कथा- ‘स्टारडम्’


प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो । उतिबेलाको स्कुले नेतृत्व भनेको या त जुनियर रेडक्रस सर्कल हुन्थ्यो, या त स्काउट नै हुन्थ्यो । एक्स्ट्रा करिकुलर अन्तर्गत भने साप्ताहिक जसो हुने कविता, वक्तृत्वकला, हाँजिरीजवाफ जस्ता प्रतियोगिता या स्कुलको बार्षिकोत्सवमा हुने अरु साँस्कृतिक कार्यक्रमहरु पर्दथे ।

यसएलसी पास गरेको ५ बर्षपछि मात्रै बल्ल उसले आफुसंग बर्षौदेखि गुम्सिएर रहेको हुटहुटी पुरा गर्ने पेशा फेला पारेको छ । अर्थात हरेक काममा केही नयाँ  र चुनौती खोज्ने उ अहिले पत्रकारिता पेशामा आवद्द भएको छ । विद्यालयमा हुँदा अरु भन्दा फरक र श्रृजनशिल काममा रुची राख्ने बानीका पनि अहिले उसलाइ पत्रकारितातर्फ मोह बढेको रे !

परिवारको चाहनालाइ कुल्चेरै भएपनि उ अहिले मिडियामा काम गर्न पाएकोमा दंग छ । भर्खरै देशमा आएको ‘संचार क्रान्ति’को उपज स्वरुप उसको जिल्लामा खुलेको एफएम रेडियोमा कार्यक्रम संचालन तथा समाचारवाचनमा आफ्नो स्वर अब्बल छ भनेर अरुले भनिदिँदा उ पैसाको आवश्यकतालाई पनि केहीबेर बिर्सेर यसमै रमाएको छ । भलै घरपुग्दा बाउको मुखबाट ‘सत्रचोटी’ लोकसेवा आयोगको जाँच कहिले छ यसपाली भनेको सुन्नुपरोस् !

रेडियो पत्रकारिता कर्मकै शिलशिलामा प्रलादसंग कविताको भेट भएको थियो केही समय अघि मात्रै । हुन त उनी पत्रकार थिईनन् यद्यपि झण्डै-झण्डै पत्रकार हुन पुगेकि थिईन् । स्थानिय एनजिओमा कार्यरत कविता जेहेन्दार तथा मेहेनेती युवती हुन् । आफुलाई संघर्षका कणकण थाहा भएको बताउने उनको व्यवहार पनि निकै परिपक्व लाग्छ ।

प्रलाद रेडियो भनेपछि मरिहत्ते गर्छ । बिहान साढे छ बजेको बुलेटिन पढेर डेरामा फर्किई खाना पकाएर खाएर उ साढे नौ बजेतिर रेडियो पुगिसकेको हुन्छ, अनि रेगुलर न्युज रिपोर्टिङ त छँदैछ, त्यसबाहेक हप्तामा ४ दिनजसो उ राती पनि रेडियो मै बिताउँछ । यसरी हप्तामा सातैदिन न्युजमा र दशवटा जस्तो अरु रेडियो कार्यक्रम संचालन गर्दा उसको पेशामा दक्षता त बढ्दै गएको छ तर यही ‘रेडियो क्रेज’का कारण अरु कुराहरुलाई भने उसले समय दिन सकेकै छैन ।

‘आठ कक्षाको फाईलन परिक्षाको रिजल्ट आयो तर तिम्रो भाई यस पाली पनि फेल भयो ।’
स्कुलका मुखिया तिवारीजीले न्युज बुलेटिन पढ्न जानुअघि स्कुलबाट रेडियोमा फोन गरेर प्रलादलाई सुनाए ।
प्रलादको समाचार पढ्ने पुरै जोश स्वात्तै घट्यो ।
तैपनि उसले आफुलाई सम्हालेझैँ गरेर समाचार पढ्यो । टेक्निसिएन किरणले भन्यो–’सर ! तपाईले आज न्युज त पट्टुले रामराम भनेझैँ गरेर पो पढ्नु भो त !  न कतै फीलिङ्स छ न तपाईको रियल स्पीड नै । खाली ख्वारारारारा पढेर सक्नुभो ! के भो?’

प्रलाद चुपचाप नबोली त्यहाँबाट निस्कीयो । अरु सहकर्मीहरु कानेखुसी गर्दैथिए ।

उ सरासर घर पुग्यो ।

भाई निस्फिक्री चोकमा गफ लडाईरहेको थियो । उ भाईलाई आउने इसारात्मक निर्देशन दिँदै कोठामा पुग्यो । कोठामा बलवान छाप खैनी गन्नाएको चाल पायो उसले । त्यतिन्जेल भाई ढोकामा आईसकेको थियो । प्रलादको रिसको पारो चरमचुलीमा पुगिसकेको थियो ।

दाँयाबाँया केही नहेरी उसले भाईलाई भकुर्न थाल्यो । भाई टाउको समातेर थ्याच्च भुँईमा बसेर रुनथाल्यो ।

दुईदुई पटक आठकक्षामा फेल भएपछि प्रलादले गाउँको स्कुल छुटाएर भाईलाई शहरमा आफुसंगै पढाउन राखेको थियो । तर यसपाली पनि भाई पास त भएन ।
प्रलादमा सवार भएको पत्रकारिता र रेडियोको ‘भुत’का कारण उसले भाईलाई प्रयाप्त समय दिन नसक्दा आफुसंग राख्नु न नराख्नुमा कुनै फरक भएन । बरु उल्टो शहरका बरालिएका केटाहरुको संगतमा लागेर भाईले चुरोट खैनी खान सिकिसकेको थियो, कोर्षका कुराहरु सिक्नुको साटो ।
प्रलादले आफ्नो समिक्षा गर्यो, यसमा दोष उसको पनि त उत्तिकै थियो नि !

कविताले यो कुरा खै कताबाट हो सुनिछन् । उनी प्रलादकहाँ आईपुगिन् । प्रलादले उनलाई केही कुरा लुकाएन ।
खै किन हो कुन्नी ! उ कवितालाई नजिकको नातेदार जस्तै मान्दथ्यो । कविता पनि उसंग खुलेर कुरा गर्थिन । कविताले प्रलादलाई समयको ब्यवस्थापन गर्न सक्नुपर्ने सल्लाह दिईन्।

उसो त प्रलाद कविताका लागि भने समय मजैले मिलाउन सक्थ्यो ।
कतिसम्म भने – एकचोटी टेक्निसियन बिदामा बसेको बेला उ एफएम स्टेशनको टेक्निसियन देखि समाचार प्रमुख समेत आफै भएर सम्पुर्ण स्टेशन आफ्नै थाप्लोमा लिएर बसेको थियो । त्यतिखेर एकघण्टाको लागि गीत क्युमा राखेर स्टेशनको गेटमा ताला लगाई उ कवितालाई भेट्न खुल्लामञ्चसम्म पुगेको थियो ।
धन्न ! त्यतिखेर लाईन गैदिएन र उ बच्यो । पछि स्टेशन म्यानेजरले कहाँबाट हो कुन्नी यो कुरा थाहा पाएछन र ‘यस्तो हेलचेक्राँई नगर्नु है साथी हो’ भनेका थिए ।

रातीको समयमा प्रलाद कविताको फर्माईस अनुरुपका गीतहरु बजाउँथ्यो । उनीहरु अरुका गीतमार्फत आफुहरुले सम्वाद गरेको महसुस गर्थे क्यारे । किनकी कहिलेकाँही आफ्नै मुखले नबोलेपनि अरुका शब्द र संकेतहरु सापटी लिएर पनि मान्छेले प्रयाप्त सम्वाद गरिरहेको हुन्छ, अँझ भनौ प्रभावकारी सम्वाद गरिरहेको हुन्छ तर कहिलेकाँही आफ्नै मुखले बोल्दापनि मान्छे सम्वाद गर्न सकिरहेको हुँदैन् । जब विषयलाई मनले महसुस गरेर सम्वाद गरिन्छ त्यहाँ शब्दैले मात्र बोल्नुपर्छ भन्ने छैन पनि ।

दिनमा भेट हुँदा कविताले जस्तो भावका कुराहरु गर्थिन् रातमा रेडियोमा बास हुँदा आफ्ना कार्यक्रममा ति कुराहरुको जवाफ कहिले आफ्ना शब्दबाट त कहिले अरुका गीतहरुबाट फर्काउँथ्यो प्रलाद ।

लामो समयसम्मको प्रलाद र कविताको मित्रता अनि संचार यसैगरी भैरह्यो । सायद यही संचारशैलीका कारण उनीहरु एकआपसमा झनै नजिकिए क्यारे । अथवा भनौँ उनीहरुको प्रेम बस्यो, जब उनीहरुले एकले अर्कोलाई प्रेम गर्दारहेछौँ भन्ने महसुस गरे अनि त्यसलाई बैधानिकता दिने निर्णय पनि तत्कालै गरिहाले । अनि उनीहरुले आफ्नो ‘छोटोमीठो’ प्रेमलाई मागी विवाहमा रुपान्तरण गरे ।

विवाहको केहीदिनपछि एकदिन ससुरालीमा खाना खान बोलाइएको दिन नै प्रलादको लाईभ कार्यक्रम रहेछ । ससुरालीमा खाना पाक्न ढिलो भैरहेको थियो ।
एक त रातीको कार्यक्रम त्यसमाथि ससुरालीबाट रेडियोसम्म पुग्न समय लाग्ने, अर्कोतर्फ माओवादी शशस्त्र संघर्षको समय, त्यसमाथि राजाको प्रत्यक्ष शासन र संकटकाल !
घडीमा साँझको साढे छ बज्दैथियो । सात बजेबाट कर्फ्यु लाग्नेभएकोले उसलाई छटपटी भैरहेको थियो । बल्लतल्ल कवितालाई सोर्स लगाउन लगाएर उसले खाना टिफिनको डब्बामा हाल्न लगायो अनि साईकलको जोहोगरी त्यसैमा खाना राखेर उ बेतोडका साथ एफएम स्टेसनतिर दौडियो ।

पहिलोपल्ट आफ्नो माईतीमा खाना खान आफुसंगै आएको प्रलादको यो गति देखेर कविताले खिन्न मन गराईन् । उनले एकपल्ट विगत सम्झिईन्– उनीसंग भेट मात्रै गर्नका लागि एकघण्टासम्म स्टेशन एक्लै छोड्नसक्ने ‘जोखिम’ मोल्ने प्रलादको आजको ब्यस्तता कस्तो हो?

प्रलादले एफएम स्टेशनमा पुगेर हेर्दा पो देख्यो- ‘ज्याऽऽऽऽ ससुरालीले उसका निम्ति तयार गरेको खानेकुरा त ग्राभेल सडकमा बेतोडले साईकल चलाएर कुद्दा टिफिन डब्बा उघ्रिएर  जम्मै पोखिएछ !’
त्यो रात उसले भोकै सुत्नुपर्यो स्टेशनमै । यो कुरा उसले महिनौँपछि कवितालाई सुनाउँदा उनी बेस्सरी हाँसेकी पनि थिईन ।

प्रलाद र कविता फरकफरक फिल्डमा थिए । प्रलादको काम पत्रकारिता थियो, जसको न कहिल्यै ‘ड्युटीआवर’ हुन्छ न ‘कमाई’ राम्रो हुन्छ । तर कविता भने एउटा राम्रै गैह्रसरकारी संस्थामा आवद्द थिईन् । कविताको सपोर्टले आफ्नो अस्तब्यस्त र दरिद्री जीवनशैलीलाई ब्यवस्थित गर्न त प्रलादलाई मद्दत पुगेको थियो नै संगसंगै बुवाआमाको ‘लोकसेवा कहिले दिने? सरकारी जागिर कैले खाने?’ भन्ने प्रश्नको सामना गर्नुपर्ने क्रम पनि घट्दै गइरहेको थियो ।

कमाइ असाध्यै कम भएपनि आफ्नो अन्तरआत्माले रोजेको पेशा भएकोले प्रलाद यसमा यसरी झुमेको थियो कि मानौँ नसाको लत लागेको मानिस नसाको डोज लिएपछि झुमेझैँ । तर प्रलादको यो अनावश्यकको ब्यस्तताले भने कवितालाई पिरोल्न थालेको थियो ।

बिस्तारै बिस्तारै प्रलादको ब्यस्तता झनै बढ्नथाल्यो । कमाई सुन्य भएपनि उ म बिजी छु भन्न छाड्दैन्थ्यो । कहिलेकाँही त एकाघरका यी दुइ प्राणीको चारपाँच दिनसम्म भेटै हुँदैन्थ्यो । कारणः विहान कविताले खाना पकाएर खाइवरी गैसकेपछि मात्रै प्रलाद घर आइपुग्थ्यो भने साँझ उसले खाना पकाएर खाई रेडियोतिर निस्केपछि मात्र कविता अफिसबाट घर आइपुगेकी हुन्थिन् । साँझको न्युज बुलेटिन र रातीको कार्यक्रम अनि संकटकाल र कर्फ्युका कारण हप्तामा ३ रात प्रलाद एफएम स्टेशनमै सुत्दथ्यो।

तथापी एकले अर्कोको ब्यस्तता र कामको सम्मान गर्ने हुँदा यिनीहरुको अनुहारमा यो दुरीको दर्द कहिल्यै झल्किन्थेन र यसमा असन्तुष्ट पनि थिएनन् उनीहरु।
यसबिचमा देशमा जन-आन्दोलन भयो, ब्यवस्था फेरियो, ब्यवस्था फेरिनका लागि भएको आन्दोलनमा प्रलाद घाईते समेत भयो । प्रलादले आफ्नो उपचारका लागि काठमाण्डौ आउँदा एफएम स्टेशनबाट ‘बिना खबर गएको’ भनेर निश्कासित समेत हुनुपर्‍यो । कविताले मजाकैमजाकमा प्रलादलाई ‘दिनरात नभनी आफ्नो समयको पर्वाह नगरी रेडियोलाई दिएको समयको उपहार हो यो’ भनेर ब्यङ्ग्य गरिन । प्रलादलाई कोखामा सियोले घोचेझैँ भयो । उसले त्यहि दिन आफु काठमाण्डौ गएर पत्रकारिता नै पढेर देखाउने र त्यो भन्दा राम्रो मिडियामा काम  र दाम दुबै हाँसिल गरेर देखाउने अटोठ लियो । किनकी त्यतिखेर प्रलादले मासिक तिन हजार रुपैँयामा करिब करिब दैनिक झण्डै १६ घण्टा जसो काम गरेको थियो ।

उसले कवितालाई यो कुरा सुनायो । कविता एकछिन त ट्वाँऽऽऽ भईन् । उनले आफ्नो मनले ‘बोल्न कर गरेको’ कुरालाई जबर्जस्ती मनमै दवाईन । अनि प्रलादलाई इच्छा लागेको कुरा पुरा गर्न भनिन ।

प्रलाद फेरी एकपटक बेरोजगार र पुर्णत: विद्यार्थी भयो । कविताले पठाएको पैसाले उसले पत्रकारिता बिषयमा एमएमा भर्ना भयो, बबरमहलमा एउटा कोठा डेरालियो मासिक १५ सय तिर्नुपर्ने तर साथीसंगको पार्टनरसिपमा लिएकोले उसको भागमा सातसय पचास पर्यो । बाँकी दाल-चामल, नुनदेखि ओढ्ने ओच्याउने मात्रै हैन, ग्याँससिलिण्डर समेत कविताले उतैबाट पठाईदिएकी थिईन् ।

बिस्तारै प्रलादले चाहेजस्तै हुनथाल्यो । उ जीवनमा केही नयाँ गर्न चाहन्थ्यो आफ्नो साथीहरुको सर्कलले भन्दा, परिवारका सदस्यहरुले भन्दा । त्यसैले त बुवाआमा, परिवार तथा नातागोताका सबैले लोकसेवाको तयारी गरेर सर्खारी जागिर खान कर गर्दा पनि उ कुनै हालतमा तयार भएन ।

प्रलादले काठमाण्डौ आएको केही समयमै चर्चित टिभीका लागि एउटा हाँस्य टेलिसिरियलको स्किृप्ट लेख्ने काम पायो प्रति ईपिसोड हजार रुपैँयामा । पैसा भन्दा पनि स्किृप्ट लेख्न पाएकैमा उ दंग थियो । सिरियल लेख्नका लागि प्लट खोज्न उ हप्ताका सातैदिन कतै न कतै दौडिरहन्थ्यो । कहिले दिनभर रत्नपार्कमा भेटिने मानिसमा उ आफ्नो सिरियलको ‘क्यारेक्टर’ खोज्थ्यो त कहिले रिङरोडमा चल्ने गाडीको लास्ट सिटमा बसेर अर्को क्यारेक्टरको खोजीमा रुमल्लिइरहन्थ्यो तर ती सबैभन्दा बिचित्रको क्यारेक्टर त उ आफै थियो । उसले आफुमा भएको त्यो बिचित्रको क्यारेक्टर भने कहिल्यै भेटेन । त्यसैले त सिरियलको क्यारेक्टर पनि आफु बनाएर कहिल्यै लेखेन । मान्छेको जातै त्यस्तै हो, राम्रो होस या नराम्रो हत्तपत्त उ आफ्नो गुण या दोषको समिक्षा गर्दैन अथवा आफ्नो क्षमतामा आएको कमि होस या अब्बलता दुबैलाइ नजरअन्दाज गर्नुमै महानता देख्छ । हजार रुपिँया प्रतिइपिसोडको सिरियलको प्लटको खोजीमा भौँतारिँदा उसले कैयौँ हजार रुपिँया खर्च पनि गर्यो ।

त्यसको केही समयपछि नै उसले एउटा प्रतिष्ठित संचार सम्बद्द संस्थामा रेडियो कार्यक्रम उत्पादकको जागिर पनि पायो । कलेजमा पनि उ राम्रै बिद्यार्थीका रुपमा परिचित भयो । साथीहरुलाई कैलेकाँही उ भन्थ्यो पनि–’एक कक्षादेखि ब्याचलरसम्म बाउआमाका लागि पढियो तर यो पढाई मेरा लागि हो। आफ्नो बास्तविक रहरले पढ्दैछु म ।’

आफ्ना निजी चाहना र आकांक्षाहरु पुरा गराउने क्रममा उ अत्यन्तै एक्लो भएर दौडिरहेको थियो । कहिलेकाँही महिनौसम्म बुवाआमालाई फोन गर्न भुल्दथ्यो । सायद कवितालाई पनि भुल्थ्यो कि ! तर कविताले भुल्नेवाली थिईनन् । उनले दैनिक कम्तिमा दुईदेखि बढिमा दशौँपटक समेत फोन गर्थिन् । ससुरालीमा त सायद उसले अहिलेसम्म आफ्नै मनले भनेर फोन गरेको रेकर्ड नै छैन होला !

वास्तवमा प्रलाद मान्छे त ‘महाबेवारिसे’ नै थियो । उसलाई सम्बन्ध जोड्न त आउँथ्यो तर त्यसको निरन्तरताका लागि प्रेम, सद्भाव, स्नेह, भावना जस्ता कुराहरुको मलजल र गोडमेल चाहिन्छ भन्ने कुराको हेक्का नै थिएन । सायद यसमा उसको कुनै निहित स्वार्थ त थिएन होला तथापी उसले ब्यवहारले देखाउँथ्यो नै त्यस्तै कि उसका सम्बन्धवालाहरु उ विगतभन्दा फरक हुँदै गएको गुनासो गर्थे फोनमा कुरा हुँदा ।

सम्बन्ध मजबुत हुनका लागि सम्पर्क निरन्तर भई नै रहनुपर्छ भनिन्छ । सायद यहि कुराका कारणले हुनुपर्छ, कविताले काठमाण्डौ जाने निधो गरिन् । घरका र माईती दुबैतिरका सबै मौन भए । सबै मौनता स्विकृतिको लक्षण हुन्न । कहिलेकाँही मानिसले मौन भएर पनि असहमति प्रकट गरेको हुन्छ, अँझ कहिलेकाँही त मौनता भित्र ठुलै असहमतिको सन्नाटा र सम्भावित बिद्रोहको आधिबेहेरी जेलिएको पनि हुनसक्छ । कविताको काठमाण्डौँ जाने कुरामा उनका नातेदारहरुको बिद्रोहको मौनता नभएपनि नगए हुने भन्ने भावको मौनता थियो । किनकी सबैले पढाई सकिएकाले बरु प्रलादलाई नै यतै बोलाउनुपर्ने बिचार राखेका थिए सायद ।

कविता कुम्ला कुटिरा बाँधेर, अनि छोरी च्यापेर काठमाण्डौँ हान्निईन । यसबिचमा संगै नबसेपनि कहिलेकाँहीको सम्पर्कका कारण उनीहरुकी एउटी छोरी जन्मिएकी थिई । कविता काठमाण्डौँ आउँदा एउटा भोक पनि लिएर आएकी थिईन् । लामो समयसम्मको उनीहरुको भौतिक दुरीले गर्दा उनीमा प्रलादको मायाकी भोक थियो । तर अर्कोतिर प्रलादमा नाम र चर्चाको महत्वकाँक्षाको भोक बढ्दै गएको थियो । नियत दुबैको राम्रो हुँदाहुँदैपनि एकअर्काको भोकलाई बुझ्ने र महसुस गर्ने कोशिष नगर्दा उनीहरुको त्यो भोक तृप्तिमा नपुगेरै अमनमा परिणत हुन लागेको जस्तो भैरहेको थियो । एकले अर्कोलाई गरेको मायामा पनि झर्कोपना देखिने, शँकालु पारा देखेको महसुस गर्ने, अभाव मात्रै देख्ने तृप्ति नभेट्ने आदत जस्तो भएको थियो ।

उनीहरु बिचको मायामा देखिएका ससाना खटपट अब दरार झैँ बन्न थालेका थिए । कविताले गरेको सानो ‘डिमाण्ड’ प्रलाद पुरा गर्न सक्दैन्थ्यो किनकी एक त उसको तलबले काठमाण्डौँको महँगो संसारलाइ थेग्न सकेको थिएन भने अर्कोतर्फ म खर्च गर्छु भनेर कविताले अग्रसरता देखाउँदा पनि उ समय नभएको, आज भ्याउँदिन या अर्को दिन जाउँला नि भन्दै टार्दथ्यो । उसको यो बानी देखेर कविता खिन्न हुन्थिन । यो क्रम निरन्तर जसो हुन थालेपछि कविता र प्रलादबिच हुने खटपटमा झन गुणात्मक अभिबृद्दि हुनथाल्यो ।

एकदिन सानो कुरामा ख्यालख्यालमै प्रलाद र कविताको ठुलो झगडा भयो । सवाल सामान्य नै थियो सायद । सामाजिक संजालमा महिला मित्रहरुसंग गरिएको कुराकानीको भाषा हुनुपर्छ क्यारे । सवालजवाफमा सिमित नभइ त्यो कुरा बिबाद हुँदै झगडाको चरम रुपमै पुग्यो । सायद त्यो दिन प्रलादले पिएको पनि थियो क्यारे !
‘ठुला’ मान्छेहरुको संगतले गर्दा अचेल प्रलादले पिउन थालेको छ । पिउने क्रमपनि करिबकरिब दिनहुँ भैरहेकोले कविताको पिउने कुरासंग समेत घोर असहमति छ । यो कुरा पनि अचेल उनीहरुमाझ ‘भिलेन’ बनेर आउने गरेको छ । कविताको असहमतिको एकमात्र जवाफ प्रलादको हुन्छ-‘साथीहरुको मन राख्न एक पेग मात्रै पिएको त हो नि ! यत्रो सारो कराउनुपर्छ? फेरी मैले गोजी रित्याएर पिएको भए पो ! अरुले खुवाउँदा पनि कराउने तिमी?’ तर कविताको प्रश्न सायद रक्सी कस्ले खुवाउँछ र कति पैसा रक्सीमा जान्छ भन्नेतिर लक्षित थिएन क्यारे ।

अँ, प्रलाद र कविताको सानो झगडा यतिसम्म चर्कियो कि दुबैजना बाझ्नुसम्म बाझेर एकअर्काको मुखै नहेरी ओच्छयानमा पल्टिए । हल्का ‘ठिकठिक’ अवस्थामा भएकोले प्रलाद कवितासंग बाझेर थाकेको निहुँमा निदाईहाल्यो ।

‘पेयपदार्थ’को मात्रा घटेर हो कि खै किन हो उ आधारातमा झल्याँस्स बिउँझियो । बत्ती बलेकै थियो । उसका आँखा सामुन्ने कविता थिइन् । उसले कवितालाइ शिरदेखि पाउसम्म नियाल्यो- कविता झोला प्याक गरेर कतै निस्कने तयारीमा थिईन् ।

प्रलादले हत्त न पत्त छेउको मोवाईल तानेर समय हेर्यो । भर्खरै दुई बजेको थियो । उसको सातो उड्यो । कवितालाई सोध्यो-‘कहाँ जान लाग्या तिमी यतिबेला !’
अहँ ! कविता केही बोलिनन् । उनका गह भरिएका थिए । अनुहार बिचित्रसंग गहीरो सोचमा डुबेको जस्तो लाग्थ्यो वा कतै हराएकफ थियो । अँझ गहिरिएर हेर्दा उनको भाव ठम्याउनै गाह्रो हुनेगरी एकोहोरिएको थियो । प्रलादलाई के गरौँ र कसो गरौँ भयो ।

बल्लतल्ल कवितालाई जहाँ जाने हो भोलि जानु भनेर हात पाउ जोडेर बिन्ती बिसायो । कविताले झोला बिसाउँदै गर्दा प्रलादले शिरानी छेउ कापीको पानोमा केही लेखिएको भेट्टायो । उसले सुटुक्क त्यो पानो च्यातेर गोजीमा लुकायो । कविता केही नबोली बेडमा पल्टिईन । छोरी निर्दोष र प्यारो अनुहार सहित निदाईरहेकी थिई । प्रलाद र कविताको मन मस्तिस्कमा भने भयानक आँधिबेहेरी दौडिईरहेको थियो ।

प्रलादलाई निद्रा परेको थिएन । उसले पिसाब आएको बहाना पारेर सौचालयमा पुगी अघि च्यातेको कापीको पाना खोल्यो । जसमा लेखिएको थियोः

‘बाबा……………

मैले यो जुनीमा तिम्रो प्रेम पाउन र साथ पाउन निकै कोशिस गरेँ तर असमर्थ भएँ । तिम्रो बढ्दैगएको ‘स्टारडम’का कारण तिमी हामीहरुबाटै टाढा भएको महसुस हुँदै गएको छ । हामीहरु एउटै ओच्छ्यानमा त हुन्छौँ तर भौतिक शरिर त्यहाँ भएपनि हामीहरुको मन त्यहाँ नभएजस्तो मैले पाइरहेकी छु । यो दुरीलाइ कम गर्न मैले सक्दो कोशिस गरेकै हुँ । तिमीलाइ परेको बखत् सहयोग पनि गरेकै हुँ । जब तिमीलाइ मेरो साथको खाँचो थियो तब तिमी मेरो अत्यन्तै नजिक थियौ तर अब सायद सेलीब्रेटी भयौ क्यारे ! तिम्रो सन्चोबिसन्चोको ख्याल गर्नेहरु पनि अरु नै देखिन थाले । यसमा गल्ती तिम्रो हैन म मेरै देख्छु । किनकी धेरै अपेक्षा त मैले नै गरेकी रहेछु तिमीबाट ।

त्यसैले अब तमाम अपेक्षाहरुलाइ यहीँ खारेज गर्दै म तिमीबाट टाढिन चाहन्छु । न तिमीलाइ कहिल्यै कराउने छु न किचकिच गर्नेछु । बस् एउटा आग्रह, छोरीले दुख नपाओस् ।

उही तिम्री

……………………’

About baabajee

just human
Aside | This entry was posted in कथा and tagged , , , . Bookmark the permalink.

कथा- ‘स्टारडम्’ का 34 वटा प्रतिक्रियाहरु

  1. Pagalbasti (@MadsArea) भन्नुहुन्छ:

    सबै मौनता स्विकृतिको लक्षण हुन्न । कहिलेकाँही मानिसले मौन भएर पनि असहमति प्रकट गरेको हुन्छ, अँझ कहिलेकाँही त मौनता भित्र ठुलै असहमतिको सन्नाटा र सम्भावित बिद्रोहको आधिबेहेरी जेलिएको पनि हुनसक्छ ।

  2. Kanti भन्नुहुन्छ:

    असाध्यै मार्मिक लाग्यो, आंखा नै रसायो । Excellent keep on writing…………… more realistic, I always appriciate…..:)

  3. pawan भन्नुहुन्छ:

    कहिले दिनभर रत्नपार्कमा भेटिने मानिसमा उ आफ्नो सिरियलको ‘क्यारेक्टर’ खोज्थ्यो त कहिले रिङरोडमा चल्ने गाडीको लास्ट सिटमा बसेर अर्को क्यारेक्टरको खोजीमा रुमल्लिइरहन्थ्यो तर ती सबैभन्दा बिचित्रको क्यारेक्टर त उ आफै थियो । Gajjap line

  4. sabitaacharya भन्नुहुन्छ:

    एकदमै राम्रो लाग्यो ….कसैले यो कुरा भनेको भए सायद सुनिन्थ्यो …एकछिनमा हराउथ्यो होला..तर पढ्दा कता कता चसक्क दुखे जस्तो लाग्यो….सबैभन्दा कविताको चिठीले मन दुखायो…… कबितालाई भए जस्तो त सबै विजी श्रीमानका श्रीमतिलाई हुन्छ नी हैन र…

  5. Devi भन्नुहुन्छ:

    एक कक्षादेखि ब्याचलरसम्म बाउआमाका लागि पढियो तर यो पढाई मेरा लागि हो। आफ्नो बास्तविक रहरले पढ्दैछु म ।’चाहेको कुरा पुग्छ भन्ने प्रष्ट हुन्छ दाईको यो लेखनबाट । संघर्ष गर्ने जो कोहिलाई प्रेरणाको स्रोत बन्न सक्छ यो कथा । बधाइ छ प्रकाश दाई

  6. Bikashkoirala भन्नुहुन्छ:

    राम्रो लेखे मित्रले ।

    मानिसका प्राथमिकताहरु परिवर्तन हुनु स्वभाविकै हो तर धरातल विर्सनु हुन्न जस्तो लाग्यो, निस्वार्थ साथ सबैको माथमा त अवस्य हुन्न भनेर प्रलादलाई भन्न मन लाग्यो ।।

    ए प्रलाद कविता छोरीको भविष्य दुबै मिलेर बनाउ, आफ्ना कमजोरी मिलेर सुझाउ ।।

  7. Puran Pandey (@PuranPande) भन्नुहुन्छ:

    कथा समग्रमा एकदम राम्रो लाग्यो | तर यो तपाईको वास्तविक जीवनको घटना नभएको होस् भन्ने कामना गर्दछु र सबैलाई एकचोटी पढेर जीवन मनन गर्न आग्रह पनि

  8. Sabin Singh भन्नुहुन्छ:

    दाजु, कथाको प्लटले छुन्छ, राम्रो छ । तर बहावमा झट्काहरू लागे । समग्रमा मनपरेको स्थित हो । एकचोटी फेरी बाँडिन्छ🙂

  9. SthitPragya (@StheetPragya) भन्नुहुन्छ:

    त्यो भक्कुमार धुलाई खाने भाई आजकल के गर्दैछ?

  10. अनन्त कोइराला भन्नुहुन्छ:

    यीनको कथा लेखाइ राम्रो छ, राम्रो लेख्छन् तर किन लामो लेख्छन् भनेर चाहिँ बुझ्नै नसक्ने😉 हुनत मेरो भन्दा बढी दिमाग चल्छ यीनको😛

  11. दिनेश राज ज्ञवाली भन्नुहुन्छ:

    अनन्तसँग मेरो कुरा मिल्ला -मिल्ला जस्तो भो । कथा लामो हुँदै जाँदा खँदिलोपना कम हुने हो कि जस्तो लाग्यो । कल्पना नभै वास्तबिक कथा भएकोले मन पर्यो ।

  12. Umeshsigdel भन्नुहुन्छ:

    क्या लेखे गाँठे । कयौ दम्पतीहरुमा भइरहेको कटु यथार्थ । अनी च्याउ उम्रेको झै एफ.एम. स्टेशनहरु । रेडीयामा बोल्न पाए सेलिब्रेटी भइन्छ भन्ने दिग्भ्रम । देशमा भइरहेको मिडीयाकर्मीहरुको यथार्थ चित्रण । नारी हठ र समाजमा को देखासिखीको प्रभाब । भयो……. अब धेरै नभनौ । यो कथाको माथी समलोचना लेख्नु पर्ने अबस्था छ । बधाइ छ बाबा । बधाइ छ ।

  13. Roman bhattarai @Sir_rosan भन्नुहुन्छ:

    कथा यतार्थ परक र दिल छुने छ,,, भाई को प्रशंग बिच मा आयो अनी त्यसै हरायो सायद त्यो कुरो उठी सके पछि भाई लाई पनि टुंगो लगाई दिएको भए सुन मा सुगन्ध हुने थियो कि?? तपाई को कलम ले निरन्तरता पाओस शुभ कामना……….

  14. rabi mishra भन्नुहुन्छ:

    राम्रो लाग्यो प्रकाशजी ! यत्ति लामो कथा नि लास्ट सम्म पढियो ! :)) मन छुयो !

  15. Jyoti Regmi भन्नुहुन्छ:

    राम्रो कुरा त छदै छ लेखकलाइ जहिलेनि नपुग कहाँ छ भनेर कमेन्ट देको राम्रो जस्तो लाग्छ मलाई….हल्का लाग्या कुरा चै पहिलेको मात्रा अलिक कम गरेर लास्टाँ चिट्ठी को मात्रा अलिक बढी भाबुक भाको भए अझ राम्रो हुन्थ्यो भन्ने हो :))) सुभकामना अरु पनि यो भन्दा गज्जप पढ्न पाईयोस्

  16. बेबी भन्नुहुन्छ:

    एकदम राम्रो लाग्यो, तपाईको लगनसिलता र उध्यश्य प्रतिको अठोटता मनपर्‍यो र प्रसतुती गर्ने तरिका कलात्मक छ। किप ईट अफ…..

  17. Roopess भन्नुहुन्छ:

    समग्रमा राम्रै लाग्यो। सललल बगाउनुभको छ कथा। उतारचढाव कम भएको भान भो। क्लाइमेक्सको झगडाको रुप विकास खुलेन। त्यसलाई स्पष्ट पार्न सके र यसलाई आधाउधी छोट्याउन सके खँदिलो र उत्कृष्ट हुन सक्छ। बधाई छ लेखकलाई।

  18. Suraj Aryal भन्नुहुन्छ:

    गजबको कथा लेख्नुभएछ प्रकाश जी,
    समग्रमा यो कथा, कथा नभएर स्वयम कथाकार वा उनका नजिकका मान्छेहरुको व्यक्तिगत भोगाई हो भन्ने मेरो बुझाइ रह्यो ।

    विशेषतः हामि युवाहरुका प्रमुख समस्याहरु भनेका नै कथामा देखिएका समस्याहरु नै हुन, “स्टारडम” को खोजि गर्ने कुरा स्वभावतः युवाहरुको महत्वाकांक्षाको एउटा पाटो हो । यहाँ हरेकलाई आफ्नो पहिचान दुनियाँ का अरु करोडौं मानिसको भन्दा पृथक बनाउनु छ, सफल हुनु छ आफ्नो लक्ष्यमा । त्यसैको परिणाम स्वरुप हाम्रा महत्वाकान्क्षाहरु ठुला ठुला हुँदै गएका छन् दिनदिनै । अनि तिनै महत्वाकांक्षा हरु पुरा गराउने ध्याउन्नमा हाम्रा चटाराहरु पनि बढेका छन् दिनहुँ ।

    अब कुरा आयो नाता र सम्बन्धहरुको । हामि ब्यक्तिगत रुपमा पनि कम दोषी त छैनौं हाम्रा सम्बन्धहरु फितलो हुनुका पछाडी, तर हामि जति दोषी छौँ नि, त्यो भन्दा सयौं गुणा दोषी हामीले बाँचेको समाज छ भनेर बुझेको छु मैले आजसम्म । सफल मान्छेको पछी दौडिन्छ हाम्रो समाज अनि परिवार, एउटै परिवारका दुइ सन्तानहरु एउटा सफल अर अर्को असफल हुने हो भने समाज सफल हुनेको पछी लाग्छ । अरु त अरु आफ्नै परिवारले पनि बेवास्ता गर्न थाल्छ असफल हुने चाहिंलाई । अनि हामि सम्बन्धहरु बलिया र दह्रा बनाउने तिर लाग्नु कि सफल हुन तिर ?

    अब प्रतिज्ञा गर्नुपर्ने बेला आएको हो कि सायद ? आउनुस सबै मिलेर प्रण गरौँ कि अब हामि हाम्रा सम्बन्धहरु नबिगारी सफल हुनेछौं र चिनिने अनि चिनाउने छौँ आफ्नो अस्तित्व । देखाउनेछौं समाजलाई हामि हुनुको अर्थ

    बाबाजीको लेखाइ अझै यसैगरी खारिंदै जाओस र हामि जस्ता लेख्न प्रयास गर्नेहरुलाई प्रेरणा मिलिरहोस । शुभकामना

    जदौ !!!

    सुरज अर्याल
    http://www.arlsuraj.com

  19. Mira Dhakal भन्नुहुन्छ:

    राम्रो लाग्यो ।🙂 नयाँ कथा छिट्टै पढ्न पाइयोस ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )