डर


fear_2

‘फेरी गाउँ डुल्चस यस्तैगरी?’

‘नाँइ आमा….जान्न….’

‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’

नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’

मैले यसरी आलाप विलाप गरेर रुन्चे प्रतिबद्दता जनाएँ, मानौँ म अब आमाको अनुमति बिना आची गर्नपनि जान्न । मलाई सिस्नोपानीको ‘कारवाही’पछि आमा मेरा जिउमा उठेका सिस्नोका चाला र थप्पडका डामहरु छाम्दै मलाइ अँगालो हालेर आफै रुन थाल्नुभयो । एकछिन आमा र म दुबै रोयौँ ।

~~~~

तिन कक्षामा पढ्थेँ म त्यतिबेला । स्कुल जान हिँडेको म, रास्कोटी दले, कमले आचार्य, जेठाबाको छोरा स्यान्दाई, जो म भन्दा एक महिनाजतिले जेठो थियो, यीनीहरुकै उक्साहटमा लागेर बिच बाटोबाटै बाँदर लखेट्न लागेँ स्कुल हापेर । घरदेखी एक कोस जतिको दुरीमा ठुलो जंगल थियो, जलुकेको जंगल । त्यतातिर बाँदर त सामान्य थियो, दिउसै बाघ पनि लाग्थ्यो । त्यसैले त गोठालाहरु गाईबस्तु चराउन ठुलै हुल बाँधेर, कुकुर समेत लिएर जान्थे ।

बाँदरको खेद्ने बहानामा म तिनै गोठालाहरुको पछि लागेर स्कुल जान छोडेर जलुकेको जंगलतिर लागेँ । दिनभर झुप्राखोलामा पौडी खेलियो, तातो बालुवामा छाती र पिठ्युँ सेकियो, बाँदर खेदियो । दिन ढल्दैगयो, हामीहरु बाँदर खेद्दै खेद्दै जंगलको अँझ भित्र-भित्र पुग्यौँ । बाँदर खेद्ने ध्याउन्नमा गोठालाहरुले गाईबस्तुहरु समेत छोडिदिए । धन्न कुकुरहरु गाईको रखवाला भएछन् ।

बाँदर लखेट्दा लखेट्दै झमक्कै रातपर्यो । हामी अनकन्टार जंगलको बिचमा थियौँ । कतैबाट निस्कने बाटो देखिएन । बल्ल हाम्रो सातोपुत्लो गयो । हामी ४ जना थियौँ, स्यान्दाई, दले, कमले र म । जंगलको बिचमा फसेकोले म रुन थालेँ । हामीहरुमध्ये दले अलि ठुलो थियो र मगरको छोरो उ हामीभन्दा निडर पनि थियो । म क्वाँक्वाँ रुन थाले ।  यत्तिकैमा दलेले भन्यो-‘ए…चुप् । रोयो भने जंगलमा भुत, राक्षस्, चुरेनीबाई र बाघले खान्च।’

मेरो रुवाई घाँटीभित्रै दवियो, आँशु आँखामै बिलायो क्षणभरमै ।

दलेले जुक्ति निकाल्यो-‘यहाँबाट फर्कनेबाटो हामी कसैलाई पनि थाहा छैन । त्यही भएर अँझ अगाडि बढौँ, कुनै न कुनै गाउँ त आईहाल्ला नि!’

हामीले दलेको भनाईमा चुपचाप समर्थन जनायौँ, अर्को उपाय पनि त थिएन हामीसंग ।

अनकन्टार जंगलमा आधाराति हामी ४ जना ‘फुच्चे’हरु गन्तब्य बिनाको यात्रामा हिँडिरहेका थियौँ । दलेबाहेक हामी तिनजना त १० बर्षपनि पुगेका थिएनौँ । दले चाँही १४ बर्षजतिको हुँदो हो ।

जंगलमा बयरका काँडा, मैनफलका काँडा, धाईरोका झ्याँङमा अल्झेर हाम्रा जिउका लुगा च्यातिईसकेका थिए भने खुट्टामा काँडाले कोतरेर रगत बग्न लागिसकेको थियो तर यतातिर कसैको ध्यान थिएन ।

अन्ततः घडी हेरेको भए त्यस्तै ४ घण्टाजति हिँडेपछि हामीहरुले एउटा घर देख्यौँ । सबैजना खुसी भयौँ गाउँ भेटियो भनेर । तर त्यो गाउँ नभई झुप्रा खोलाको घट्ट रहेछ । अनि त्यो ठाउँ चन्द्रपुर रहेछ । घट्टमा केही मान्छेहरु आगो तापेर गीत गाईरहेका थिए । मैले यस्सो हेरेँ, चिनेका कोही थिएनन् । २ जना केटा र ३ जना केहीहरु थिए । उनीहरु दोहोरी खेलिरहेका थिए । सुरुमा त उनीहरु च्यातिएका लुगामा रगतपिच्छे हामीलाइ देखेर डराए । अनि दलेले हाम्रो अवस्थाको बेलीबिस्तार लगायो ।

मंसिर महिनाको रात उसैपनि जाडो, त्यसमाथि एकसरो लुगाका भरमा म बिहान स्कुल हिँडेको थिएँ । त्यही लुगा पनि अहिले त धुजाधुजा भैसकेको थियो । पिठ्युँमा बोकेको झोला मैतिर फर्केर ङिच्च हाँस्दै मैलाई गिज्याएझैँ लाग्थ्यो ।

घट्टालुहरुले हामीलाई त्यहीँ बास दिने भए । दले दोहोरी गाउने समुहमा मिसियो, स्यानदाई रमाईलो हेर्छु भनेर आगो ताप्न थाल्यो । कमले र म भने अरुभन्दा कमजोर पनि थियौँ र ‘हामी त सुत्ने’ भन्यौँ । केटीहरु मनकारी रहेछन्, एकएक मुठी मकै र मोही खान दिए हामीलाई ।

तीनताका गाउँघरमा मिल थिएनन् । घट्टमा अनाज पिस्न हुल बाँधेर जाने चलन थियो । यसरी घट्ट जानेहरुले आफुलाई चाहिने खानेकुरा पनि पकाएर लाने गर्थे । घट्टमा पालो आउन ३–४ दिन समेत लाग्ने हुँदा धुने लुगा समेत बोकेर जान्थे कोहीकोही । घट्टमा केटीहरु आउने हुँदा केटाहरुका लागि पनि त्यो रमाईलो गर्ने उपयुक्त थलो हुन्थ्यो । गान्धर्व बिबाहका लागि घट्ट गजबको थलो थियो । कतिका त ‘घट्ट-पिरती’कै कारण बिहे नभईकनै ९ महिनापछि पुत्र या पुत्री लाभ पनि हुन्थ्यो । अनि बाउआमा यस्ले मेरो नाक काटी भन्दै रुँदै गाउँ चहार्थे । तिनताका परिवार नियोजनका अस्थायी साधन र आईपिल बारे कसलाई के थाहा?

एउटी केटीले मेरो हातगोडा छामी । मेरा नरम हातगोडा चिसाले हिउँ जस्ता भैसकेका थिए भने काँडाले घोचेर बगेका रगतका टाटा सुकेर काला भएका थिए । उसले आफ्नो काखमा तान्दै ओढ्ने ओढाई र यही सुत भनि । म पनि न्यानो काख पाएको मौका किन त्यसै खेर फाल्थेँ र !

भोलिपल्ट छ्याङ्गै उज्यालो भएपछि उठेँ । दोहोरी सकिईसकेको रहेछ । मलाई गुन्द्रीमा सुताएकी केटी राती नै दोहोरी गाउने अर्को केटासंग टाप कसिसकेकी रहिछ । राती मलाई ओढाएको रातो पछ्यौरा आफुले नै लगेर घट्टका मालिकको पाखी ओढाईदिएका रैछन् मलाई ।

दलेको नेतृत्वमा हामीहरु घर जान हिँड्यौँ । रातभर जंगलको यात्राले फेरी त्यो अनकण्टार जंगलमा घुस्ने दुस्साहस कसैले गरेन । हामीहरु झुप्राखोलाको बाटो घरतिर लाग्यौँ । सबैले जानेको ठाउँ भनेको विजुली पावर हाउस भएको ठाउँ थियो, जहाँ हामीहरु अबैधानिक रुपमा बेलाबेला स्कुलबाट भागेर पौडी खेल्न जान्थ्यौ भने बैधानिक रुपमा स्कुलबाट पिकनिक जाने थलो पनि थियो । पावर हाउस भन्ने नाम मैले धेरैपछि सिकेको हुँ, उतिबेला म पाउरस भन्थेँ त्यसलाई ।

बल्लतल्ल हामीहरु आफ्नो गाउँमा पुग्यौँ । गाउँमा पुगेपछि एकप्रकारको खुसीको तरंग जिउमा फैलियो । पिसाबले च्यापेका बेला पिसाब फेर्दा आनन्द आएर जिउ तरंगित भएझैँ कम्पन भयो मेरो शरिर । उत्तिनै खेर टमटा जुठे भेटियो बाटोमा । उ मसंगै पढ्थ्यो र नम्बर एक फटाहा थियो आनीबानीका हिसाबले ।

‘तिमोरु काँ बेपत्ता भाथेउ हँ ! गाउँभरी, स्कुलभरी तिमोरुलाई खोज्या खोज्यै छन् । बाघले खायो कि भनेर कोही कोही त जलुकेतिर गुरुपै बनाएर खोज्न पनि गाछन ।’

जुठेका मुखबाट यतिका कुरा सुनेपछि डरले मेरो सातो गयो । स्कुलबाट भागेको एक दिनपछि घर पुग्दा मैले आमाका हातबाट कतिको धुलाई खानुपर्ने हो ! मैले कल्पना गर्ने सकिन । एकाएक सबैतिर धुलाम्य देखेँ मैले ।

~~~~

आमाको हातबाट धुलाई खाएको पन्ध्रदिन जति भएको थियो क्यारे ! दिनदिनै कापी, किताव या कलम हराउने मेरो बानीबाट आमा आजित हुनुहुन्थ्यो । हिजैमात्र किताब हराएपछि आमाले हेडसरलाई भनेर एक सेट थोत्रा किताब मिलाईदिनुभएको थियो । किताब थोत्रा थिए तैपनि म खुसी थिएँ कम्तिमा किताबै नभएर म फेल हुनेछैन भनेर ।

तर आजै फेरी छप्रेली गणेशले मेरो किताप कापी र डटपेनमा धावा बोल्यो । त्यसो त मलाई हरेक दिनजसो डर देखाउने उही थियो । बाटो छेकीछेकी पिट्थ्यो मलाई उ । म सानो थिएँ । गणेश पनि मसंगै पढ्थ्यो तर उमेरमा म भन्दा ५ बर्षजति जेठो हुँदो हो । कक्षामा म पढ्नमा तेज थिएँ तर मैले आफ्नो मात्र नभई अरुको समेत गृहकार्य गर्नुपर्ने हुँदा सरहरुको नजरमा पर्नसक्ने परिणाम ल्याउन संधै हम्मेहम्मे पर्थ्यो ।

छप्रेली गणेशले आफ्नो गृहकार्य नगरिदिएको निहुँ पारेर मेरो झोला खोस्यो । म उसको डरले यतिसम्म त्रसित दिएँ कि, न उसको कर्तुत स्कुलमा सरलाई भन्न सक्थेँ न घरमा आमालाई । किनकी यसले पहिल्यै मलाई यीनै सम्भावित कुराहरुबारे सचेत गराउँदै भनेको थियो–‘सरलाई वा घरमा बा आमालाई भनेर बचुँला भन्या होलास्, दिनदिनै तलाई न सरले जोगाउँछन न तेरा बा आमाले । ईण्डिया देखेको मान्छे हुँ म ! तँलाई पिटेर बेपत्ता हुनसक्छु ।’

अरुको गुहार माग्न खोज्दा मलाई उसको यही भनाइले संधै त्राहिमाम बनाईरहन्थ्यो ।

छप्रेली गणेशले मेरो डटपेन र किताप कापी खोस्यो । म ओईलाएको कर्कलाको डाँठ झैँ लुत्रुक्क परेँ । हातखुट्टा लुलिए।

‘आज फेरी साँझ घरमा आमाले झोला जाँच गर्दा डटपेन कापी खै भनेर कुट्नुहुने भो !’

म स्कुलछेउको पिपलको फेदमा घोसेमुन्टो लाएर बसेको थिएँ । दिपक म छेउ आए । उनी म भन्दा दुईबर्ष जेठा थिए तर हामीसंगै पढ्थ्यौँ । म उनलाई दाई भन्थेँ । त्यतिबेला उनी र म कक्षाको सबैभन्दा मिल्ने साथी थियौँ । मैले दिपकलाई सबै कुरा भनेँ ।

दिपकले जुक्ति निकाले–‘भागौँ !’

‘नाईँ’

‘किन?’

मैले अस्तीको रामधुलाई सम्झिएँ ।

दिपकले मलाई फकाए–‘तैँले उसैपनि कुटाई खानपर्च घराँ गएर । त्यो भन्दा त बरु भागेकै राम्रो नि !’

दिपक र म भागेर जंगलतिर लाग्यौँ । बाटोमा फिनिकाँडे हिमे भेटियो । हामी दिनभर हिमेको पछिपछि लाग्यौँ । हिमे दिपकहरुको गाईबाख्रा हेर्ने गोठालो थियो । हिँड्दा-हिँड्दै हामी मेरो ठुलाबाको घर भएको ठाउँ ‘खोरिया’ पुगेछौँ । बाटामा ठुलाबा भेटिए । मैले ठुलाबा भेटिएको खुसीमा सबै कुरा बिर्सिएँ । दिपक र हिमे घर फर्किए ।

ठुलाबाले मलाई घरमा लगेर खिर पकाएर खुवाए । ठुलीआमाले काखमा सुताईन् ।

‘भागेर पनि यति मिठो खान पाईने रैछ कहिलेकाँही !’ म दंग परेँ ।

भोलिपल्ट बिहानै मुखिया ठुलाबा बोलेको सुनेँ । मेरै नाम लिएर कुरा गर्दैथिए । ठुलीआमा भित्र आउनुभो र मलाई सोध्नुभो–‘तँ स्कुलबाट भागेर आको होस?’

म फतक्कै गलेँ । जवाफ फर्काइन । उहाँले कुरा बुझ्नुभो यतिभएपछि । अनि पोकामा केहीकुरा हालेर मलाई मुखिया ठुलाबाको जिम्मा लगाउनुभयो । मुखिया ठुलाबाले मलाई कन्दरकुटीमा हालेर घर ल्याउनभो ।

घरमा आमाले धुलाईको सबै तयारी पुरा गर्नुभएको रैछ । मलाई देख्नेबित्तकै आमाका राता आँखा धपक्क बले । कालो अनुहारमा राता आँखा – आमा निकै भयानक देखिनुभयो । मैले दशैँमा बाले चण्डी पढ्दा बताएको महाकालीको प्रतिमुर्ति देखेँ आमामा । केही रिसले र केही रातभरको रुवाईले आमाका आँखा राता भएका थिए ।

म मानसिक रुपमा तम्तयार थिएँ कुटाई खान । तर मुखिया ठुलाबाले नकुट भन्नुभो । मलाई मुखिया ठुलाबा मेरै घरमा बस्दिए हुने झैँ लाग्यो । केहीबेर पछि उनी गए घरतिर । आमाले मलाई लिस्नोमा बानेर मजाले, चाहेजति कुट्नुभो । म यति रोएँ कि मलाई नै थाहा छैन कति रोएँ?

साँझपख आमाले तेल तताउनुभयो । मलाई फेरी डर लाग्यो, यी बुढीले अब मलाई तातो तेल खन्याएर मार्छिन भनेर । भाई थियो आमाको काखमा । उसलाई भुँईमा राखेर मेरा जिउमा भएका कुटाईका डामहरुमा तेल लगाउन थाल्नुभो अनि बेस्मारी रुनुभयो ।

म फेरी एकपटक आमासंगै रोएँ ।

~~~~

मैले आमालाई म स्कुलबाट किन भाग्छु भन्ने कुरा कहिल्यै पनि भनिन । किनकी नभन्दा एकोहोरो चुटाई छ भने भनेमा दोहोरो चुटाई । तर यो मेरो भ्रम मात्र थियो, किनकी मैले त्रसित त दुबैतिरबाट हुनु परिरहेको थियो ।

~~~~

‘तिमी कहाँ हो हँ?’

‘म सानो एउटा पार्टीमा ।’

‘१० बजिसक्यो अँझै पार्टीमा?’

‘अँ…..मसंग सवारी-साधन छैन नि त । त्यसैले अरुको लिफ्ट मागेर आउन पर्खिराखेको ।’

मोवाईलको लाईन कट्यो । म केहीबेर साथीहरुसंग अलमलिएँ । राती ११ बजेतिर घर पुगेँ । उनी रिसाएर बसेकी रहिछन् । मलाई बडो नमज्जा लाग्यो, दुनियाँसामु राम्रो हुन र मनराख्न जाँदा–जाँदै हामीहरु आफ्नै नजिककाहरुबाट नजान्दा–नजान्दै कहिलेकाँही टाढिईरहेका हुँदारहेछौँ । जतिबेला थाहा हुन्छ त्यतिबेला समय धेरै घर्किईसकेको हुँदोरैछ ।

मैले उनलाई फकाउने प्रयास गरेँ । उनी टसको मस भईनन् । अहँ…..उनको रिसको पारो ओर्लिएन । गल्ती मेरै थियो ।

‘शहरिया प्रतिस्प्रर्धामा सहभागी हुनखोज्दा म परिवारबाट अलग पो बन्दै गईरहेको रहेछु । हप्तामा पाँच दिन अफिस, बिदाका दुई दिन कैले साथीहरुका निम्ति, कहिले आफ्नो रुचि र आत्मसन्तुष्टिका अरु निजी कामहरुका निम्ति । मेरो घरपरिवार छ, श्रीमति छ, छोरी छ भन्ने कुरा त केवल उनीहरुसंग भेट हुँदा मात्र सम्झना आउने ।’

ब्यवहारले यस्तै बोलेको हुँदो हो मेरो । त्यसैले त हरेक दिन उनी गनगन गरिरहन्थिन, लौन आज संगै बसौँ, लौन आज छोरी लिएर फनपार्क जाउँ, लौन आज दक्षिणकाली जाउँ । तर म ख्वै किन हो यी कामका लागि समय निकाल्न सकिरहेकै थिईन ।

उनका यी जायज मागहरु बिस्तारै मेरालागि त आतंक जस्तै बन्न थालेका रहेछन । साथीहरुमाझ हुँदा उनको फोन आए म त्रसित हुन थालेछु मनोबैज्ञानिक रुपमै । मलाई उनको मायामा माया नभईकन डर पो देखा पर्न थाल्यो त !

~~~~

उज्यालो भयो, राती नानाथरीका कुराहरु मनमा खेलेकोले राम्रोसंग निन्द्रा परेको थिएन । त्यसैले बिहान उज्यालो भएपनि चाम्रिएर सिरक च्याप्दै म सुतेकै थिएँ । पुगनपुग तिनबर्षकी मेरी छोरीले सिरानीछेउ आएर सिरक तान्दै भनी–’बाबाजी, हजुर हिजो कता हराएको मलाई कथा सुनाउन छोडेर?’

‘म काममा थिएँ सानु । सानुलाई म आज सुनाउँछु नि कथा ।’

रिसाउँदै उसले जवाफ फर्काई–‘हजुर आजभोलि राती राती किन ढिलो घरमा आको?’

म चकित भएँ–‘तिनबर्षको मान्छेले त अर्कोलाई थर्काएर डर नै देखाउन खोज्छभने शक्ति हातमा हुनेहरुले किन अरुलाई डर नदेखाउन् ! आखिर डर देखाउने र डर मान्नेहरुकै घम्साघम्सी त रैछ जीवन !’

जीवनको आधा यात्रामात्र पार गरेको छु मैले आम नेपालीको औसत उमेरलाई हेर्ने हो भने । थाहा छैन अँझ कतिबाट के कस्ता डरहरुको सामना गर्नुपर्ने हो?

म जुरुक्क उठेर बाथरुम गएँ । बाथरुमको ऐनामा अनुहार हेरेको त आफैलाई देखेर डर लाग्यो । डेढ महिना भएको रहेछ दारी नकाटेको । कपाल नकाटेको त करिब दुईबर्ष नै भईसकेको थियो । त्यसमाथि एकहप्तादेखि नुहाएकै थिईन, चाँयाले फुस्रो–फुस्रो भएको रैछ । राति अनुहार नढाकिकन सुनेको हुँदा चिसोले आँखा सुन्निएका, आँखाका कापकापमा चिप्रा जमेको । छ्या ! आफ्नै अनुहार कस्तो घिनलाग्दो अनि कति डरलाग्दो भएको !

~~~~ï~~~~

About baabajee

just human
This entry was posted in कथा and tagged , , , , . Bookmark the permalink.

डर का 19 वटा प्रतिक्रियाहरु

  1. Prateek भन्नुहुन्छ:

    Touched… Simply a very Good Piece to recollet memories from anyone’s past….. It did it to me as well…. Most of the incidents matched besides the last part coz not in that condition yet🙂

  2. छुचो केटो (@Chhucho_Keto) भन्नुहुन्छ:

    लेखाइ गजब छ । पढ्दै जाँदा कहाँ कहाँ बिझाउँछ कथाले, हुनत मैले यो जीवन भोग्न पाइन तर जति भोगें त्यो आफैंमा कम चाहिं थिएन सायद, आमालाई रुवाएको छु मैले पनि उसैगरी । घर छाडेर हिनेको छु म् पनि त्यसैगरी अनि फेरी साथीभाईमाझ सोझो हुनुको अर्थात सोझो हुन खोज्नुको परिणाम पनि भोगेको मैले पनि उस्तै पाराको ।
    त्यसैलेप अनि होला, कथा पढ्दै जाँदा आफ्नै जस्तो लागेर चसक्क भैरहयो कहीं कतै । निकै राम्रो लेख्नुभएको छ । यस्तै लेखाइको निरन्तरताको कामना

    शुभकामना बाबाजी🙂

  3. Tek Raj भन्नुहुन्छ:

    काकाको लेखाइ मा ठाँउ र पात्र फरक तर आम मान्छेकै आफ्नै कथा भेट्छु मैले त, हुन् त हाम्रा काका आमबाट खास हुदै जानुभछ … खुसि लाछ

  4. अनन्त कोइराला भन्नुहुन्छ:

    लेख्न चैं गज्जपै लेखेचन् तर कति लामो लेख्न सकेका हुन् भनेर दंग पर्छु म😛 यी पनि धारावाहिक लेखक हुने रै’छन्😛

  5. Nirmal भन्नुहुन्छ:

    waw brother, what a touching writing, keep writing😀

  6. Nab भन्नुहुन्छ:

    Prakash uncle, it touches me too, now i’m remembering our classmates their behaviours…………ha a ramailo hai…..ani tyo juthe laai ta maile birseko rahechhu ni ……….hehe

  7. Krishna H Humagain भन्नुहुन्छ:

    Short and sweet; teaches you some lesson as well. I appreciate the way of your presentation.

  8. Krishna H Humagain भन्नुहुन्छ:

    Could not leave until the end. Swet and good lessons as well. Appreciate the way of your presentation.

  9. dhruv भन्नुहुन्छ:

    राम्रो छ बाबा जी ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )