भोक भाग -२


‘आमाको माया’

“मैले जागिर पाएँ आमा”–सायद यस्तै भन्दो हुँ मैले यदि म घर मै भएको भए । अनि आमाले पनि छोराले जागिर पाएको कुरा गर्वका साथ भन्थिन होला आफ्ना छिमेकीहरुलाई ।mother_1

तर यतिबेला मसंग न मोवाईल थियो न चिठी लेखेर पोष्ट गर्नलाई पैसा नै । तैपनि म खुसी थिएँ, किनकी मैले हिजोबाट आफ्नो पेट आफै पाल्नका निम्ति नोकरी सुरु गरेको थिएँ ।

नेपालगञ्ज घर बताउने नेपाली (जो बादी जातका ब्यक्ति थिए, पछि उनले बताए अनुसार) जसले सुरतको भटार चोकमा चाईनिज खानेकुराको लारी चलाउँथे । उनले हिजैमात्र दया गरेर मलाई पेट भरुन्जेल फ्राई राईस खान दिएका थिए । भलै उनले बदलामा प्लेट मझाए, त्यो कुरा आफ्नै ठाउँमा छ।

संयोगबश हिजै उनको चाईनिज लारीमा एकजना मारवाडी सेठ आफ्नो ब्यापारबाट फुर्सद निकालेर खान आईपुगेका रैछन् । नेपालीले नयाँ केटो काममा राखेको देखेर उनले सोधे–“अवे बहादुर ! काम कर्नेवाला नयेँ लड्का लाया है क्या ! ”

नेपालीले  “नहीँ साहब” भन्न नपाउँदै सेठले थपे–“मुझे भि मिला दो यार एक लड्का ।”

नेपालीले भने–“ईसको हि लेजाओ साहब । पढालिखा लड्का है, जो काम बोलोगे ओ करेका ।”

यसरी म हिजो मात्रै नयाँ नोकरी प्राप्त गर्न सफल भएको थिएँ । सेठले दोकानमा बस्ने भनेर मलाई नोकरीमा लगेको थियो । पुरानो बजाजको स्कुटरमा बसेर म उसको घरमा पुर्याईएँ । सेठले मलाई कामको विवरण सुनायो ।
मैले पनि आफ्नो परिचय टुटे फुटेको अँग्रेजीमा दिएँ “ मै एजुकेटेड लड्का हुँ । नेपालमे बोर्डिङ स्कुलमे टिचर था । ट्रिटमेन्टके सिलसिलेमे यहाँ आया था । लेकिन लानेवाले दोस्त ने धोका दिया और मै सडकछाप होगया ।”

सेठलाई म माओवादी द्धन्द्धका कारण नेपालमा बस्न नसकेर यहाँ आएको हुँ भन्न सकिन । किनकी उसैपनि यतिबेला यहाँ नेपाली भन्नेवित्तिकै माओवादी हुन कि भनेर आशंकाको दृष्टिले हेर्न सुरु भैसकेको थियो । बेला बेलामा भनेको सुनिन्थ्यो–“आज रेलवे टेशन नजिकैको बगिँचामा नेपाली माओवादीहरुको भेला छ अरे !”

काम सुरु गरेको दिन, सेठले मलाई दोकानमा पुर्यायो । त्यहाँ अर्को एकजना मारवाडी केटा पनि रहेछ । मलाई देख्ने बित्तिकै त्यो केटाले कुकुरले बिरालोलाई घुरेर हेरेझैँ हेर्यो । मलाई उसको हेराई पटक्कै मन परेन ।
“के हेर्याछस् झ्याँक्ने !” भन्दिम् कि झैँ लाग्याथ्यो एकचोटी त मुखै फोरेर । तर जरुरी ठानिन अनि भनिन ।

सेठको दोकान मिनी डिपार्टमेन्टल स्टोरको झल्को दिने खालको थियो । हल्का पढ्लेखेको हुनाले सेठले मलाई अघोषित रुपमा सेल्समेनको जिम्मेवारी सुम्पेर त्यहाँबाट हिँडे । अर्को केटा मसंग बोलेन, मैले नै कुराको सुरुवात गरेँ–“कहाँ से हो तुम ?”

“तु बता ना !” त्यसले निकै च्याँठ्ठिएर जवाफ फकार्यो ।

“नेपालसे” मैले सम्हालिएर भने ।

“माओवादी तो नहिँ है?” बडो हेपेर बोल्यो उ ।

मैले आँखा मात्रै तरेँ बोल्न मनै लागेन त्योसित ।

दोकानमा ग्राहक आउन थाले, शहर भन्दा अलि टाढा गाउँजस्तो ठाउँमा दोकान थियो । दोकानमा आउने ग्राहकहरु मैले नबुझने भाषामा सामान माग्थे, म नबुझेर त्यही केटाको सहारा माग्थेँ । दिनभरमा दोकानमा आएका करिव २०० ग्राहकहरुमध्ये मैले मुश्किलले १५ जनाको मात्र भाषा बुझेँ हुम्ला । जागिर पाउँदाको जुन उत्साह थियो, पहिलो दिनमै ५० प्रतिशत गिर्यो ।

साँझ दोकान बन्द गरेर सेठको घरमा गयौँ त्यो केटा र म । सेठले सुत्नका लागि कोलिया र ट्वाईलेटको बिचमा रहेको खुल्ला ठाउँ देखाएको थियो ।  त्यहाँ अर्कोपनि ओच्छ्यान थियो, जसमा त्यही केटो सुत्थ्यो । खाना खाएर म अलि छिटो सुत्न गएँ, त्यो केटो कतिखेर सुत्न आयो थाहा पाईन ।

भेलिपल्ट बिहान दोकानमा जाने तर्खर गर्दैगर्दा सेठले भने– “कान्चा, तु दुकानमे मत जा आज । तेरेको मै दुशरे जगे पे ले जाउँगा ।”

उसको कुरा स्विकार्ने बाहेक मसंग अरु विकल्प पनि त थिएन । म चुप लागेर उसको कुरा मानेझैँ मुन्टो हल्लाएँ । नयाँ ठाउँ के रहेछ? के काम रैछ, यस्तै सोच्दै थिएँ, सेठको पुरानो बजाज स्कुटरको टिर्ररररर हर्नले झल्याँस्स बनायो । उसले मलाई स्कुटरको पछि बसालेर लग्यो ।

काम सुरु गरेको दोश्रो दिनमै मेरो नयाँ काम सुरु हुँदैथियो । अघोषित रुपमा पहिलो दिनको कामबाट म असक्षम सावित भएर दोश्रो काममा ल्याईएको थिएँ । काम रहेछ– अर्डर भएबमोजिमको खाना पकाएर तोकिएको ठाउँमा पुर्याउनु पर्ने । जुनकामका लागि खाना पकाउने हेड कुक अर्थात मारवाडी महाराज एकजना र बाँकी दुईजना उसका सहायक । चौथो पात्र म थपिएको थिएँ त्यसमा ।

सेठले मलाई उनै महाराजको जिम्मा लगाएर त्यहाँबाट फर्कियो ।

पहिलो दिनमा महाराजले मलाई धोएका थाल पुछ्ने र खाना बोकेर अर्डर गरिएको ठाउँमा पुर्याउने काम मात्र लगायो ।
हाम्रा गाउँघरतिर एउटा युक्ति छ–“पहिलो दिन आ पाहुना, दोश्रो दिन जे दिन्छौँ खा पाउना, तेश्रो दिन जहाँ मन लाग्छ जा पाहुना” भन्ने । मेरो लागि यो युक्ति सत्य सावित भयो । किनकी पहिलो दिनमात्र भड्किएला भनेर मलाई थाल पुछ्ने काम लगाईएको रहेछ । दोश्रो दिनबाट मलाई मैले नै नसोचेको काम लगाईयो ।

काम थियो-जुठा भाँडा माझ्ने ।

एकसय पचास जना मानिसले खाएका जुठा थाल कचौरा ल्याएर मेरा अघिल्तिर राखेर महाराजले भन्यो–“कान्चा ! आधा घण्टेमे ए सारे साफ करना । हम पाल्टी लेकर दुसरे जगे पे जाएँगे ।”

मेरी आम्मै ! एकसय पचास सेट थाल कचौरा ! त्यो पनि आधा घण्टामा सफा गरिसक्नुपर्ने?

मेरो चेत सातो उड्यो, दंगदास परेँ, दोकानमा सेल्समेन बनाईने भनेर ल्याईएको म कहाँ जुठाभाँडा माझ्ने काममा आईपुगेँ ।

विकल्पविहीन अवस्थामा मानिसले आफ्ना अघिल्तीर आएका जत्रासुकै समस्याहरु पनि चुपचाप स्विकार्नु बाहेर अरु के नै पो गर्न सक्छ र?

म पनि ति भाँडा माझ्न बाध्य थिएँ ।

भाँडा माझ्दै गर्दा कतिखेर आँखाबाट बलिन्धरा आँशु बग्नपुगेछन थाहा नै पाईन मैले ।

अब मेरो दैनिकी नै पाल्टीबाट ल्याईएका जुठा थाल कचौरा र खाना पकाएका आफु भन्दा ठुला डेक्चीहरु साफ गर्नु थियो ।

छेवैमा खुल्ला चौर थियो, फालिएका जुठा खानेकुरा खान त्यहाँ सुँगुर र कुकुरको ताँती लाग्थ्यो ।

पेटमा ज्वारभाटा झैँ उम्लिरहेको भोकको डहन मार्ने खानेकुराका निम्ति छिनाझम्टी गर्दा ति कुकुरहरु यतिसम्म हिंस्रक हुन्थे कि कैयौँ दिन उनीहरु मिलेर सिँगै सुँगुर खाएको मैले देखेको थिएँ ।

आधा महिना भइसकेको थियो मेरो भड्डु मेनेजरको जागिर । घरमा भाँडा माझेको अनुभव म यहाँ पोख्दैथिएँ । तर यतिका धेरै भाँडा एकैचोटी माझ्नुपर्ला भनेर मैले सपनामा पनि चिताएको थिईन । अरुका जुठा थाल माझ्दा घिनाएर मेरा हातका औँलाका कापहरु पाक्न थालेका थिए ।

दिन त जसोतसो बित्दथ्यो तर रात कटाउन निकै मुश्किल हुन्थ्यो, कापहरु पाकेर हात छोइनसक्ने गरी दुख्थ्यो, हात भन्दा अँझ बढि मन दुख्थ्यो, हरेक रात म नरोएको सायद हुँदैनथ्यो होला ।
…………………………………………………………………………………………………………………………

एकपटक घरमा तारु गाई ब्याएको थियो । गाई ब्याएपछि हाम्रातिर केटाकेटीहरुलाई उत्सवजस्तै हुन्छ, ब्याउँती खानका लागि । त्यतिमात्रै हैन–मेरा घरमा गाई ब्या’छ तर तँलाइ म ब्याउँती खान बोलाउन्न भनेर साथीहरुलाई धाक पनि खुब दिईन्थ्यो ।

तारु गाई ब्याएको एकहप्ता पनि नबित्दै बाच्छो मर्यो, आमा खुब रुनुभयो । म पनि रोएँ । बाच्छो मरेकोले हैन, आमा रोएकोले रुनुपर्छ होला भन्ठानेर ।
यसरी आमाका साथ लागेर बच्चाबेलाँ खुब रोईयो तर जब रुवाईको महत्व बुझ्दै जान थालियो अनि आमालाई खिसीकाढ्न थालियो–“हाम्री आमा त बिरालो मर्दा पनि रुन्छिन” भनेर ।

आज मैले ‘बिरालो मर्दा पनि रुने’ उनै मेरी आमालाई झल्झली सम्झिरहेको थिएँ ।

अबे इसको काम करना है कि नहिँ है? – महाराजको रुखो आवाजले बिउँझायो मलाई । राती अबेरसम्म मनमा कुरा खेलेकोले निँद्रै परेन । बिहान कतिखेर निदाएछु थाहै भएन । महाराजको आवाजले विउँझाएपछि मुन्टो तन्काउँदै झ्यालबाट बाहिर हेरेको त छ्याँङ्गै उज्यालो भईसकेको रहेछ ।

महाराजले हिजै एउटा स्कुलको कार्यक्रमका लागि भोली बिहानै खाना लिएर जानु छ, सबेरै उठ्नु भनेर आदेश दिईसकेको थियो ।

उठेर ओछ्यान मिलाएर काम गर्न थाल्छु भनेको त हातका काप पुरै पाकेर चलाउनै नमिल्ने भएका । औँलाहरु टन्टनी सुन्निएका अनि पिप अहिल्यै झर्ला जस्तो भएर पँहेलो भएका ।

मैले महाराजलाई आफ्नो हात देखाउँदै आज म काम गर्न सक्दिन भनेँ । तर महाराजले सन्किँदै भन्यो–तु नहिँ करेगा तो तेरा बाप आ के करेगा ए काम?

“बाप मे मत जाना…., बोल देता हुँ….., ना मेरा घरका ठिकाना है तुम्हारे पास, ना हिँ तुम मेरेको अच्छी तरहसे जानते हो । ए बटाका छिल्नेवाला चाकुसे मारकर यहाँसे फरार हुँगा तो पुलिस भी पकड नहिँ पाएँगे, समझलेना ।”–एकमनले यस्तै भनेर तर्साउँ कि झैँ लाग्याथ्यो तर मसंग त्यहाँबाट फरार हुने हुति थिएन । उल्टो पुलिस बोलाएर पक्रायो भने जिन्दगीभर जेलमा सडिएला भन्ने डर । यस्तै सोचेर चुपचाप काममा लागेँ ।

स्कुलको कार्यक्रमका लागि पाल्टी खाना लिएर हिँड्यो ।

महाराजले विभिन्न परिकार पकाएको थियो । दिउसोको एक बजिसकेको थियो, स्कुलमा खाना खुवाउन महाराजलाई भ्याईनभ्याई थियो भने भाँडा माझ्न मलाई भ्याईनभ्याई थियो । हातको दुखाईले गर्दा मलाई हल्का ज्वरो समेत आएको थियो । त्यसमाथि भोकले उस्तै आकुलब्याकुल पारेको थियो ।
जतिसुकै भोक लागेपनि या ज्वरो आएपनि यहाँ मेरो समस्या सुनिदिने को नै थियो र ! सबैजना खान मै ब्यस्त थिए ।

करिब करिब सबैले खाईसकेका थिए, अन्तिमतिर स्कुलको पाले आईपुग्यो । उसले अघिदेखि मलाई हेरिरहेको रैछ । खाना थालमा हाल्दै उसले भन्यो–“बहुत देरसे तेरेको देख रहा हुँ, ऐसी हाथ से बर्तन साफ कररहा है? कोइ देखेँगे तो ऐसी हातसे साफ किएहुए प्लेटमे खाना खिलानेके लिए मारेँगे तुझको ।”

मैले सुनेको नसुन्यै भाँडा माँझिरहेँ । उ नजिक आयो ।

कहाँका है तु?–उसले सोध्यो ।

नेपालका ।– मैले जवाफ फर्काएँ  ।

नेपालका?–उसले आश्चर्यमिश्रित प्रश्न तेस्र्यायो ।

नेपाल, काँ?–फेरी बोल्यो उ ।

नेपालगञ्ज ।–मैले भनेँ ।

नेपालगञ्ज त मेरो पनि घर हो नि, उसले भन्यो ।

उसको र मेरो केहीबेर नेपाली भाषा मै कुराकानी भयो । आफ्नो भाषामा कुरा गर्न पाउँदा, मैले एकछिनलाई भएपनि हातको दुखाई र पेटको भोक बिर्सिएको अनुभुति गरेँ । उसैले मलाई हातको उपचार गराउन भन्यो र काम साह्रै अप्ठ्यारो भएको भए त्यो काम छोड्न सल्लाह दिँदै अर्को काम खोज्न आफुले सघाउने आश्वासन पनि दियो ।

स्कुलको नेपाली पालेले दिएको आश्वासनले मेरो क्षीण हुँदै गएको आत्मविश्वासमा उर्जा थपिदिएको थियो । त्यही उर्जाको बलमा म साँझ सेठसंग कुरा गर्ने मुडमा थिएँ ।

साँझ आठ बजेतिर सेठ पाल्टीको दिनभरको हिसाबकिताब बुझ्न त्यहाँ आईपुग्यो । म खाएका प्लेट कचौरा बाहेकका बाँकी पकाएका ठुला भाँडाहरु नमाँझि बसेको थिएँ । सेठले महाराजबाट हिसाब बुझेर हिँड्नैलाग्दा मैले बोलाएँ ।

क्युँ ? क्या हुवा ?–सेठले भन्यो ।

“मैँ काम करना नहि चाहता ।”

सेठले कारण सोध्यो ।

“आप देखो मेरी हाथ की हालत । मैने यीतने सारी बर्तन साफ करनेवाला काम अभितक नहि किया है, सो मै ए काम छोड्ना चाहता हुँ । आपको तो पता हि है, मै स्कुल टिचर भी हुँ । फिर मै यैसा काम कैसे करसक्ता हुँ? आपने मुझे दुकानमे काम करने के लिए बोलकर यहाँ लाए है । मुझे ए काम नहिँ करना है, मुझे मेरी हिसाब दे दो ।” टुटेफुटेको हिन्दी र अँग्रेजी मिसाएर मैले एकैसासमा सेठ सामु आफ्नो ब्यथा पोखेँ ।

सेठ एकछिन मौन भयो । अनि पकेटबाट केही रुपैँया निकालेर मलाई दियो र भन्यो–“देख, मैने तेरेको दुकानमे हि काम करनेके लिए लाया था । लेकिन तेरेको भाषा समझ आता हि नहिँ तो मै क्या करुँ? तेरे हालत देखकर मैने पाल्टीमे काम दिया था, वो काम भि तु कर नहि सका ।”

कुराकानीको बिट मार्दै उसले भन्यो– “देख, ए भुख क्या होति है मुझे भि अच्छी तरह से पता है । आद्मी अपनी भुखके लिए निच से बडकर निच काम करने के लिए भी मजबुर होता है । कहिँ काम नहिँ मिले तो आजाना ईधर, तेरे लिए मेरे दरवाजा ओपन है ।”

सेठ गयो, मैले काम छोडिसकेको थिएँ, मलाई फेरी भाँडा मझाउने काम कसैले गरेन । त्यो दिन म सबेरै सुत्न गएँ ।

……………………………………………………………………………………………………………………………………

पकेटमा भएको हजार रुपैँयाको तागतले म नयाँ कामको खोजीमा दुईचार दिन खर्च गर्न सक्ने भएको थिएँ । म आफ्नो झोला बोकेर हिजो खाना खुवाएको स्कुलको पालेलाई भेट्न गएँ ।

मेरो दुर्भाग्य, उसले हिजै काम छोडिसकेको रहेछ । मलाई त्यहाँको काम थाल्ने र छोड्ने चलन नयाँ लाग्न छाडिसकेको थियो । मानिसहरु केहीबेरमै नयाँ काम थाल्थे भने पुरानो कामपनि त्यसैगरी छोड्थे ।

भोकको मात्रा अनि आफ्नो बर्कत अनुसारको कामका लागि यो बिरानो शहरमा हजारौँ नेपालीहरु यसैगरी भौँतारिईरहेको मैले अनुमान लगाएँ, जसरी म भौँतारिईरहेको थिएँ । जसको सहारामा म यो नौलो शहरमा भित्रिएको थिएँ उसले त मलाई ल्याएकै दिनमा सडकमा अलपत्र पारेर बेपत्ता भएको थियो भने एकघण्टाको भोजभतेरमा फेला परेकोले दिएको आश्वासनमा विश्वास गरेर खाईपाई आएको जागिर छोडेर भौँतारिने ‘म’हरुको यस्तै हालत नभएको कस्को होला त?
म आफैले आफैलाई सराप्दै फेरी एकपटक भटार चौरस्ता वरपर लर्याङलर्याङ खुट्टा लतार्दै हिँडिरहेँ ।

“अरे प्रकाश भाई, तपाई यहाँ?!” कसैले आफ्नै नाम लिएर अचम्म मान्दै बोलाएझैँ लाग्यो । यताउता हेरेँ । नभन्दै मेरो छिमेकी गाउँको प्रेम कसेरा मलाई बोलाउँदै थियो ।

मपनि बिरानो ठाउँमा उसलाई यो हालतमा भेट्दा संकोच कम-खुसी ज्यादा भएको अवस्थामा पुगेँ ।

प्रेमले मलाई आफ्नो काम गर्ने ठाउँमा लिएर गयो । खाना पकायो, खाना खाँदै गर्दा मैले आफु कसरी त्यहाँ आईपुगेँ भन्ने कुराको बेलीबिस्तार लगाएँ ।
प्रेमले गम्भीर भएर मेरा कुरा सुन्यो र भन्यो–“ ढिलो चाँडोको कुरा मात्रै हो, आखिर मुग्लान नआई कुन नेपालीलाई खान पुग्याछ र प्रकाशजी ? कोही ह्याँ आउलान् त कोही अम्रिका जालान् । मलाई आफुले स्कुल छाडेर ह्याँ आउनुपर्दा खुप दुःखलाग्त्यो, तर आज तपाईँलाई पनि ह्याँदेख्दा बरु म छिटै आएर राम्रो गरेचु भन्ने लाईराछ ।”

प्रेम र मैले संगसंगै तिन कक्षासम्म पढेका हौँ । उमेरले उ म भन्दा करिब आठ बर्षजति जेठो होला । म पास भएर ४ कक्षामा गएँ भने उ फेल भयो । फेल भएपछि उसका बाउले बिहे गरिदिए । गरीब दलित समुदायको केटो, त्यसमाथि बेलैमा बिहेभएपछि प्रेमका सामु कमाउन ईण्डिया जानु बाहेक अर्को बिकल्प थिएन । नेपालमै हुँदो हो त सायद यतिबेला प्रेम माओवादी शशस्त्र युद्धमा सहभागी भईरहेको पनि हुनसक्थ्यो । आखिर युद्धमा सहभागी भएको कुनै हलानो या फलानो युवा होस अथवा मुग्लानिँया प्रेम, सबैलाई भोकले नै डुलाईरहेको त हो नि ! भोक मार्न कै लागि, पेट पाल्न कै लागि सबै ठाउँ-ठाउँमा पुगिरहेका त हुन नि ! मेरो निश्कर्ष यही थियो प्रेमलाई भेटेपछि ।

खाना खाएपछि, साथीको कर्मथलो नियाल्छु भनेको त प्रेमले भन्यो–“नेपालमा माओवादी विगविगी भएपछि यहाँ पनि सेठहरुले नचिनेका नेपालीहरु पालेको रुचाँउँदैनन ।” उसका सेठहरुले मलाई देखे नानाभाँती कुरा सोध्छन भनेर प्रेमले कोठाभित्रै बस्न आग्रह गर्यो । म पनि धेरै दिनदेखीको थकित भएको हुनाले कोठाभित्रै आराम गर्ने बिचारका साथ सुतेँ ।

साँझ प्रेमले मेरालागि औषधी ल्याईदिएको रहेछ, खाना खाएर लगाउनु भन्दै उस्ले मेरो हातमा औषधी थमाईदियो । प्रेम र मेरो सल्लाह अनुसार म मेरो उपचार नहुन्जेल उसैकहाँ बस्नेभएँ, लागेको खर्च प्रेमले बेहोर्ने र घरबाट मेरा बुवा आमाले त्यो खर्च उसको घरमा दिने कुरा भयो ।

विहान सबेरै खाना खाएर म दिनभर सुरतका विभिन्न ठाउँहरु घुम्नजान्थेँ, यो मेरो रहर थिएन किनभने प्रेमको नोकरी भएको ठाउँमा म दिनभर बसिँरहँदा उसका सेठहरुले म को हो? किन त्यहाँ आएको भनेर अनावश्यक आशँका गर्नसक्ने र त्यहाँ बस्न नदिनसक्ने कुरा उसैले सुनाएको थियो । त्यसैले म रातीमात्रै कोठामा आउँथे । यसरी आधा महिनाजति बितिसकेको थियो ।

एकदिन म प्रेमको कोठामा पुग्दा आश्चर्यले झण्डै बेहोस भईन । अनायसै आँखाबाट आँशुका धाराहरु निस्किए ।

“भयो, नरो”–आमाले गला अवरुद्ध पार्दै भन्नुभयो । ‘बिरालो मर्दा समेत रुन्छिन’ भनेर मैले जिस्काउने मेरी उनै आमा, हजारौँ माईल टाढा मलाई भेट्न त्यो बिरानो ठाउँमा आईपुगेकी थिईन् ।

डेढ महिना जति भएको थियो होला सायद मैले घर छोडेको । यस बिचमा मेरी आमै दुब्ली अनि काली भईसकेकी । ६३ किलोबाट घटेर उनको तौल ५६ किलो भएछ, उनैले सुनाएकी । आमाछोरा एकछिन दँग परेर एकअर्कालाई हेराहेर गरिरह्यौँ ।

आमालाई मेरो हालत बारे अध्यावधिक जानकारी दिएको र आफुकहाँ भएको सुचना उपलब्ध गराएको प्रेमले नै रहेछ । अनि प्रेमका भाईहरु र अरु कालिपारेहरुसंग साथ लागेर आमा मलाई भेट्नका लागि त्यहाँ आउनुभएको रहेछ ।

मेरी आमा अर्थात पौडेल जिम्दारकी कान्छी छोरी । जसले आफ्नो उमेरमा कहिल्यै अभाव देखिनन् । अनि जिम्दारकी छोरीको रवाफ सँधै कायम राखिन् ।  जातभातको मामलामा सँधै कट्टर उनै जिम्दारकी छोरी आज आफ्नै बाउका हली गोठालाहरुका छोराका साथमा लागेर, उनैले दिएको र छोएको खानेकुरा खाएर मलाई भेट्न सुरत आएकी थिइन् ।

सायद उनले सपनामा पनि चिताएकी थिईनन होला, यसरी उनी यो हालतमा मलाई भेट्न कुनैदिन यो पराया भुमिमा पुग्छिन भनेर ।

जात भन्ने कुरा समयले साथ दिँदा र शक्ति आफ्नो हातमा हुँदा मात्रै रहेछ, जब मान्छेको शक्ति क्षिण हुन्छ अथवा मान्छे निरिह हुन्छ उसले सबै जात एउटै देख्छ: मात्र मान्छे । न धनी, न गरीब, न महिला न पुरुष, न दलित न गैह्र दलित, केवल मान्छे । परेको बेला आफुलाई साथ दिने मान्छे, काटेपछि रगत आउने अनि दुखाई महसुस गर्ने आफुजस्तै मान्छे । आफु रुँदा पिरब्यथा बुझ्न सक्ने आफुजस्तै करुण मान्छे ।

मेरी आमाले पनि त्यतिखेर सायद मात्र एउटै जात देखिन मान्छे, र त तीनै कथित दलित र हली गोठाला ‘मान्छे’कै विश्वासमा मलाई भेट्न आईपुगिन यति टाढा ।

आमा र मेरो लामो कुराकानीपछि आमासंगै आएका एकजना सार्की बुढाले मलाई ब्यङ्य हान्दै भने–“ तिमी पुत्र हैनौ, कुपुत्र हौ । तिम्रै कारणले तिम्री आमाले न हंशले देखेको न बंशले देखेको ठाउँमा आईपुग्नुपर्यो ।”

……………………………………………………………………………………………………………………………………….

१५ दिनको बसाईसंगै आमा फर्किनुभयो, १५ दिनको बसाईका क्रममा हामी आमा छोराले फेरी एकपटक भोकलाई राम्रोसंग अनुभुति गर्न पायौँ । एकदिन प्रेमले खाना पकाउँदै थियो, प्रेम कसेराको छोराथियो । कसेरा अर्थात काँसको भाँडा बनाउने दलित समुदाय । मैले आमालाई भनेँ–“ आमा ! घरमा भएको भए तपाईँले के प्रेमले पकाएको खानुहुन्थ्यो त?”

आमा केहीबेर बोल्नुभएन, केहीबेरपछि भन्नुभयो–“आफुभन्दा ठुलाले जे सिकाए त्यही सिक्यौँ हामीले । ती ठुलाहरुले सबै कुरा सिकाए तर भोकको महत्व कहिल्यै सिकाएनन् । भोकको महत्व त समयले सिकाउने रहेछ, आखिर यस्ले पकाएको खाना खाएर म मर्दिनरहेछु त !” प्रेमले मेरो आमालाई फुपु भन्थ्यो ।

आमा फर्किएपछि केहीदिन बडो अत्यास लाग्यो, मलाई पनि फर्किउँ फर्किउँ लागेको थियो तर जाँदाजाँदै आमाले भन्नुभएको थियो–देशमा जनयुद्ध झन्झन् चर्किँदै छ । संकटकाल लागेको छ । भोक मार्न कैयौँ भोकाहरुले साहु–सामन्तहरुका भकारीका भकारी धान गहुँ र अरु अन्न लुटिरहेका छन् ।

आमाले भनेका यीनै कुरा सम्झिदैँ अनि हातमा भएको बिस्कुट चपाउँदै बाटोमा हिँड्दै गर्दा आफैलाई प्रश्न गरेँ–के नेपालमा जारी शशस्त्र संघर्ष भोककै लागि हो त ?

मेरो प्रश्नको उत्तर आफैले आफैमा खोजिनसक्दै कसैले मेरो हातको बिस्कुट थ्वात्त थुत्यो ।

“ओई !” भन्न नभ्याउँदै त्यो ठिटो केही पर पुगिसकेको थियो । कालो, मैलो, हेर्दैमा फोहोरी उ, मतिर फरक्क फर्किएर बडो बिजयी भावभंगीका साथ दाँत ङिच्याउँदै बिस्कुट खोस्न पाउँदा निकै उत्तेजित समेत देखिन्थ्यो, सायद उ धेरै दिनदेखिको भोको थियो ।

अस्तु ।

भाग एक https://baabajee.wordpress.com/2012/11/22/%E0%A4%AD%E0%A5%8B%E0%A4%95/

//

About baabajee

just human
This entry was posted in कथा, Uncategorized and tagged , , . Bookmark the permalink.

भोक भाग -२ का 25 वटा प्रतिक्रियाहरु

  1. Devi भन्नुहुन्छ:

    Wow gr8 dai न धनी, न गरीब, न महिला न पुरुष, न दलित न गैह्र दलित, केवल मान्छे । परेको बेला आफुलाई साथ दिने मान्छे, काटेपछि रगत आउने अनि दुखाई महसुस गर्ने आफुजस्तै मान्छे । आफु रुँदा पिरब्यथा बुझ्न सक्ने आफुजस्तै करुण मान्छे

  2. दिनेश राज ज्ञवाली भन्नुहुन्छ:

    देश छाडेर परदेशिने अधिकांशको कथा यही हो , केहीले पोख्छन केहीले पोख्दैनन् त्यति मात्र फरक । यही भोकले हामीलाई परिपक्व बनाउँछ । गज्जब कथा ।

  3. Dinesh (@alerteye) भन्नुहुन्छ:

    जात भन्ने कुरा समयले साथ दिँदा र शक्ति आफ्नो हातमा हुँदा मात्रै रहेछ, जब मान्छेको शक्ति क्षिण हुन्छ अथवा मान्छे निरिह हुन्छ उसले सबै जात एउटै देख्छ: मात्र मान्छे । न धनी, न गरीब, न महिला न पुरुष, न दलित न गैह्र दलित, केवल मान्छे । परेको बेला आफुलाई साथ दिने मान्छे, काटेपछि रगत आउने अनि दुखाई महसुस गर्ने आफुजस्तै मान्छे ।

  4. बबुरो बिचार भन्नुहुन्छ:

    प्रदेशमा भोकलाई वास्तविक रुपमा चाडो चिन्न सकिन्छ त्यसैको ज्वोलन्त उदाहरण हो यो कथा निकै राम्रो छ दाई यस्तै प्रस्तुतिको अपेक्षा गर्छु आगामी दिनमा पनि …!!!

  5. Anil Subedi भन्नुहुन्छ:

    जात भन्ने कुरा समयले साथ दिँदा र शक्ति आफ्नो हातमा हुँदा मात्रै रहेछ, जब मान्छेको शक्ति क्षिण हुन्छ अथवा मान्छे निरिह हुन्छ उसले सबै जात एउटै देख्छ: मात्र मान्छे । न धनी, न गरीब, न महिला न पुरुष, न दलित न गैह्र दलित, केवल मान्छे । परेको बेला आफुलाई साथ दिने मान्छे, काटेपछि रगत आउने अनि दुखाई महसुस गर्ने आफुजस्तै मान्छे । आफु रुँदा पिरब्यथा बुझ्न सक्ने आफुजस्तै करुण मान्छे ।
    बाबाजी क्या बात क्या बात मुटु नै छोयो एस्तो अवस्था बाट म गुज्रिसकेको छु

  6. हरिहर भन्नुहुन्छ:

    पढेर सकेको १ हप्ता पछि कमेन्ट गर्ने फेरी छिर्दै छू । भाग १ जस्तो ससक्त लागेन है मलाई त । कुनै कुनै प्रसँग भने मार्मिक छन् । भाषा लाई अझै परिमार्जन (स्थानियकरण) गरेको भए बेस हुन्थ्यो की ? खुब जान्ने भो नभन्नु होला है मेरो त एक हरफ पनि लेख्ने तागत छैन्😛

  7. achyutbhattaraiAchyut भन्नुहुन्छ:

    “आफुभन्दा ठुलाले जे सिकाए त्यही सिक्यौँ हामीले । ती ठुलाहरुले सबै कुरा सिकाए तर भोकको महत्व कहिल्यै सिकाएनन् । भोकको महत्व त समयले सिकाउने रहेछ, आखिर यस्ले पकाएको खाना खाएर म मर्दिनरहेछु त !”

  8. Bishal Bhattarai भन्नुहुन्छ:

    कथाको दुई भागनै राम्रो संग पढेँ । भोक मात्र हैन कथाले मान्छे भएर जन्मेपछि भोग्नुपर्ने सम्पुर्ण परिस्थितिको बेलिबिस्तार गर्छ । माओबादी जनयुद्धमा बिद्रोहि तथा सैनिक दुवैको डरले बिस्थापित भएका थुप्रै छन् । तर लेख्ने र अभिब्यक्त गर्ने कम छन् । अझ खास कुरो त के भने जिवन बुझ्नलाई यो कथा पनि एउटा गतिलो उदाहरण हुने छ ।
    लेखनीको उच्च सम्मान गर्छु । प्रकाश लामिछाने बाबाजि !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )