खुल्ला दिसामुक्त गाउँ घोषणा अभियान र निशाको सगरमाथा यात्रा


गतसाताको एउटा पत्रिकामा गृहजिल्लाको समाचार देखेँ । आफ्नो गृहजिल्लाको समाचार देखेपछि त्यो समाचारमा ध्यान गइहाल्यो किनकी गृहजिल्लाको समाचारले कस्को पो ध्यान नतान्ला र ! समाचार के रहेछ भनेर पल्टाएर हेरेँ । ओहो ! सुखद समाचार पो रहेछ : ‘५० गाविस रहेको सुर्खेत जिल्लामा खुल्ला दिसा मुक्त गाविसको संख्या १९ पुगेको छ । सुर्खेत जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिसक्ने लक्ष्यस्वरुप खुल्ला दिसा मुक्त गराउने अभियान चलिरहेको छ । सन् २०१७ सम्म मुलुकलाई नै खुल्ला दिसा मुक्त बनाउने राष्ट्रिय लक्ष्य बनाइएको छ ।’

यो समाचारले अरुलाइ खुसी कत्तिको बनायो थाहा छैन मलाइ चाँही खुसी नै बनायो । किनभने आज भन्दा १५-२० बर्ष अघि घरघरमा चर्पी बनाउँ भनेर हामी टोलटोलमा नाटक देखाउँदै हिँड्थ्यौँ सुर्खेतका विभिन्न गाउँहरुमा । चर्पी नहुँदा मानिसहरु जताततै शौच गरिदिन्थे । गुहु गनाएर बाटोमा हिँड्न सकिँदैनथ्यो । ‘गुहु आयो कि गाउँ आयो’ भनेझैँ लाग्थ्यो । अँझ खासमा त मानिसहरु धून सजिलो हुन्छ भनेर पानीका मुहान भएतिरै गएर आची गर्थे । तर यतिवेला भने सुर्खेतमा खुल्ला दिसामुक्त गाउँ घोषणा अभियानले तिब्रता पाएको रहेछ ।
पछिल्लो पटक गएको शुक्रवार सुर्खेतको गढि गाविसलाई पनि उत्सवका बीच खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएपछि खुल्लादिसा मुक्त गाविसको संख्या १९ पुगेको हो ।  सुर्खेतका जर्वुटा, दहचौर, गुमी, दशरथपुर, नेटा, लेखफर्सा, गुटु, बावियाचौर, सालकोट, विद्यापुर, रतु, लेखगाउँ, गर्पन, अवलचिङ, उत्तरगंगा, घाटगाउँ, कुनाथरी र सहारे गाविस गरि १८ गाविसलाई यसअघि नै खुल्ला दिसा मुक्त घोषणा गरिसकिएको थियो ।

सायद २०४९/५० सालतिर हुनुपर्छ बर्खाको समयमा एकचोटी मेरो गाउँ जर्बुटामा हैजा फैलियो । करिब २०० जनाजति हैजाले ग्रस्त भए । एकजनाको त ज्यान नै गयो । कारण खोज्दै जाँदा ‘फोहोर र पानीको मुहानमा दिसापिसाब गरेकोले’ भन्ने निश्कर्ष आयो । गाविसले तत्काल सवैका घरघरमा चर्पी बनाउने अभियान चलाउने निर्णय गर्‍यो र जिल्लास्थित खानेपानी डिभिजन कार्यालयमा सवैजना डेलिगेशनका लागि पुगे । कार्यालयले जर्बुटामा एकघर एक चर्पी अभियान चलाइदिने भयो । हामी सवै खुसीभयौँ । सवैले कम्तिमा कच्ची चर्पी बनाउनैपर्ने भयो र चर्पी तोकिएको समयमा बनाउनेलाइ १ सय २० रुपिँया दिने पनि भनियो । मानिसहरु चर्पी बनाउन कस्सिए । हामीले हल्लापनि पिटायौँ कि चर्पी बनाएर मात्रै हुँदैन त्यसको प्रयोग पनि भएको हुनुपर्छ । १ सय २० रुपिँया दिन टोली तपाँइहरुको घरघर आउनेछ र चर्पी उपयोग भएको जाँचेपछि मात्रै रुपिँया दिइनेछ ।

यो खबरले राम्रै काम गरेको थियो । अभियान थालेको एक महिना पछि खानेपानीका कर्मचारीले साँच्चिकै केही चर्पीहरुको छड्के जाँच गर्ने इच्छा जाहेर गरे । हामीले केही घरमा उनीहरुलाई लग्यौँ । केही मानिसहरु चर्पी बनाएपनि प्रयोग गर्न आनाकानी गरेका थिए भने केहीले १ सय २० रुपिँयाको लोभले मात्रै चर्पी बनाएका थिए । एउटा घरको घटना चाँही सँधै सम्झिने खालको थियो ।
भएको के थियो भने : कच्ची चर्पीका लागि खनिएको खाडलमाथी मेवाको रुख ढालेर त्यसैको डाँठले टाँडी बनाएर अलिकति माटोले पुरपार गरी बाहिर तितेपातीले बारेर झारा टार्नेगरी बनाएका रहेछन् । हामीले ‘प्रयोग नगर्नेले १ सय २० रुपिँया नपाउने’ खवर गरेपछि ‘केहि दिन त हो नि’  भनेर त्यही चर्पी प्रयोग गरेका रहेछन् घरका सवैले तर एक महिना पछि अनुगमन टोली संयोगवश उनैकहाँ पुग्यो र चर्पी कस्तो बनेको छ भनेर घरमुलीलाइ देखाउन भन्यो । बिचरा चर्पी भित्र पुगेर खाडलमाथी माटोले पुरेको कच्ची टाँडीमा आफ्नो चर्पी बलियो छ भनेर देखाउन एकचोटी लात्तीले के हानेका थिए माटोले पुरेको टाँडी र मान्छे स्वात्तै खाडलमा ! सवैजना गललल हाँस्न थाले बिचरा ती घरमुली चाँही डेढ मिटर गहिरो खाडलमा मेवाका कुहिएका डाँठ र आचीसंग लुट्पुटिएर गुहार गुहार भन्न थाले । एक महिनासम्म पानी हाल्दा कुहिइसकेको मेवाको डाँठले बनाएको कच्ची टाँडी न थियो के टिकोस् ।

अर्को घटना झन् डरलाग्दो छ । दुइ छिमेकीको घरमा लुछाचुँडी भैरहेको थियो । बुझ्दा थाहा भयो । बिहानै उठेर घरछेउको आँपखोलीमा शौच गर्न जाँदा एउटी महिलालाइ उनका छिमेकीले चिहाएर हेर्दा रहेछन् । एकदिन त छिमेकी आफ्नै पछाडि उभिइराखेको देखेपछि उनी चिच्याउँदै घरमा आएर सासुलाइ सवैकुरा भनिन् । यो घटना गाँइगुँइमा परिणत हुन थालेपछि ति लुकेर हेर्ने पुरुषले आफ्नी श्रीमति मार्फत बिचरी ति महिलाले नै उनका बुढालाइ आँखा सन्काएको भनेर बेइज्यत गर्न खोजेपछि झगडा परेको रहेछ । जे होस् घटना यत्तिमै सिमित भयो र ति महिला सम्भावित बलात्कारबाट बचिन् ।

यी र यस्ता घटनाबाट गुज्रिएका जर्बुटावासीले अधिकाँश आफ्नै मेहेनत र केही खानेपानी, गाविस र अरु गैह्रसरकारी संस्थाहरुको समेतको सहयोगमा अहिले भनेर घरघरमा चर्पी बनाएका छन् । गाविसको रेकर्ड अनुसार अहिले करिब ९९ प्रतिशत घरमा निजी चर्पी बनिसकेको छ भने केहीका लागि सामुहिक चर्पी समेत बनाइएको छ। केही महिना अघि आफ्नो गाविसलाइ खुल्ला दिसामुक्त गाउँ घोषणा गरिएको कार्यक्रममा उनीहरु आफ्नो गाउँको विगत सम्झिँदै थिए । विशेष उत्सवका साथ खुल्लादिसा मुक्त गाउँ घोषणा कार्यक्रम गरिएको थियो । अँझै भनौँ यो कार्यक्रमका लागि उनीहरुले हरिवँश आचार्य र मदनकृष्ण श्रेष्ठलाई आदर्शमान्दै गाउँमा निम्तो पनि दिएका थिए । भलै उनीहरु जर्वुटा पुगेनन् । जे होस् हिजोका रोग, शोक र दु:खबाट जर्वुटा गाउँ गएको बर्षमात्रै मुक्त भएको थियो अर्थात खुल्लादिसा मुक्त गाउँ बनेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बर्षेनी नेपालमा ४५ हजार मानिसहरु हैजा तथा झाडापखालाका कारण मर्ने गर्छन् । ति सवै दिसापिसाब र फोहरका कारण भएको मन्त्रालयको भनाइ छ ।

शौचालय बनाउने रकम नहुँदा अहिले पनि मानिसहरु खुल्ला ठाउँमा दिसा पिसाव गर्न बाध्य छन् । जर्वुटाकै रञ्जित थलालको एकबर्ष अघिको भनाइ अहिले पनि सान्दर्भिक छ, ‘मुखमा हाल्ने माडका लागि त पैसा छैन भने फाल्ने घर बनाउने कसरी?’ गरिबीले पनि मानिसलाइ आधारभुत स्वास्थ्य सेवा पाउने या त्यसको चेतनासम्मबाट बञ्चित गरेको छ ।

जर्वुटाको यो समाचार पढेर यतिका कुरा सोच्न नभ्याउँदै संगैरहेको अर्को समाचारमा आँखा पुग्यो मेरो जहाँ लेखिएको थियो ‘नायिका निशा अधिकारीले सगरमाथा चढ्ने, सगरमाथा चढ्न लागेकी निशालाइ आर्थिक सहयोग गर्नेको ओइरो ।’

मेगा बैङ्क, सिटिजन्स बैङ्क, लगायत विभिन्न प्राइवेट सेक्टरले नायिका निशालाइ सगरमाथा चढ्नका लागि कसैले रकम खुलाएर त कसैले ‘नखुलाइकन’ आर्थिक सहयोग गरिरहेको समाचारमा उल्लेख थियो । नायिका निशाका लागि त सगरमाथा चढ्नु अवश्य पनि गर्वको कुरा होला तर उनले देशको नाम राख्छु सिने क्षेत्रको नाम राख्छु भनेर भन्नु कतै ओठे भक्तिमात्रै त हैन? यो कुरा बिश्लेषण गरेर सहयोगको ओइरो लागेको होला त? वा निशालाइ सहयोग गरेर आफुहरुले ‘कर्पोरेट रेस्पोन्सिविलिटी’ निभाएको बताएका ति निजी क्षेत्रका आँखामा झाडापखाला र हैजाका कारण बर्षेनी ४५ हजार नेपालीहरुले ज्यान गुमाउँछन भन्ने समाचार परे होला कि परेन होला? चर्पीको अभावमा उनीहरु निर्लज्ज भइ सार्वजनिक बाटोघाटो र चोकमा मलमुत्र त्याग गर्छन भन्ने हेक्का ति ‘रेस्पोन्सिवल कर्पोरेट’ हाउसहरुलाइ थाहा होला कि नहोला?

यतिका प्रश्नहरु उठाउँदा पक्कैपनि निशाको सगरमाथा यात्रासंग यसको के दुश्मनी भन्ने प्रश्न पनि उठ्नसक्छ । यसको जवाफ स्वरुप नायिका निशाले आफ्नो निजी खर्चमा सगरमाथा चढ्न सक्छिन कि भन्ने गत साताकै अर्को एक दैनिकमा प्रकाशित उनको खर्च विवरण बारे प्रकाशित समाचारबाट पनि थाहा हुन्छ । जसमा निशा अधिकारीको मासिक खर्च ‘महिनाको ६७ हजार’ लेखिएको थियो । त्यसैले मासिक ६७ हजार रुपिँया खर्च गर्नसक्ने हैसियतवाली निशालाइ लाखौँ रुपिँया चन्दा दिएर पठाउन सक्नेले पाँच हजार रुपिँयामा एउटा गरीबका शौचालय बनाइदिने तर्फ किन ध्यान दिन सक्दैन?

यतिबेला देशका धेरै जिल्लाहरुमा खुल्ला दिसामुक्त गाउँ बनाउने अभियान बडो उत्साहपुर्ण तरिकाले अघि बढ्दै रहेछ । कर्पोरेट हाउसले निशा जस्ता सुन्दरीहरुलाइ सगरमाथा चढाउन चन्दादान गर्नुको साटो बरु आफ्नो कम्पनी भएकै जिल्लामा सहि, चर्पीबिहीनहरुलाइ चर्पी बनाइदिने अभियान थाले रोग र लोकलाज तथा अरु मानविय दुर्घटनाबाट कसैले पिडा भोग्नुपर्थेन कि?
तस्विर श्रोत : माथिल्लो-http://hamrokhojonline.blogspot.com

                               तल्लो – फेसबुकबाट

About baabajee

just human
This entry was posted in Article and tagged . Bookmark the permalink.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )