्रै छौ घराँ । क्यै परिहाले बोलाम भन्नपनि छिमेकाँ घरै छैनन् । बोलाको पनि कोले सुन्नी? उता भाइ जागिरे छन्, उनलाई तिमोरु कसरी बस्याछौ थापत्तो क्यै हुन्न । बेलाँ ठेगान नलाए त्यस्ताले दिनदिनै दु:ख दिनसक्चन । कुरा बुझ्यौ?’-अचार्जा ठुलाबाले आमालाई भने ।

‘हुन त हो भिनाजुऽऽऽ तर….’ आमाको आक्रोश एकाएक सेलाएर भयमा बदलियो  ।

‘आज तातो रिसका भरमा कचरी बसालम्ला वा पुलिसलाई खबर गरम्ला तर भोलि बस्नु त यै समाजाँ छ । मन परुन्जेल न मान्छेले मलाई राम्रो भन्नीहुन् । मन नपर्दाका दिन फलानीलाई त फल्नाले यस्तो गर्‍या हो नि भन्दै झन् गाउँभरी ब्वाँईब्वाँई बदख्वाँई गर्दै हिन्चन । त्यसमाथि मलाई बेजेत गरि भनेर त्यो बौलाहाले पनि जेपनि गर्न सक्च । बाबु स्यानो छ । भो भिनाजु दु:ख बेसाउँदिन म।’-आमाले यति भनेर आँखाबाट तप्प आँशु झारिन् ।

आमाले भनेका यतिका भारी शब्द नबुझेपनि आमाका आँखाबाट आँशु झरेको देखेर मेरो मन पनि थामिएन । म पनि रोएँ तर आमा जस्तै मौन हुन जानिन अनि चिच्याउँदै रोएँ ।

……………………………………………………………………………

एक्ली महिला आफ्नो जवान उमेरमा काखमा बच्चा चेपेर घर गरिखान निकै गाह्रो थियो आमालाई । फणिन्द्रजस्ता गिद्देदृष्टि भएका यौनपिपाशुहरु गाउँघरमा बिभिन्न नातापाताको खोल ओढेर भौँतारिइरहेका हुँदा रहेछन् । ती कहिले दाजुभाई भएर आउँछन् कहिले देवर जेठाजुभएर आउँछन् । मैलेपनि यस्ता थुप्रै कथित नातेदारहरु देखेँ । तर नाता परिवार समाज अनि स्वयं आफ्ना पतिको बिश्वास नगुमाउन अपमान पीडा खपेर बसिन आमा । आमाका यीनै कुराहरुको चस्मदित गवाह बनेर बाल्यकाल ब्यतित गर्दै किशोर अनि यौवनावस्थामा प्रवेश गरेँ म ।

समय फेरिईसकेको थियो, देशमा प्रजातन्त्र आइसकेको थियो, आमाको काखमा म मात्र एक्लो थिइन मेरो भाइले पनि हैकम जमाइसकेको थियो अनि बाको सरुवा पनि  घरपायक नभएपनि कम्तिमा जिल्लामा भइसकेको थियो तर एउटै कुरा फेरीएको थिएन-‘म मेरी आमा र भाईको जर्किन बजाएर साँझसाँझमा गीत गाउने अनि पालैपालो नाच्ने रमाइलो गर्ने आदत् ।’

म नाचेर सक्दैथिएँ । अब नाच्ने पालो भाइको थियो ।

गीत उनै गरिबि अभाव र पीडाकै थियो-

झरनाको चिस्सो पानीऽऽऽऽऽ

सुकेर जाँदैनऽऽऽऽऽ रोकेर रोकिँदैनऽऽऽ

बारी खेप्ने खेतालाको यै हो जिन्दगानी
झरनाको चिस्सो पानीऽऽऽऽऽ

‘भाउजु !’

हाम्रो गीत रोकियो ।

बाहिर बसन्त अँकल आएका रहेछन् ।

‘ओहोऽऽऽ बाबुहरु पनि घरमै रैछन त ! ठुल्बाबुको त आईए फस्ट ईयरको जाँच आउन लाग्यो अनि बजारतिरै डेरा लिएर ट्युशन पढ्न लाग्या भन्या हैन र ?’

‘हो क्यारे अँकल हुन त । तर कैलेकाँही घर आउन मन लागिहाल्छ नि ! ‘

बसन्त अँकल टुसुक्क पेटीमा बसे ।
आमाले पिर्का दिईन ।

अघिपछि मसंग राजनितिक बहस गर्न रुचाउने, देशविदेशका खबरको जानकारी र टिप्पणी लिन रुचाउने बसन्त अँकल आज अलि फरक जस्तै देखिएका थिए ।

‘के भो बसन्त बाबु? सन्चो भएन कि? अथवा अरु केही तनाव भो कि? आज अलि अर्कै देखिनुभाछ त !’-आमाले सोधिन् ।

बसन्त अँकल केही बोलेनन् ।

केहीबेरको मौनता चिर्दै बोले-‘एक अम्खोरा पानी दिनुस् न भाउजु, साह्रै खरो भो ।’

आमाले पानी दिईन् । उनले पानी पिए क्वाँकक्वाँकक्वाँक घाँटी बजाउँदै ।

एकछिनपछि लामो स्वास फेर्दै बसन्त अँकल घरतिर लागे । भाई निन्द्रा लाग्यो भन्दै सुत्न गयो ।

‘आमा म एकछिन क्लबको अपिसमा पुगेर आउँचु है !’-मैले भनेँ ।

‘यस्बेला केको क्लब स्लब होला फेरी ! खुरुक्क सुत् । दिनकाल राम्रा छैनन् । गाउँमा रातिराति माउवादी आउँचन अरे । धेरैबेर बसेर हल्लाखल्ला गर्न ठिक छैन अब ।’-आमा भुन्भुनाउँदै थिईन म निस्किहालेँ ।

एकछिन क्लबमा बस्दैगर्दा जिल्लामा हुन लागेको महिला हिँसा सम्बन्धी गीत प्रतियोगिताका निम्ति मैले लेखेको गीतमा साथीहरुले लय र संगीत भर्ने काम हुँदैथियो । अचानक कोही चिच्याएको स्वर सुनियो । क्लबमा भएका हामी सबै बाहिर निस्कियौँ । आवाज मेरै घरतिरबाट आएको थियो ।

म दौडेर घरमा पुगेँ । भाइले बसन्त अँकलको कठाँल्नो समातेर थप्पड लगाउँदै थियो । बसन्तकी श्रीमति गुहार माग्दै थिईन् । आमा बडो भयभित मुद्रामा आँखाबाट बलिन्द्र आँशु चुहाउँदैथिइन । करिब २५-३० जनाको जमातले मेरो घरको खलो भरिएको थियो ।

मैले एकछिन केही मेसै पाउन सकिन कि यहाँ के भैरहेछ भनेर ।

भिडबाट कुनचाँहीले भनेको आवाज मेरो कानमा गुञ्जियो-यो उमेरमा यसरी आमा समान भाउजुलाई कुदृष्टि लाउने? धन्न कान्छो छोरो संगै रहेछ र अनिष्ट हुन पाएन ।  कतिसम्मको पातकी होला यो मान्छे?

बश् पुग्यो मलाई ! मैले ब्रमाण्डका सारा ग्रह-उपग्रह, तारापुञ्ज, नक्षत्र सबै आफ्नै आँखा अगाडि नाचिरहेको देखेँ । सुर्यको दशौँ हज्जार डिग्रीको तातोले पोलेको अनुभुति भो जिउमा । धरहराजस्ता सातवटा स्तम्भबाट खसेको जस्तो शिथिल अनि थनथिलो भो ज्यान । अचानक बिद्युतिय उपकरणजस्तो स्वचालित हुँदै मेरो हात कतिखेर उठेर बसन्तको नाक्चोमा बजारिन पुगेछ पत्तो पाईन मैले । मेरो हातले उसको नाकबाट रगतका मुस्लाहरु निकाल्न नपाउँदै उ भाईको पञ्जाबाट फूत्केर कुलेलम ठोकेछ ।

पटकपटक यस्ता सानातिना झमेलाबाट त्रस्त तथा ग्रसित र आजित भएको मेरो मानसिकतामा यो घटनाले आक्रोशको ज्वारभाटा पैदा गरिदियो । मैले मर्नु या मार्नुको बिकल्प देखिन त्यस क्षणमा । बहुलाएको शिँहजस्तो भएका हामी दुईभाईलाइ कसोकसो मानिसहरुले थुनेर राखे । उता बसन्ते भने भागेर गाउँ छोड्यो ।

कुरा एक्कान दोक्कान मैदान हुन कतिबेर लाग्छ र गाउँघरमा ! मानिसहरु मेरी आमालाई ‘चरित्रहीन’को आरोपदेखि बलात्कृत महिलाको रुपमा ‘बिचरा पात्र’को  रुपमा सहानुभूति प्रकट गर्नेसम्मका गफ गर्न भ्याए । चियाचौतारो देखि पानीपँधेरोसम्म मेरो आमामाथि हुनखोजेको तर परिस्थितिले टारिदिएको बिषम घटना ‘हटकेक’ बिषय बन्यो कुराकानीका निम्ति । केहीले आमालाई माओवादीको जनअदालतमा मुद्दा हाल्न उकासे भने केहीले मलाई नै भुमिगत भएर बदला लिन उकासे अनि माओवादीका केही क्षेत्रिय स्तरका नेताहरुसम्म पुर्‍याए पनि ।

शरिरमा त आमालाई नङले कोतरेको दागसम्म थिएन । हुन पनि करेसामा लुकेर बसेको बसन्तेको पञ्जाबाट भाईले उनलाई सकुसलै उद्दार गरेको थियो । तर उनको मनमा लागेको चोटको पीडा उनकै गर्भमा नौ महिना उफ्रेर या उनकै दुधका लाम्टा चुसेर हुर्केका चिम्टाका दुई कप्टेराजस्ता हामी दाजुभाईले त बुझ्न सकेका थिएनौ गहिरिएर भने अरुले कसरी बुझ्थे र !

आगोले पोलेको घाउको उपचार के करेन्ट हुन सक्छ र ! कोही कुरा काटेर हामीलाई अपमान गर्न खोज्ने त कोही सुझाव दिएर साख्खिलो बन्न खोज्ने । सबैका सबैखाले कुरा सुन्दासुन्दा मेरा कानबाट पीप निस्किन मात्रै बाँकी थियो । यस्तैमा एकदिन मसंग बाले एक्लै कुरा गर्ने ईच्छा राखे । यतिका दिनसम्म बदलाको ज्वारभाटाले उमालिरहेको मेरो मनमस्तिस्कले बाको कुरा सुन्ने फूर्सदै कहाँ पाएको थियो र !

बाको कुरा सुन्दै गर्दा अचानक मेरा हातखुट्टा लुलिए । म थुचुक्क भुईँमा बसेँ । आजसम्म मैले ‘छोई नबिराउने’ भगवान् मानेको मेरो बाको मुखबाट यो परिस्थितिमा त्यस्तो कुराको अपेक्षा गरेको थिईन मैले । गाउँघरका मानिसहरुको कुरा सुनेर हो या आफ्नै मनमा उब्जेको शँकाकै कारणले हो बाले भने-‘यदि तिमीहरुलाई आफ्नी आमा साँच्ची चोखि छैनन् भन्ने लागेको छ भने मलाई कुरा नलुकाई भन है ! म उसलाई ससम्मान आधासम्पति दिएर बिदाई गर्छु ।’

बास्तवमा बाले पनि समाजकै लोकलाजका सामु आत्मसमर्पण गरेका रहेछन् तर म मेरी आमालाई न्याय नदिलाई नछोड्ने अटोठमा थिएँ । मेरो अठोट र आक्रोशमा कतिले मलजल हाले भने कतिले रिस खा आफू, बुद्दी खा अरु भनेर सँयमित हुन पनि आग्रह गरे । तर केहीले मेरो आक्रोशले काम बिगार्ने भन्दै बालाई भनेपछि अन्तत: आमालाई गाली बेईज्यतिमा मुद्दा दायर गर्न बा लगायतका अगुवाहरुले मनाएर उजुरी दिन गए ।

…………………………………………………………………………

बेलुकीपख घाँम डाँडामाथि अस्ताउने तर्खर गर्दैथियो । बाँसघारीमा डाँङ्ग्रेहरु खुब झर्को लाग्नेगरी कराउँदै थिए । म घरको बार्दलीमा बसेर खै के गर्दैथिएँ कुन्नी । खलामा बा-आमाका साथमा एकहुल मानिसहरु आए । म बार्दलीबाट ओर्लेर तल गएँ अनि उजुरी दिएको बारेमा सोधेँ । आमाले आफ्नो झोलाबाट एउटा पट्याएर राखिएको पातलो पहाडी कागत झिकेर मलाई दिईन् । त्यसमा लेखिएको लामो कानुनी भाषा झर्को मानिमानी पढ्दैजाँदा एकठाउँमा पुगेर मेरो स्वास झण्डै रोकिएला झैँ भयो । त्यहाँ लेखिएको थियो……….. आगे सोही गाविस सोही गाँउटोल निवासी बर्ष ४३ को बसन्तले जबरजस्ती करणी गरेको………………’ म एक्कासी चिच्याएँ ।

‘यो के लेखाको?’

‘खै तेरा बा, जेठाबा र अरु सप्पैले यस्तो लेखेपछि कडा सजाय हुन्छ, उ उम्किन नपाउने गरी जेल जान्च भने के रे अनि मैले मन नलागि नलागि सहि गर्दिएँ ।’

आमाले यति भन्दाभन्दै मैले त्यो कागत धर्‍यातधुरुत च्यातिदिएँ ।
‘हुँदै नभएको कुराले मान्छेलाई कत्रो पिरलो छ तपाँईहरु यसलाई मजाक ठान्नुन्च? जे भएको हो त्यो लेखाएर मुद्दा दर्ता गर्न सकिन्थेन?’

मेरो प्रश्नको जवाफ कसैले दिएन । मेरो आमाको काँधमा बन्दुक राखेर बसन्तेसंगका अरु राजनितिक प्रतिशोध पुरा गर्न खोज्नेहरुले सायद मौका यहि हो भनेर मेरा बाआमालाई फकाएर नभएको झुठा ब्यहोरा लेखाई दुर्ब्यवहारको सट्टा करणी नै उल्लेख गरिदिए मुद्दाको खोस्टोमा । उनीहरुले पीडामाथी पीडा थोपर्दै आत्मसम्मान नै नरहने गरी कागजी रुपमा बलात्कृत बनाइदिए मेरी आमालाई ।

मलाई झन् असह्य भो तर के गर्नु ? मैले अरु बिकल्पहरु पहिल्याउनै सकिरहेको थिईन त्यस बखत् ।

दिनहरु बित्दै गए । घटनाहरुमाथि खेल्ने खेलाडीहरुले बाआमासंग कहिले एकल कहिले सामुहिक वार्ता गरिरहे दिनानुदिन त कहिले एकैदिनमा तीनचार पटक । अन्तत: मिलापत्रमा कुरो टुँग्याउने सहमति भो । आमालाई लुरुलुरु अघि लगाएर एक जमात अदालतमा पुगेर मुद्दा फिर्ता गराएर आयो । घरमा कचहरी
Imageबस्यो । बसन्तेले ‘मदिराको नसामा थाहा नपाएर त्यस्तो गरेको’ भनेर माफी माग्यो । आमा मौन नै थिईन । भेलाले कुरा मिलेको निश्कर्ष निकाल्यो ।  मान्छेहरुले कुनै राजनितिक पार्टीको चुनाबी घोषणा सभामा झैँ पररर ताली बजाएर भेलाको निश्कर्षलाई अनुमोदन गरे र बसन्तेले भेलामा जम्मा भएका सबैलाई च्या-खाजा खुवायो ।

आमाले भिडको कुनाबाट आँखाका डिलमा डम्मै भरिएका आँशुका थोपा बर्ररररर भुँईमा खसालिन ।

बश् मैले लामो सास फेर्न बाहेक अर्थोक केही गर्न सकिन ।

About baabajee

just human
This entry was posted in कथा and tagged , , . Bookmark the permalink.

आँशुका थोपा…… का 2 वटा प्रतिक्रियाहरु

  1. Junu Ghale भन्नुहुन्छ:

    समाजमा घटिरहने वास्तविक घटनालाई राम्रो सँग उतार्नु भएको रहेछ । मन छोयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )