सोसल मिडिया: प्रयोग र प्रवृत्ति


केही साता अघि पत्रकार एवं लेखक लेनिन बञ्जाडेले ट्विटरमा एउटा ट्विट गरे । नेपालका एक प्रतिष्ठित ब्यापारीको नाम बहुचर्चित पत्रिका फोर्ब्सले निकाल्ने अरबपतिहरुको लिष्टमा चढेको खबरले बजार तताएको समयमा गरिएको लेनिनको उक्त ट्विट थियो – ‘नेपालमा एउटा होइन, हजारौं ‘अरब’पति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओच्छ्यानमा सुत्छन् ।’ लेनिनको यो ट्विटलाइ १६० जनाले (यो लेख लेख्दासम्म) रिट्विट मात्रै गरेनन ३७ जनाले फेवरेट गरे भने ५ मार्च २०१३ का दिन गरिएको यो ट्विटको सवालले त्यतिखेर ट्विटरको टाइमलाइन नै ततायो अर्थात दिनभरको बहसको बिषय भयो ।

यस अघि २२ जनवरी २०१३ का दिन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको एउटा ट्विट थियो-‘Friends, we have just managed to reduce load-shedding by 2 hrs, from today. I promise, it won’t exceed 10-12 hrs this winter.’ लोडसेडिङको चरम मारमा परेका नागरिकले प्रधानमन्त्रीको यस्तो ट्विट भेटेपछि रिट्विट नगर्ने कुरै थिएन, तुरुन्तै २२५ रिट्विट र १०६ फेवरेट (यो लेख लेख्दासम्म) भइहाल्यो । प्रधानमन्त्रीको यो ट्विटका पक्ष र बिपक्षमा पनि थुप्रै कृया प्रतिकृयाहरु आए । प्रधानमन्त्रीको यो ट्विटको प्रतिकृयामा पत्रकार कृष्ण भट्टराईले ‘तपाईंबाट हामीले धेरै आशा राखेका थियौं, छौं र राखिरहने छौं, देशमा केही गरेर देखाउने अवसरलाई सदुपयोग गर्नुहुनेछ भन्ने आशा छ ।’ भनेर लेखे भने भकुंडेले लेखे- ‘पैल्यै दुई घण्टा बडाएर पछी घटाको जस्तो गरेका, हाम्लाई खाल्डाँ हालेका प्रमले, कम्ताका चतुरे छन ईनी !’

दुइसाता अघि ट्विटरमा अनन्त कोइरालाले लगातार दुइदिनसम्म एउटा बहसमा ब्यस्त ट्विटरको टाइमलाइनलाइ अर्कैतिर मोडिदिए । एकदिन ‘एक जमाना थियो‘ भनेर अर्को चाँही ‘वाह मोमो’ । यी दुइदिन अनन्तले सुरु गरेका यी दुइ कुरामै ट्विटरमा धेरै मानिसहरु अल्झेको देखियो ।

माथिका यी तीन घटनाहरु त यो आर्टिकलको लेखकले देखेका केही प्रतिनिधिमूलक घटनाहरु मात्रै हुन । सोसल मिडियाको बढ्दो प्रभावसंगै यसले मानिसको आनीबानी र बिषयबस्तु प्रतिको रुचीमा पनि फेरबदल ल्याइदिएको छ । हिजो चिया पसल र पत्रिका पसलमा बसेर घण्टौ गफिन रुचाउने युवा जमात यतिबेला फेसबुक र ट्विटर जस्ता सामाजिक संजालमा घण्टा बितेको पत्तै पाउँदैन । सामाजिक संजाल आफ्ना अभिब्यक्तिहरु अरुमाझ लैजाने थलो मात्रै बनेको छैन अरुका धारणाहरु बुझेर त्यसमा थप प्रतिकृया र सहमति असहमति प्रकट गर्ने माध्यम पनि बनेको छ । साथै आफुले गर्न लागेको काम प्रति अरुको साथ र समर्थन जुटाउन र सामुहिक अभियानहरुलाइ सफल बनाउन पनि यसको प्रयोग बढिरहेको छ । तर बिषयबस्तुको सहि ढंगले चयन गर्न नजान्दा र सामाजिक संजालमा आफ्नो रुची र क्षेत्रसंग नमिल्ने मानिसहरुलाइ साथी बनाउँदा कहिलेकाँही नचाहिने बिषय र झमेलाले गाँजेर आफूलाइ थप तनाव पनि हुनसक्छ । फेसबुक र ट्विटर दुबै चलाउने किरण अधिकारी भन्छिन,-‘सामाजिक संजालमा आफ्नो रुचीसंग मेल खाने साथीहरु परेनन भने अरुका अनाबश्यक ट्याग, अनावश्यक ट्विट र स्टाटसले तनावै बनाउने रहेछ ।’ उनी थप्छिन,-‘केही साता यता कहिले मलेसियामा भएको झडपका नाममा त कहिले मरिसकेका ब्यक्तिलाइ सम्झिने नाममा मसंग नेटवर्कमा भएका ब्यक्तिहरुले फेसबुकमा राखेका फोटो र स्टाटसले दिक्कै पारिरहेको छ मलाइ ।’

पछिल्ला दिनहरुमा सामाजिक संजालमा अरुलाइ बदनाम् गर्नेगरी र हिँसाका तस्विरहरु राखेर सक्दो शेयर गरौँ भनेर आइरहेका तस्विरले पनि मानिसलाइ दिक्दार बनाइरहेको छ । गतहप्ता मात्रै फेसबुकमा नेपाली काँग्रेसका युवा नेता गगन थापासंग जोडेर ‘खसीको मासुको सातसय रुपिँया लिने‘ भनेर तथानाम गाली गरेको स्टाटस देखिएको थियो ।Image

सोसल मिडियाका जानकार पत्रकार उज्वल आचार्य सोसल मिडियामा सबैभन्दा धेरै राजनितिका कुराहरु हुने बताउँछन् । राजनिति जुन बाटोमा गइरहेको छ त्यसैको परिणामस्वरुप ब्यक्तिका कुण्ठा र दिक्दारीहरु आफ्ना ट्विट, ब्लग तथा स्टाटसमा झल्किने उज्वल आचार्यको भनाइ छ । उनी भन्छन्-‘ सोसल मिडियामा अन्तरकृयात्मक छलफलका लागि नयाँ बहस भन्दा पनि बजारमा आएका अरु समसामयिक बिषयमा प्रतिकृयात्मक टिप्पणी बढी हुन्छ भन्दा फरक नपर्ला ।’

त्यस्तै अर्का पत्रकार लेनिन बञ्जाडे भन्छन्-‘ हामीकहाँ सोसल मिडियामा हुने बहसलाइ नम्बरिङ गर्ने हो भने एक नम्बरमा राजनीति, दुइ नम्बरमा समसामयिक विषयवस्तु, तीन नम्बरमा खेलकुद र चार नम्बरमा साहित्यका कुराहरु पर्छन होला।’

कहिलेकाँही सेलाएजस्ता या कतिपय आफ्ना गन्थनमन्थनमै अल्झिएका सोसल मिडियाका प्रयोगकर्ता बिच अधिकाँश मुलधारका मिडियामा आएका समाचार, लेख या अरु सामग्रीहरु बिषयका रुपमा देखा पर्छन र प्रयोगकर्ताहरु त्यतै अल्झिएको जस्तो पनि देखिन्छ । जुन कुराको उदाहरणका रुपमा हामी अभिनेत्री निशा अधिकारीको सगरमाथा चढ्ने प्रकरणलाइ पनि लिन सक्छौँ । निशा सगरमाथा चढ्ने र उनीलाइ सगरमाथा चढाउन बिभिन्न बित्तिय संस्थाहरुले सहयोग समेत गरेको समाचार मिडियामा आएपछि ‘कर्पोरेट रेस्पोन्सिबिलिटी’को चर्चा गर्ने ब्यावसायीहरु प्रति लक्षित गर्दै धेरै प्रतिकृयात्मक ब्लग, ट्विट तथा स्टाटसहरु लेखिएका थिए । साथै कतिपय अवस्थामा समाजमा भएका अरु घटनाक्रम प्रतिका चोटिला टिप्पणी र प्रतिकृया पनि हामीले सोसल मिडियामा देख्न सक्छौँ । यसको उदाहरणका रुपमा प्रचण्ड पुत्र प्रकाश दाहालको बिहे प्रकरण र अकुपाइ बालुवाटार अभियानका क्रममा शिवानीसिँह थारुले ४ जनवरी २०१३ का दिनमा लेखेको बलात्कारीहरुको लिङ्ग काट्ने महिलाको स्क्वाड बनाउन पाए… भन्ने ट्विटलाइ पनि लिन सक्छौँ ।

कहिलेकाँही प्रयोगकर्ताहरुले मनोरञ्जनका लागि थालेका बहसहरुले पनि निकै चर्चा पाउने गर्छन् । माथि उल्लेख गरिएको अनन्त कोइरालाले थालेको ‘वाह मोमो’ र ‘एक जमाना थियो‘ भन्ने बहस त्यस्तै थियो । ह्यासट्याग(#) राखेर ट्विटरमा अनन्तले सुरु गरेको बहस निकै चर्चित बन्यो । यस बिषयमा अनन्त भन्छन्-‘ ह्यासट्याग राखेर बहस गर्नु खासमा ट्रेण्डिङ्कै लागि हो जुन प्राय: एउटै टपिक/शब्दमा बढी ट्वीट भएपछि त्यो शब्द ट्रेण्ड हुन्छ, तर यो विशेषगरी अंग्रेजी शब्दहरूमा हुने हुँदा हाम्रो लागि उपयुक्त नहुन सक्छन् । त्यस्तो बेला हाम्रो आफ्नै मौलिक ट्रेण्ड बनाउँ भनेर ट्वीट गर्ने हो, तर हामीचाहि विशुद्ध रमाइलोका लागि र एउटै बिषयमा सबैको अनुभव बाँड्न त्यस्तो गर्छौं ।’

सामाजिक संजालको महत्व भनेकै बिचारहरुको विविधता हो तर सामाजिक संजालमै कहिलेकाँही बिचारहरुको विविधतालाइ स्विकार्न या अरुको अस्तित्वलाइ स्विकार्न नसकेका कारण मानिसहरुको झगडा पर्ने र झगडा कै कारण अनफलो, ब्लक या अनफ्रेण्ड गर्ने चलन पनि छ । तर अधिकांश अवस्थामा सामाजिक संजालमै समेत ‘बिचारको सिण्डिकेट’ छ भनेर यसका प्रयोगकर्ताहरु पनि गुनासो गरिरहेका हुन्छन् । तर बहस एकातिर मोड्नका लागि या ‘बिचारको सिण्डिकेट’ स्थापित गर्न पनि त्यति सजिलो भने छैन । यसका लागि या त धेरै भन्दा धेरै फलोअर भएको हुनुपर्‍यो या त अरुको पुरै ध्यान आफूतिर खिच्नसक्ने अभिब्यक्ति राख्न सक्नुपर्‍यो । कतिपय ब्यक्तिले यसकै लागि समेत आफ्नो एकाउण्टको नाम अरु भन्दा अलि फरक पहिचान सहितको र भाषा पनि सकेसम्म अरुको भन्दा फरक बनाउने गरेको पनि देखिन्छ । खासगरी ट्विटरमा यो चलन बढी देखिन्छ । उदाहरणका रुपमा हामी काकाबाभकुँण्डेभँगेरोमाइला साहुपुजारीपागलबस्तीमान्ठा, लगायतलाइ लिनसक्छौँ ।

ट्विटरमा धेरै फलोअर भएका नेपालीहरुका बारेमा केही समय अघि नेपालीटाइम्स साप्ताहिकले ट्विटरका टप टेन नेपालीहरु भनेर एउटा सूची समेत निकालेको थियो भलै उक्त सूचीमा धेरैले असहमति समेत प्रकट गरेका थिए । उक्त साप्ताहिकले निकालेको सूची अनुसार एक नम्बरमा न्यूयोर्कमा बस्ने नेपाली मूलका फेसन डिजाइनर प्रवल गुरुङ थिए भने पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई सूचीको तेश्रो नम्बरमा थिए ।

बाबुराम भट्टराईको प्रवेशसंगै ट्विटरमा राजनितिज्ञहरुको प्रवेश पनि बढेको देखिन्छ । पछिल्लो समयमा निलाम्बर आचार्यदेवेन्द्रराज पाण्डेकमल थापारविन्द्र अधिकारी लगायतका राजनितिज्ञ र नागरिक समाजका प्रतिनिधिहरु ट्विटरमा सक्रिय देखिन्छन । यसअघि गगन थापासरिता गिरिहरुमात्र ट्विटरमा सक्रिय थिए । राजनितिज्ञहरुको ट्विटर प्रवेशपछि राजनिति फोहोरी खेल भनेर टिप्पणी गर्नेहरुले पनि यी राजनितिज्ञहरुसंग अन्तरकृया गरिरहेको देखिन्छ ।
सामाजिक संजाल आफ्नो रुची अनुसार नै प्रयोग गर्ने हो । तर प्रयोगका नाममा अरुमाथि अनावश्यक बिषय थोपर्ने या आफ्ना कुराहरु मात्रै लाद्दा पनि संजालमा आवद्द आफ्ना मित्रहरुमाझ अलोकप्रिय भइन सक्छ । तसर्थ प्रयोगकर्ताले सोसलमिडियाको महत्व बुझ्दै आफ्नो मौलिक पहिचान बनाएर अरुका कुरा सुन्ने, आफ्ना कुरा भन्ने र स्वस्थ बहस गर्ने माध्यमका रुपमा यसलाइ उभ्याउन सके मूलधारका मिडियाले ल्याउन नसकेका तथ्य र सुचनाहरु ल्याउने श्रोत र बैकल्पिक मिडिया बन्न सक्छ सोसल मिडिया । 

About baabajee

just human
This entry was posted in Article, Article and tagged , , . Bookmark the permalink.

सोसल मिडिया: प्रयोग र प्रवृत्ति को एउटा प्रतिक्रिया

  1. sulav dahal भन्नुहुन्छ:

    Devendra Raj Pandey lai ajhai rajnitigya vanna milla ? just a curiousness🙂

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )