त्रासदीपुर्ण यात्राको सम्झना !


बैसाख १२ गतेका दिन भुकम्प आउँदा म दाङमा थिएँ । भुकम्पको कम्पन खुट्टामा मात्रै हैन सोसल मिडियामा समेत ब्यापक रुपमा आउन थालेपछि तत्कालै काठमाण्डौँ सम्पर्क गरेँ । फोन लाग्दै लागेन । अनि सुर्खेत घरमा फोन लगाएँ । बुवा आमाले त्यहाँ पनि भुकम्पको झड्का महसुस गरेको तर केही नभएको जानकारी दिनुभयो । मलाई चिन्ता काठमाण्डौँकै लागिरह्यो किनकी छोरी र श्रीमति त्यहिँ थिए । केहि घण्टाको प्रयास पछि फोन लाग्यो र उनीहरुले ठुलो भुकम्प आएको र आफूहरु बाहिर खुला स्थानमा सुरक्षित रहेको जानकारी गराए ।

त्यतिन्जेल भुकम्पले पुर्‍याएका क्षतिका समाचारहरु आउन थालिसकेका थिए र सोसल मिडियामा एक्टिभ साथीहरु तथा पत्रकार मित्रहरुले मलाई मध्यपश्चिततिर केही भएमा सुचना दिन आग्रह पनि गरेका थिए । संयोगवश दाङ तथा मध्यपश्चिममा भुकम्पका केहि झड्काहरु महसुस हुनु, यदाकदा मानिसहरु भागदौड गर्दा खुट्टा भाँचिने, मर्किने बाहेक अरु त्यस्तो कुनै कुसमाचार सुन्नुपरेन ।

यता तारन्तार भुकम्पको झड्का आईरहेको सुचना सोसल मिडियाबाट पाईरहेँ । किनकी दाङमा त्यतिबेला बिजुली थिएन, बिजुली नभएपछि टिभी हेर्न पनि पाईएन । एफएम रेडियोहरु लोकदोहोरीमै मस्त भईरहे । त्यति नै बेला त्यहाँ पानी पनि परिरहेको थियो । साथीहरु जीवन, हरी, लक्ष्मी र म तत्काल भेटेर जुन कार्यक्रमका लागि दाङ आएका थियौँ त्यसलाई स्थगित गरेर आआफ्नो गन्तव्यमा फर्किने योजना बनायौँ । योजना अनुसार आफूआफूले रिपोर्ट गर्नुपर्ने निकायमा जानकारी गराईयो । त्यतिन्जेल साँझ परिसकेको थियो । मनमा धुकचुक पालेर शनिबारको रात भौतिक रुपमा दाङमा भएपनि सोसल मिडिया तथा मस्तिस्कमा काठमाण्डौँ राखेर बिताईयो एक झिमिक पनि ननिदाई । यता रातभर सोसल मिडियामा काठमाण्डौको भुकम्प र खुल्ला आकाशमुनि रातबिताईरहेका परिवार, साथीहरु र सबै सोसलमिडियाका मित्रहरुको अपडेट पाईरहँदा मन रोईरह्यो । त्यसमाथि राति छोरीसंग कुरा गर्दा उसले, हामी सकुशल छौँ, बाहिर छौँ, जाडो छ, भोकै छौँ… तर पनि ठिक छ बाबा भन्दिई । मन त उडेर कहाँ पुग्यो कहाँ !

आईतवार विहानै हाम्रो कार्यक्रम स्थगित भएको औपचारिक जानकारी आयो । अनि तत्कालै नेपालगञ्ज हुँदै काठमाण्डौँ जाने योजना बनायौँ र एउटा तालिमका लागि नेपालगञ्ज जम्मा भएका पत्रकार महिला साथीहरुलाई उक्त कार्यक्रम सुरु नै नगरी विदाई गरेर हामीहरु काठमाण्डौँ फर्किनका लागि नेपालगञ्ज हान्नियौँ । यहि बिचमा परिचित मित्र हुमहरी भट्टराईका बुवा बितेको खबर पाईयो । अनि जतिसुकै हतार भएपनि मानविय गुण देखिने यस्तै बेलामा हो । हामीले हुमहरीलाई भेटेर जाने भन्दै मेडिकल कलेजको शिक्षण अस्पतालमा पुग्यौँ । त्यहाँबाट लाशलाई घर लगिसकेको सुचना पायौँ र फेरी चप्परगौडी हुँदै मसुरीखेत पुगेर उनलाई भेट्यौँ र सान्त्वना दिएर नेपालगञ्ज हिँड्यौँ ।

कतिखेर नेपालगञ्ज पुगियो, थाहा पनि भएन । नेपालगञ्ज पुगेर प्लेनबारे बुझ्दा आईतबार बुद्ध एयरका कुनै उडान नहुने र सोमबार पनि निकै कम संभावना रहेको जानकारी पाईयो । अन्तत: काठमाण्डौँ नफर्किई नहुने काम भएका चारजना साथीहरु हरी चौधरी, म, जीवन र ईन्द्र साथीहरुले प्लेन नउडे गाडीमा भएपनि जाने योजना बनायौँ । दुर्भाग्यवश: उक्त दिन नेपालगञ्जबाट काठमाण्डौँका लागि कुनै पनि सार्वजनिक यातायात चलेका रहेनछन् । किनकी भुकम्पको झड्का निरन्तर आईरहेको कुरा सबैलाई विभिन्न माध्यमबाट थाहा भई नै रहेको थियो । अँझ कतिलाई त आगामी भुकम्पको भविश्यवाणीको सुचना(भ्रम) पनि आईरहेको रहेछ । उनीहरु हामीलाई काठमाण्डौँ नफर्किन आग्रह गर्दैथिए । भाडाका साना सवारीधनीहरु पनि सकेसम्म गाडी भाडामा नदिने मनशायका साथ आनाकानी गर्दैथिए । अन्तत: एउटा गाडीको करिब करिब टुँगो लाग्यो र उक्त गाडी दाङबाट आईरहेको भन्ने सुचना पाएर हामीहरु अर्को गाडीमा सामान प्याक गरेर कोहलपुरसम्म आयौँ ।

कोहलपुर पुगेर त्यो गाडीलाई फर्काईदियौँ अनि दाङबाट आउने गाडीलाई कुर्न थाल्यौँ । यतिबेला ४ बजेको थियो । कुर्दा कुर्दै ५ बज्यो । त्यहाँ अरु तीनजना साथीहरु निरज, निर्मल र पंकज थपिए । उनीहरु एकछिन बर्दिया जान हिँडेका थिए, हामी काठमाण्डौ फर्किन । उनीहरु हामीलाई विदा गरेर बर्दिया लागे, हामी उक्त गाडीलाई कुरिरह्यौँ कोहलपुरमा बसेर । कुर्दा कुर्दै साढे आठ बज्यो । अब नजाने कि भन्ने पनि लाग्यो । किनभने यात्राबाटै आएको गाडीलाई यति लामो यात्रा फेरी गराउँदा समस्या पर्ला भन्ने लाग्यो । यता परिवारका मान्छेलाई ४ बजे नै नेपालगञ्जबाट हामी काठमाण्डौँका लागि कोहलपुरतिर हिँडिसक्यौँ भनेर अपडेट गराईसकिएको थियो सबैजनाले । ४ बजे हिँडेको मान्छे कम्तिमा यतिन्जेल कपिलबस्तुको गोरुसिंगे त कटिसकेको हुनुपर्ने । तर हामी कोहलपुरमै रुमल्लिईरहेका थियौँ । यतिन्जेल बर्दिया पुगेका तिनजना साथीहरु काम सकेर फर्किईसकेका थिए । उनीहरु हामीलाई देखेर अचम्मित भए । किनकी हामी अँझै कोहलपुरमै थियौँ ।

बल्लबल्ल गाडीको ड्राईभरलाई फोन लाग्यो । उसले शमशेरगञ्ज आईपुगेको जानकारी गरायो । अब त आउँछ होला भन्ने आशा भयो । अनि एकछिन फेरी त्यहिँ रुमल्लियौँ । साढे नौँ बजेतिर बल्ल गाडी आईपुग्यो एकजना साथी ड्राईभर समेत राखेर । बल्ल ढुक्क भईयो । पौने दशबजे राति कोहलपुरबाट हिँडियो काठमाण्डुका लागि । बाटोमा यात्रा गर्दा बेला बेलामा स्याल, मृग जस्ता जनावरहरु बाहिर निस्किएका हुन्थे, हामी सोसल मिडियामा अपडेट लिने कोशिष गर्थ्यौँ । यतातिर भुँईचालो गयो भन्ने हल्ला चलेको हुन्थ्यो । कति ठाउँमा चाहेर पनि अपडेट लिन सकिएन । किनकी ब्याट्री सकिएला भनेर मोबाईल स्विच अफ गर्दै ब्याट्री जोगाउँदै, कुराकानी गर्दै दोश्रो दिन पनि झिमिक्क ननिदाएर बिहान ६ बजेतिर नारायणगढ पुगियो । त्यहाँबाट जीवनजी घरपुगेर मात्र काठमाण्डौँ जाने भन्दै हेटौँडा लागे, किनकी भुकम्पले उनको घरमा क्षति पुगेको खबर पाईएको थियो । उनी घर पुगेर काठमाण्डौँमा उपचारका निम्ति पुगेका वुबाको अपरेशनका निम्ति हिँडेका थिए ।

नारायणगढबाट रामनगर पुग्दा प्रहरीले गाडीलाई रोकिराखेको देख्यौँ । मानिसहरु प्रहरीसंग बाझ्दै थिए । प्रहरी उनीहरुलाई रोक्दै थियो । के रहेछ भनेर बुझ्न गएको त पृथ्वी राजमार्गको नारायणगढ-मुग्लिङ सडकखण्डको मुग्लिङ-जलबिरे बिचमा पर्ने कालीखोला छेउमा सुख्खा पहिरो गएर राजमार्ग अबरुद्ध भएको रहेछ । भुकम्पका कारण पृथ्वी राजमार्गको धेरै ठाउँमा माथिबाट ढुँगा खसेर केही सवारीसाधनमा क्षति पुगेको र कति ठाउँमा बाटो अबरुद्ध भएको रहेछ । ती मध्य कालिखोला छेउको पहिरो अलि ठुलो र हटाउन तीन घण्टा लाग्ने भन्दै प्रहरीले बिचमा पुगेर जाममा बस्नु भन्दा यतै बस भनेर रोकेको रहेछ । हामीलाई पनि कुरा ठिक हो, जंगलमा थुनिएर एउटा चाउचाउलाई पचास रुपिया तिर्नुभन्दा यतै ठिक छ भनेर त्यहिँ कुर्‍यौँ । कुर्दा कुर्दै डेढ घण्टा बित्यो । प्रहरीले भनेको समयमध्ये आधा त बितिसकेको थियो । अर्थात साढे आठ बजिसकेको थियो । एकछिन कहाँ के भएको छ भनेर सोसल मिडियाको अपडेट लिउँ भनेर ट्विटर खोलेको त चितवनका पत्रकार एवं ट्विटे मित्र आनन्द पोखरेलले त्यहाँ एउटा मात्रै डोजर रहेको, त्यसले मात्रै पन्छाउन समय लाग्ने र यतिखेर त्यहाँका सभासद, विपद् ब्यवस्थापन समितिका पदाधिकारी सम्पर्कविहीन रहेको ट्विट गरे । अनि मलाई लाग्यो यसरी यहाँ अल्मलिने हो भने रातिसम्म पनि काठमाण्डौ पुग्न सकिन्न । मैले हेटौँडाको बाटो जाने कि भनेर मलाई ल्याउने गाडीवालालाई सोधेँ । तर उसले त्यहाँबाट जान अनिच्छा देखायो । मैले उसलाई कर गरिन । किनकी गाडी चलाउने र भान्छा चलाउनेको हातमा हाम्रो जीवन हुन्छ । उनीहरुले चित्त दुखाएर छिस्स केही गर्दिए खेल खलाँस !

मैले ठिकै छ उसोभा यतैबाट जाउँला, कुरौँ भनेँ । एकछिन पछि प्रहरी आफैले हामीलाई अगाडी जाने भए जानुस् भन्यो । हामीले पनि जुगेडीसम्म बढौँ न त, केही गाह्रो भए त्यतै रोकिउँला बरु भन्ने लागेर अघि बढ्यौँ । जुगेडीमा पनि गाडीको जाम थिएन । अनि त्यहाँ एकदर्जन चाउचाउ, आधा पेटी पानी र एउटा जम्बो बोतल कोक किनेर गाडीमा राख्यौँ र अघि बढ्यौँ । कालीखोला पुलदेखि ५ किलोमिटर यतै बल्ल गाडीको जाम देखियो । अनि हामी पनि गाडीको क्यूमा बस्यौँ ।

त्यहाँ पुग्दा सवा नौ जस्तो बजेको हुँदो हो, यता र उता गरेर करिब ५ किलोमिटरको जाम हामीले अनुमान लगायौँ । बिचबिचमा गाडी अगाडी लगेर बिचमा घुसाउने साना गाडीवाला र ठुला गाडीवालाको झगडा हेर्दा यस्तो बिपद्का बेलामा पनि बेसोमति स्वभाव देखाउने कस्ता रहेछन् भन्ने पनि लाग्यो । यस बिचमा बल्ल प्रहरीले एक घण्टाको फरक फरकमा दुईवटा डोजर पहिरो फाल्नका लागि पठायो । घरि वल्तिर घरि पल्तिर गरेर पाँच घण्टा बिताईयो । यस अघि डेढ घण्टा रामनगरमा बितेको थियो । कोही आफन्ती बितेर काठमाण्डौँ जान लागेका, कोही परिवारका मान्छेलाई बिपतका बेला के काठमाण्डौँ राख्नु भनेर लिन जान लागेका, कोही बिपद्का बेलामा समेत परिवारसंग बस्न पाईएन भनेर आफैलाई धिक्कार्दै बैदेशिक रोजगारीका निम्ति उडान भर्न काठमाण्डौ जान लागेका अधिकांश यस्तै थिए । केही भने विवाहका गाडी पनि थिए । यात्रुहरु बिचरा दुलाहा दुलहीलाई उडाउँदै थिए-कत्रो भुकम्प ल्याउन सकेको गाँठे भनेर । दुलाहा दुलही भने लाजले रातोपिरो । जन्तिहरु पनि कुर्दाकुर्दै छटपटिएका ।

‘अब पहिरो हट्यो, गाडी अगाडी बढ्छ, सबै बस्नुस्’ गाडीवालाहरु कराउन थाले । हामी पनि गाडीभित्र पस्यौँ । जेनतेन पञ्चमीका पाईला सार्दै साढे २ बजे हामीले पहिरोलाई छिचोल्यौँ तर अगाडी जाम उस्तै !

तिन किलोमिटर छिचोल्न करिब आधा घण्टा लागेछ । हामी तिनबजे बल्ल मुग्लिङ पुग्यौँ । मुग्लिङमा उस्तै जाम, पोखरातिर जाने बाटोमा पनि गाडी ठप्प, यता नारायणगढ जानेमा पनि उस्तै । ठाउँ ठाउँमा भारतिय टेलिभिजनहरुले लाईभ गर्दै थिए । भुकम्पबाट जोगिएकाहरुले धमाधम काठमाण्डौँ छाड्दैरहेछन् । अधिकाँश मधेसीमुलका र भारतिय नागरिकहरु धेरै थिए काठमाण्डौँ छाड्नेमा । बस, माईक्रो बस, जीप, ट्रक, ट्रिप्पर, ट्याक्सी, ट्याक्टर, मोटरसाईकल त सामान्य भैहाले, ट्याँकर पनि खाली थिएनन् मान्छेहरुले । मान्छेहरु केही रोमाञ्चित अनुहारमा देखिन्थे सायद बचियो भनेर होला, केहि हतास पनि थिए । हाईवेमा मोटरसाईकल देख्दा थापाथलीको जामको महसुस हुन्थ्यो ।

करिब १५ किलोमिटरसम्म त यताबाट जाने गाडीहरुको जाम नै थियो । जाम मात्र छिचोल्न हामीलाई अरु दुईघण्टा लाग्यो । पाँचबजे जाम छिचोलेर अघि बढ्दा पनि ठुलोसंख्यामा गाडीहरु खचाखच मान्छे बोकेर उपत्यकाबाट बाहिरिईरहेका देखिन्थे । धादिङ लागेपछि भने बाटोमा केही चर्किएका र केही भत्किएका घरहरु पनि देखिन थाले । जति जति बाटोको दुरी काठमाण्डौँसंग नजिकिँदै गयो, भत्किएका घरहरुको संख्या पनि उति उति बढ्न थाल्यो । भुकम्पको झड्का मात्रै महसुस गरेका हामीले अब भने भुकम्पलाई आँखा अघि देख्न थाल्यौँ । बाटैमा त यस्तो अवस्था उपत्यकामा कस्तो होला भनेर महसुस गर्नथाल्यौँ ।

आठ बजेतिर थानकोट आएर हेर्दा उपत्यकामा बिजुली बत्तीको रौनक थिएन । चेकपोष्टका प्रहरीहरुले पनि कसैलाई सोधपुछ गरेनन् । अल्ली अघि बढेका थियौँ थानकोटको त्रिभुवन पार्कको पारीपट्टीको पर्खाल पुरै भत्किएको देखियो, एकछिनमा एकपछि अर्को गरी भत्किएका घरहरु देखिन थाले । अनि बल्ल लाग्यो- आँखैले देख्नु र सोसल मिडियामा लेख्नु फरक कुरा हुन् । मलाई कतिखेर बबरमहल पुगुँला र बालबच्चा परिवार भेटुँला झैँ लाग्यो । साथी ईन्द्रलाई बाफल चोकमा र अर्का साथी हरीलाई पाटनढोका छाडेर म तत्कालै बबरमहलतिर लागेँ । माईतिघर चोक र बबरमहलको फराकिलो सडकबिचको डिभाईडर पुरै खचाखच मानिसले भरिएको थियो । त्रिपालमुनि मानिसहरुको बास थियो ।

पोखरा महोत्सवमा सुनेको थिएँ-सडकमै खाउँ, सडकमै रमाउँ । तर यहाँ यस्तो थियो-सडकमै खाउँ-सडकमै सुतौँ-सडकमै निदाउँ । सबैको सडकको बास भएको रहेछ । धनीहरु पनि गाडी लिएर सडकमै रात बिताउन आएका थिए । म बबरमहल डेरा नजिकै पुगेँ जहाँ टोल विकास संस्थाको हलमा के बुढाबुढी, के तरुनी तन्नेरी, के महिला के पुरुष, के रोगी के निरोगी सबै एकै ठाउँमा करिब ३०० जना असरल्ल परेर भुँईमा पोखिएको अनाजझैँ पल्टिएका थिए । मान्छेको नजरमा मात्रै मान्छे मान्छेबिच विभेद छ, बर्ग छ । प्रकृतिका अघि त सबै बराबर । यहाँ त्यस्तै थियो-हिजोका घरबेटी र डेरावाल दुबै आज एउटै हलमुनि थिए । त्यहाँ कसैले कसैसंग भाडा माग्ने, फोहोर पार्‍यो निकाल्दिन्छु भनेर धम्की दिने चान्सै थिएन । सुकिलामुकिला भनिनेहरुले पनि कसैलाई फोहर भो, घिनलाग्दो भो भनेर कराउने कुरै थिएन । छेवैको ट्वाईलेट ह्वास्सै गनाएको सायद सबैको नाकले भेउ पाएकै थियो, छेवैमा सुतेको मान्छेको पसिना काखी गनाएको पनि सुँघ्नुपरेकै थियो ।

यी सबै दृश्य फिल्मको पर्दामा झैँ नाचे एकैक्षणमा । म घर पुगेर झोला राखेँ र उनीहरुलाई त्यहाँबाट सारेर बरु डेराकै मोटरसाईकल पार्किङमा ओच्छ्यान लगाएर सुताउने बिचारका साथ लिन गएँ । त्यहाँ कान्तिलाई चिन्नेहरुले सोधेका रहेछन् खै त तपाँईको बुढा भनेर । मैले उनीहरुलाई त्यहाँबाट बिस्तारै ठाउँ छ भने आफ्नै घरको कम्पाउण्ड, या छेउछाउका खुला ठाउँमा सुतौँ तर एउटा हलभित्र गुम्सिएर यसरी सुत्दा अरु विभिन्न रोगको समस्या हुनसक्छ भनेँ । तथापि मेरो कुरा प्रायले सुनेनन् । तर मैले भने मेरा जहान परिवारलाई त्यहाँबाट तत्कालै सारेँ ।

यात्राका क्रममा खिचिएका केही तस्विरहरु :

?

?

?

?

IMG_7275

IMG_7279

IMG_7290

IMG_7307

IMG_7313

IMG_7323

IMG_7335

?

IMG_7368

IMG_7372

?

Posted in Uncategorized | Tagged , , , , , | टिप्पणी छोड्नुहोस्

गजल


आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै

नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै

लोकतन्त्र जोकतन्त्र भो, हाँस्ने खुराक के चाहियो र !

चौतारीमा चिया खाँदै, फोश्रा गफ चुटौँ आजै,

एकजुट हुँदा गुट भन्लान्, भिन्नतामै पहिचान खोजौँ,

राष्ट्रियता बेकार गफ हो, जातजातमा टुटौँ आजै,

मैले खाए पुगिगो नि, अहिलेलाई यत्ति बुझौँ

किन चाहियो धेरै विवेक, हाँडीभित्र भुटौँ आजै,

कोहि भन्लान् मनमनलाई राष्ट्रियताले खुटौँ आजै,

अरुको कुरा नसुन्नु है !  यत्ति भन्दै छुटौँ आजै,

आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै

नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै

@baabajee
2071-12-26

Posted in Gajal | Tagged , | 3 टिप्पणीहरु

त्यो चरित्रको बयान म गरुँ कसरी…..!


दिनहुँ राजनितिक दलका नेताहरुको वाकयुद्द र संविधानसभाका समाचारहरु मात्रै भेटिने अखबारका मुख्य पानाहरु केहि दिनयता एउटा पात्रको नामले भरिएका छन्-डा.गोविन्द केसी । हुन त अधिकांश समय नितिहरुको पनि निति राजनिति भन्दै खेलकुद, कलाकारिता, कृषि, चिकित्सा, अर्थ या अरु पेशाका समाचारहरु भित्र कतै एकदुई कोलम या अन्तिमतिरका केही पानाहरुमा दिने पत्रकारिताका परम्परागत मान्यताहरु भत्काउँदै अचेल यस्ता समाचारहरु पनि अखबारका मुख्य समाचार बन्न थालेका छन् तर ति ‘ईस्यु’का कारण भन्दा पनि कुनै महत्वपुर्ण ‘ईभेन्ट’का कारण ।

डाक्टर केसीको अनसनका शिलशिलाहरु सुरु भईसकेपछि नेपालको चिकित्सा क्षेत्रको बहस भने अब राष्ट्रिय मुद्दा मात्र नभई अन्तरराष्ट्रिय समेत भईसकेको छ भन्दा पनि फरक नहोला । जुन बहस पत्रकारिताका अरु विटहरु खेलकुद, अर्थ, कला या अरु कुनैपनि विटमा यसरी भएको छैन भन्न भन्दिए पनि हुन्छ होला । संचारमाध्यममा स्वास्थ्य क्षेत्रको समाचारको संख्या बढ्ने क्रमको सुरुवात पछिल्लो केहि बर्षमा डाक्टरले विरामीको उपचारका क्रममा खेलवाड गरे भनेर डाक्टरमाथि हात हाल्ने र अस्पताल तोड्ने क्रम बढेसंगै भएपनि त्यसपछि बिस्तारै समाचारहरुमा चिकित्सा क्षेत्रका अरु सवालहरु पनि थपिन थालेका हुन् सायद ।

दुर्गममा दक्ष स्वास्थ्यकर्मीको अभावमा बिरामीहरु दिनदिनै मर्नुपरेको समाचार मात्र अब चिकित्सा क्षेत्रको समाचार रहेन । चिकित्सा क्षेत्रमा भएका अरु कमिशन, भ्रष्टाचार लगायतका बेथितिहरुसंगै चिकित्सा विज्ञान पढाउने काममा हुने करोडौँ रकमको चलखेलको कुरा अब सतहमै आईसकेपछि रहरले होस् या करले, यतिबेला सरोकारवालाहरु सबैको ध्यान यो मुद्दालाई कसरी ‘तह’ लगाउने भन्नेमा नै केन्द्रित भएको देखिन्छ ।

यति कुरा भन्दै जाँदा म आफ्नो विगतलाई सम्झिन्छु यतिबेला-जतिबेला राम्रो उपचारको खोजीमा म गृहजिल्ला सुर्खेतबाट आमाले सुतीको कपडामा पोको पारेर दिएको गहुँको रोटी र मुलाको अचार बोकी दिनभरको यात्रा गरेर सुर्खेतबाट नेपालगञ्ज आएको थिएँ । किनकी नेपालगञ्ज मध्य तथा सुदुरपश्चिमका २४ जिल्लाहरु मध्ये सबैले स्वास्थ्य सुविधाले सम्पन्न मानिआएको जिल्ला हो विगत २/३ दशकदेखि नै । त्यसमाथि मध्यपश्चिममा क्षेत्रिय वा अरु अञ्चल अस्पतालहरु भएपनि सुविधाका हिसाबले भेरी अञ्चल अस्पताल आज त सबैभन्दा अघि छ भने उतिबेला झन् हुने नै भयो । भेरी अञ्चल अस्पतालमा उपचार गराउन म मात्रै होईन मध्यपश्चिमका अरु १४ जिल्लाका नागरिकहरु पनि यसैगरी रोटी, मकै या सातु बोकेर नेपालगञ्ज धाउने गर्थे, अँझैँ धाउँदैछन् । एक दुई या तिनदिनको यात्रा गरेर नेपालगञ्ज धाउनु, ३०/४०/५० रुपिँयामा ‘कमन रुम’मा हप्ता दश दिन विताउनु या गञ्छे हुनेहरुले सोही अनुसार राम्रा होटलमा सिंगल रुम लिएर उपचार गराउनु अनि थाप्लोमा थपिएको ऋणको बोझलाई सञ्चो हुने विश्वासले बिर्साउँदै आफ्नै गाउँ फर्किनु, यहि नियतिमा बाँचेका हामी मध्यपश्चिमबासीहरुका लागि भेरी अञ्चल अस्पताल बर्षौँसम्म एउटा धरोहर रहिरह्यो, जीवन बचाईदिने धरोहर ।

तर पछिल्ला दिनहरुमा यहि धरोहरका समाचारहरु संचारमाध्यममा एकपछि अर्को गर्दै आउन थाले त्यो पनि कहिले डाक्टर डाक्टर विचको कचिंगलसंग जोडिएर, कहिले उपकरण हुँदाहुँदै पनि प्रयोग नभएर बिरामीको उपचार हुन सकेन भनेर त कहिले डाक्टरको लापरवाहीका कारण अस्पतालमा बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्‍यो भनेर । र यही चैत्र १७ गतेको एउटा राष्ट्रिय दैनिकमा अर्को समाचार आयो ‘प्रसूति वार्डका चिकित्सक र कर्मचारीले डेढ वर्षदेखि भत्ता नपाएपछि सेवाको गुणस्तर खस्कँदा अस्पतालमा सुत्केरीको मृत्यु बढेको’ भनेर । यो संगसंगै अस्पताल जस्तो संवेदनशिल स्थानमा कमिशन र चरम लापरवाहीका कारण उपचारको काम अस्तब्यस्त हुन थालेपछि चैत्र १५ गते आईतबार मात्रै अख्तियारले तेश्रोपटक छापा मारेको समाचार पनि सार्वजनिक भयो । औषधि, सर्जिकल उपकरण र मसलन्द खरिदमा भएको भ्रष्टाचारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ गते समेत गरी तेस्रो पटक अस्पतालमा छापा मारेको रहेछ । यी तमाम कुराहरु देख्दा के लाग्न थालेको छ भने अब भेरी अञ्चल अस्पताल, अस्पताल मात्र नरहेर राजनितिक कृडास्थल बनेको छ ।

एकातिर राजधानीमा एउटा च्याँखुरे ज्यान भएको बुढो डाक्टर उपचारको काम समेत रोकेर सत्याग्रहमा होमिएको छ, अर्कोतिर राजधानी बाहिर भएपनि मध्यपश्चिमको राजधानी सरहको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताल चिकित्सकहरुकै लापरवाही र राजनितिका कारण कोमामा गएजस्तै भएको छ । यी सबै कुराहरु अर्थशास्त्रमा माग र पुर्तिको परिभाषा भन्नेगर्दा उदृत गरिने अघिल्ला केही शब्दलहरहरु ‘अन्यवस्तु यथावत रहेको अवस्थामा’ भनेजस्तै गरी भने भएका हैनन् । समाज सुधार्ने राजनितिले आफूलाई त सुधार्न सकेन सकेन, जनस्वास्थ्य सुधार्ने संस्था तथा निकायहरुलाई पनि यसरी फोहोरी बनाउँदैछ कि मानौँ त्यहिँबाट फैलिएको संक्रमणले कुनदिन सबैलाई बढार्ने हो !

काठमाण्डौँमा अहिले चलिरहेको मेडिकल राजनितिबारेमा धेरै चर्चा भइसकेका छन् भईरहेका छन्, यस बारेमा मैले थप चर्चा गर्दा ईन्द्रको अगाडी स्वर्गको बयान हुनसक्छ । कुरा गरौँ आफ्नै गृहक्षेत्र मध्यपश्चिमकै ।

नेपालगञ्ज वर्तमान प्रधानमन्त्री सुशिल कोईरालाको गृहनगर हो । वर्तमान प्रधानमन्त्रीको सादगीको कुरा देशभित्र मात्रै हैन बिदेशमा समेत चर्चा भईसकेकै कुरा हो । किनकी सम्पतिको नाममा मात्र तीनवटा मोबाइल भएका संसारका सबैभन्दा सरल प्रधानमन्त्रीको रुपमा उहाँको राम्रै चर्चा भयो । अन्तराष्ट्रिय मिडियामा बिरलै आउने नेपाल सन्दर्भले यहि कारणले पनि अलिकति चर्चा पायो ।

तर गत फागुन ८ गते आइतबारको कान्तिपुरको पृष्ठ आठमा प्रकाशित समाचार पढेपछि भने भन्न मन लाग्यो- कठै शुशिल’दा तपाईको सादगी ! क्या आडम्बर रहेछ त्यो !

समाचार अनुसार भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. पीताम्बर सुवेदीले गएको कात्तिक २५ का दिन स्वास्थ्य मन्त्रालयका सचिवसमक्ष राजीनामा दिएका रहेछन् । त्यसको बोधार्थ उनले स्वास्थ्यमन्त्री खगराज अधिकारी र स्वास्थ्य विभागका महानिर्देशकलाई पनि पठाए । तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म उनको विकल्पमा अस्पताल प्रमुख नियुक्ति गर्न सकेको छैन ।

त्यही समाचार अनुसार त्यसको कारण रहेछ प्रधानमन्त्रीज्यूको संरक्षण डाक्टर सुवेदीलाई प्राप्त हुनु ।

अहिले भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. सुवेदीमाथि झन्डै एक करोड भ्रष्टाचारको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ । अस्पतालमा तीनपटक छापा मारेर सबै कागजपत्रहरु अख्तियारले बरामद गरिसकेको छ ।  त्यतिमात्रै हैन, अस्पतालमा डायलेसिस उपकरण आएर पनि दुईबर्षदेखि थन्किएको रहेछ । अस्पतालमा ईसीजी मेसिनसमेत बिग्रेर थन्किएको रहेछ । अरु त अरु महिनौंअघि खरिद भएको जेनेरेटर समेत सञ्चालनमा छैन रे ! अस्पतालका यस्ता ब्यवस्थापकिय समस्याहरु त्यहाँका प्रमुखको मुद्दामा चेपिएका छन् ।

हुन त नेपालका प्राय: सबै सरकारी अस्पतालहरुको अवस्था बिजोग नै छ । पर्याप्त भौतिक पुर्वाधारको कमी, निजी कमाईमा लिप्त चिकित्सक र सरकारको बेवास्ताको कारणले सरकारी अस्पतालहरु जीर्ण बन्दै गइरहेका छन् । यस्तैमा भेरी अञ्चल अस्पताल सम्बन्धि यो समाचारको शिर्षक सामान्य भए पनि जनस्वास्थ्यसंग जोडिएको संस्थाको त्यस्तो हालत सम्बन्धी समाचारको बिषयबस्तु बास्तवमै काँडा उमार्ने खालको थियो ।

निमित्त मेडिकल सुपरिटेण्डेन्टलाई टिकाइराख्न प्रधानमन्त्री स्वयंले जुन आशक्ति देखाउनुभएको रहेछ, त्यो कुरालाई लोकतन्त्रमा विधिको शासन अर्थात शुसासनमा विश्वास राख्ने कमैले बिश्वास गर्लान् । तर शुशिलदा’लाई नजिकबाट चिन्ने र मिडियामा गरिएका बिश्लेषणलाई आधार बनाउने हो भने त्यसको सत्यतालाई नजरअन्दाज गर्न मिल्दैन ।

हुन त सादगीको कारणले भएको अभाव र अभावको कारणले अपनाउन परेको सादगीमा जिन्दगी बिताएका शुशिलदा’मा यो बृद्धावस्थामा आएर खासै द्रव्यमोह नहोला । तर उहाँका आसेपासेहरु एक बट्टा मिठाइ वा कुनै होटेलको प्रबन्ध वा यात्राको लागि टिकटको व्यवस्थामा जात फालिसकेका नहोलान् भन्न सकिन्न है ! उसै पनि श्रीमती वा छोराछोरीलाई खुसी पारेर आफ्नो काम बनाउने चलन बिश्वव्यापी नै हो, त्यसमाथि हाम्रो समाजको कुरै नगरौँ !

देशका प्रधानमन्त्री जसको प्राथमिकतामा अरु ठूलाठूला कुरा पर्नुपर्ने हो, उहाँ नै आफ्नो गृहजिल्लामा रहेको भेरी अञ्चल अस्पतालको पटकपटक विवादमा परिसकेका एउटा निमित्त कार्यालय प्रमुखको थमौतीमा लाग्नुभएको हो भने यो बडो दुर्भाग्यको कुरा हो । राजनिति गर्ने, समाज सुधार्ने, प्रशासन सुधार्ने या अँझ भनौँ देशको शासनसत्ताको मुख्य नाईके यस्ता कुरामा जोडिनुबाटै थाहा हुन्छ, राज्य संचालन कसरी भैरहेको छ? आफ्ना हनुमानहरुको रक्षाको लागि कसरी राज्यका अंगहरुलाई निस्कृय बनाइन्छ? अख्तियारलाई कसरी सोझासाझाहरुलाई हाउगुजी र ‘ठूला माछा’ हरुलाई सुरक्षित गर्ने अक्वारियम बनाइएको छ भनेर ।

र स्वास्थ्यमन्त्री, ज्यू !

यो घटनामा प्रधानमन्त्रीको जत्तिकै साईनो तपाँईको पनि छ । प्रधानमन्त्रीको मान्छे भन्दै अस्पतालका निमित्त प्रमुखमाथि कुनै ‘एक्सन’ लिन नसक्नु स्वास्थ्यमन्त्रीको कमजोरी त हो नै ।

आफ्नै मन्त्रालय मातहतको निकायलाई ब्यवस्थित गर्ने र सुशासनयुक्त बनाउने मुख्य जिम्मेवारी त तपाँईकै हो नि ! तपाँई, डाक्टर केसीको आन्दोलनमा त त्रिभुवन विश्वविद्यालयलाई स्वतन्त्र निकायको नाम दिँदै बच्न सक्नुहोला तर आफ्नै मातहतका निकायमा भैरहेको बेथिति रोक्न यहाँलाई कस्ले रोक्यो? किन रोक्यो? अस्पतालमा प्रमुख बाहेक ब्यवस्थापन सम्बन्धि काम हेर्ने र अस्पतालको विकासका काममा लागिपर्ने अर्को निकाय पनि हुन्छ-अस्पताल ब्यवस्थापन समिति । त्यससंग छलफल गरेर यस्ता सानातिना ब्यवस्थापकिय अड्चनहरु फूकाईदिने काममा सहजिकरण गर्न किन तपाँई चुक्दैहुनुहुन्छ?

लोकतन्त्र र सुशासन चर्का नारा लाउँदैमा महशुस हुँदैन मन्त्री महोदय, यो त नागरिकले भोग्न पाउनुपर्छ । कुनैबेला खगराज अधिकारीको नाम सत्यको पक्षमा उभिदा आफ्नै पार्टीको चुनावमा केन्द्रिय सदस्यमा समेत हारेको भनेर पनि चर्चा गराईएको थियो, आफ्नै पार्टीका ठूला नेताकै बारेमा भन्डाफोर गर्नसक्ने भनेर प्रचार गरिएको थियो । के त्यो सबै गफै रहेछ त !

के माननिय स्वास्थ्यमन्त्री ज्यूको संचारमाध्यमसंग सम्पर्क छैन? के तपाँईले दैनिक पत्रपत्रिकाहरु पढ्ने गर्नुहुन्न? अँझ मन्त्रालयमा त पत्रपत्रिका पढेर आफ्नो मन्त्रालयसँग सम्बन्धित समाचार ब्रिफिङ गर्न मान्छे नै खटाइएको हुन्छ क्यारे ! के तपाईलाई आफ्नै मन्त्रालयसंग सम्बन्धित अस्पतालहरुको भद्रगोलका खबरहरु निरन्तर पढेर कुनै दु:ख लाग्दैन? हैन भने आफ्नो सामान्य आदेशमा समेत समाधान हुनसक्ने ब्यवस्थापकिय समस्या समाधान गर्न तपाई किन अग्रसर हुनु भएन?

के तपाँईले आफ्नो मन्त्रालयको बिषयमा बालुवाटारतिर चोरऔँलो देखाएर आफु चोखो बन्न मिल्छ? यदि सबै मन्त्रालयमा बालुवाटारको हस्तक्षेप चल्ने भए लगेर बुझाइदिनु ताला चाबी सबै उतै? कि कसो?

अझ सबैभन्दा अचम्मको कुरो त भेरी अञ्चल अस्पतालमा गत फागुन १२ गते प्रसुति अपरेसनपछि बर्दिया, बाँसगढी ६ स्थित डेउढाकलाकी ३३ वर्षीया सुशीला सिग्देल पौडेलको मृत्यु भएको घटनामा चिकित्सकले बेलैमा सुत्केरीको खराब अवस्था पत्ता लगाउन र त्यही अनुसार उपचार चलाउन नसक्दा मृत्यु भएको छानबिन समितिको निष्कर्ष हुँदाहुँदै आफैले गठन गरेको छानविन टोलीको प्रतिवेदन लागु गर्न पनि तपाई उदासिन हुनुहुन्छ रे !

के छानविन समितिले अप्रेसनमा संलग्न चिकित्सकलाई कारबाही गर्न र अस्पतालको व्यवस्थापकीय कमजोरी अत्यधिक देखाउँदै डा. सुवेदीलाई प्रमुखबाट हटाउन सुझाव दिएको हैन?  कठै तपाईको विचार ! कठै तपाईको सत्य प्रतिको प्रतिबद्धता ! यदि टोलीको सिफारिस लागु नगर्ने भए किन गर्नु भो त समिति गठनको त्यो नाटक?

मन्त्री महोदय, अस्पतालमा हुने दुर्घटनामा पिडित पक्ष तोडफोडमा नउत्रिईकन कानुनी उपचार खोजेको एकाध घटनामा पर्छ होला यो घटना । अध्ययन टोलीको प्रतिवेदन आउला र कसैले कतै केहि गरेको भए उनीहरुलाई कारवाहि होला भनेर पिडित पक्षले राज्यलाई विश्वास गर्नु नै अभिसाप हो? यस्तै हो भने भोलीदेखि फेरी सबै विरामी अस्पताल बिरुद्ध खनिएर सिसा फुटाउने वा लाखौं क्षतिपुर्तिको माग गर्नेछन् ।

प्रश्नहरुको बाढी छ मसंग, थाहा छैन यसलाई सोध्ने शिलशिला के हो, तैपनि सोध्दैछु-के मेरो बाल्यकालको अबोध दिमागले बुझेको डाक्टरी छवी भ्रम रहेछ? के भगवानको दोश्रो स्वरुप भनिने चिकित्सकहरु पोल्ट्री फार्ममा उत्पादन गरिएका संवेदनाहिन ब्रोइलर कुखुराहरु हुन्? अनि राज्य र जनताको उत्थान गर्न राजनितिमा होमिएका हौं भन्ने तपाँईजस्ता नेता/मन्त्रीहरुको बोली फगत चेपारो हो? कति ससाना स्वार्थमा अल्झिँदा रहेछन मन्त्री प्रधानमन्त्रीहरु, अनि कहाँबाट आओस विकासको चेत? समग्र राजनितिमा जस्तो अस्तित्वमा नभएका झुटा कुरा मानिसको दिमागमा कोचेर आफु चोखो हुने भ्रान्तिको खेती नै त रहेछ स्वास्थ्य क्षेत्रको हविगत !

र अन्तमा, गोविन्द केसीको  अनसन प्रति त तपाईलाई कुनै मतलब हुने कुरै भएन । आफुलाई मन्त्री बनाइदिने पार्टी र त्यसका ठालुहरुको लगानी जो परेको छ त्यसमा । तपाँईले गर्न सक्ने कुरामात्र भन्दैछु मन्त्रीज्यू, त्यो के भने मेरा यी माथिका तमाम प्रश्नहरुको जवाफ दिनुपर्दैन तपाँईले । केवल काम गरेर देखाई मेरा मुखमा बुझो लगाईदिनुस् । नत्र बाध्यभई कुनैदिन भन्नुपर्नेछ-चोरलाई चौतारो र साधुलाई सुली दिने तपाईको त्यो चरित्रको बयान म गरुँ कसरी…..!

Posted in Uncategorized | Tagged , , , , | टिप्पणी छोड्नुहोस्

गजल !


लागे लागोस् रिन बरु, दीन नलागोस्, IMG_2249

आफ्नै कर्म आफैलाई हीन नलागोस् ।

आत्मीय छन् मेरा निम्ति सजीव निर्जीव सबैथोक,

छिःछिः दुरदुर भन्नेगरी घिन नलागोस् ।

हरेक चीजको गहिराईमा पुगी मनन् गर्नसकूँ,

बैचैनी यो मनमा कुनै छिन नलागोस् ।

न विश्वास छ आशिषमा, न त पाप नै चिताउँछु,

शुभ असुभ शूर असुर जिन नलागोस् ।

खरकै छानो न्यानो मलाई, किन चाईयो पथ्थरी घर !

मीन पचासमा शीत चुहिने टिन नलागोस् ।

Posted in Uncategorized | टिप्पणी छोड्नुहोस्

भो प्रीय स्कुटी नचलाउ !


बिहान आठ नबज्दै हामी दुवैजनालाई कामधन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएकोछ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले लोडसेडिङको त कहिले खानेपानीको । त्यसमाथि दुईजनाले नै काम नगर्ने हो भने खर्च धान्न पनि धौधौ हुन्छ ।

काम त जसोतसो दुवैजनाले पाईएको छ तर सानी छोरी समेत छे । उसलाई खुवाईपियाई गरेर स्कुल पठाएर मात्रै आफू काममा जानुपर्ने बाध्यताले अँझै चटारो हुन्छ बिहानीपख ।Accidentआज पनि मैले उनलाई भनेँ-छिटो गर न हौ ! हतार भैसक्यो, मलाई बबरमहल छोडेर तिमी नौ बजे नै बालुवाटार पुग्नुपर्छ भन्ने बिर्स्यौ?

उनले भनिन्-साँच्चै भन्ने हो भने आज मलाई स्कुटी चलाएर काममा जाने मन नै छैन ।

लौ ! किन नि?-मैले सोधेँ ।

‘दिनहुँजसो भईरहेको सवारी दुर्घटना, त्यसमा पनि यो भिडभाडको शहरमा फुकाएर छाडिएका चैते बहरझैँ कुद्ने ट्रक, टिप्पर र बसको चेपुवामा कुन दिन म र यो स्कुटी दुबै पर्छौँ कि भन्ने डरले’-उनले भनिन् ।

मन झसंग भएपनि मैले उनलाई नै हकारेँ-‘ह्याऽऽऽ हावा कुरा नगर। केही हुँदैन । हजारौँ सवारीसाधन गुड्ने यो शहरमा भएका एकाध अपवादका दुर्घटनालाई लिएर धारणा बनाउनु राम्रो हैन।’

कान्तिले स्कुटर स्टार्ट गरिन् । म टुसुक्क पछि बसेँ । स्कुटर बबरमहलस्थित धोवीखोला किनार हुँदै बिजुलीबजार पुलतिर हुँईकियो । म पुल्चोक जाने टेप्पो चढ्न त्यहिँ ओर्लिएँ । कान्ति चाहीँ बाटो काट्न अघि बढिन् । तर पुच्छर ठड्याएर दकुरेको साँढेझैँ नयाँबानेश्वरबाट बिजुलीबजार हुँदै अघि बढेका सवारी साधनले त्यहाँ रोक्ने मेसो पाएनन् या जरुरी ठानेनन् । उनी त्यहाँ पाँचसात मिनेट जति रोकिईन् । मैले बाटो छेउ उभिएर हेरिरहेँ । बल्लतल्ल उनले बाटो काटिन् । म पनि पुल्चोकको टेम्पो समातेर अघि बढेँ ।

गएको आईतवार र सोमवार (मंसीर २१ र २२ गते) मात्रै काठमाण्डौको सडकमा दुईवटा सडक दुर्घटनामा परि दुईजना महिलाले ज्यान गुमाए । मंसीर २१ गते आईतवार साँझ साढे छ बजेतिरको समय हुँदो हो, आँखै अगाडि बबरमहलमा भएको सवारी दुर्घटनामा परि एकजना युवतीको ज्यान गयो । धुलिखेलतिर जाँदै गरेको मिनिबसले ति युवती चढेको स्कुटरलाई ठेलेर केहीपरसम्म पुर्‍याउँदै किचेको थियो । दुर्घटनामा परी ज्यान गुमाउने स्कुटर चालक २१ की युवती शान्ता हमाल रहिछन् भन्ने कुरा पछि समाचार सुनेर थाहा भयो ।

त्यस्तै मंसीर २२ गते सोमवार राजधानीकै तीनकुनेमा ट्रकले स्कूटीलाइ ठक्कर दिएर किच्दा त्यसमा सवार रहेकी एक जना युवतीको ज्यान गयो । दुर्घटनामा ज्यान गुमाउने युवतीको नाम भने मैले थाहा पाउन सकिन । यस अघि गत चैतमा चर्चित गायिका मञ्जु महतको पनि यसैगरी स्कुटरमा सामाखुसीबाट जमलतर्फ आउँदै गर्दा गल्कोपाखामा माइक्रो बसले किचेर मृत्यु भएको थियो । त्यस भन्दा अघि गत बर्षको मंसीरताका नै स्कुटर दुर्घटनाकै कारण महाराजगञ्जमा २८ वर्षीया सविना कार्कीले पनि ज्यान गुमाउनुपर्‍यो ।

यी त केही दृष्टान्तहरु मात्रै हुन् राजधानीको सडकमा भएका सवारी दुर्घटनाहरु र त्यसमा ज्यान गुमाउने महिलाहरुका । पछिल्लो समयमा दशैँ यता मात्रै देशका विभिन्न ठाउँहरुमा भएका सवारी दुर्घटनाहरुमा परि ५ सय भन्दा धेरै को ज्यान गईसकेको छ । पछिल्लो दुई सातामा मात्रै गृहजिल्ला सुर्खेत र आसपासमा गरी ७० जनाको पनि यसैगरी सवारी दुर्घटनामा परि ज्यान गएको छ । मैले यहाँ उठाउन खोजेको सन्दर्भ ठुला सवारी साधनहरु नै दुर्घटनामा परेको बारे हैन । हुन त यस बारेमा झन् धेरै बहस हुन र यी बहसहरुलाई राज्य तथा जिम्मेवार पक्षले गहन रुपमा बिष्लेषण गरी यथाशक्य दुर्घटना रोक्ने पहल थाल्न जरुरी मात्रै हैन कि ढिलाई नै भईसकेको छ ।

म पुरानै प्रसंगमा फर्किन चाहन्छु, यसरी राजधानीमा एकपछि अर्को रुपमा ठुला सवारी साधनको निसानामा स्कुटीहरु किन परिरहेका छन् त ! ट्राफिक प्रहरी महासाखाको तथ्याङ्क भन्छ-राजधानीमा हुने सवारी दुर्घटनाहरु मध्ये ८० प्रतिशत दुर्घटना, ठुला सवारीसाधन तथा सार्वजनिक यातायातका साधनकै कारण हुने स्कुटर या मोटरसाईकल दुर्घटनाका नै छन् ।

गतवर्ष असोजमा कान्तिले मसंग स्कुटर किन्ने प्रस्ताव ल्याएकी थिईन् । ‘कि तिमी मोटरसाईकल किन, हैन भने म स्कुटी किन्छु।’ उनको प्रस्ताव सुनेपछि मैले भनेँ-‘मलाई काठमाण्डुमा मोटरसाईकल चलाउने हिम्मत छैन हेर, आफ्नो सवारी साधन नै चढ्ने त्यस्तो रहर छ भने बरु तिमी नै स्कुटर किन । मैले पनि कहिलेकाहीँ लिफ्ट पाईहाल्छु होला के रे !’

मेरो उत्तर नसकिँदै उनले उत्तर दिईन्-‘माईक्रो बस र नेपाल यातायात चढ्दा वाक्कै भएको छु म । तिमी केटाहरुलाई पो के छ र ! ठेलमठेल हुँदै चढ्यो, कोचाकोचमै बस्यो । हामीलाई कम् छ ! त्यही कोचाकोचमै गोमन साँप झैँ हात सल्बलाउन खोज्नेहरु कति हुन्छन् कति ।’

हुन पनि हो, युवती देखेपछि हुँदो नहुँदो हर्कत गर्ने कतिलाई त मैले नै हकारेको छु सार्वजनिक यातायातमा । ढेस्सिएर बस्न खोज्ने, कुहिनोले घचेट्ने, महिला आरक्षण सिट लेखेको देखिदेखी त्यहीँ गजधुम्म परेर बसिदिने मात्रै हैन अश्लिल र द्विअर्थी शब्द बोलेर दुर्व्यवहार गर्ने जस्ता कृयाकलापको शिकार आफै समेत भएपछि उनले ऋण नै काढेर भएपनि स्कुटर किन्ने निर्णय लिएकी थिईन् । तर यसरी सार्वजनिक यातायातमा भएको दुर्व्यवहारबाट बच्न स्कुटर किनेपनि सुख त कहाँ छ र ! छेवैमा युवतीले रातो, सेतो, कालो, पहेँलो, बैजनी जस्ता ‘कलरफूल’ स्कुटर हाँक्दै गरेको देखेपछि सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुमा के भूत सवार हुन्छ कुन्नी ! उनीहरु सिट्ठी फुक्ने, ‘ओ मैँया! बाटो तिम्रो मात्रै कि हाम्रो पनि !’ भन्ने, र मौका परे होडबाजी गरेको निहुँमा कच्याक्कुचुक् पारेर हिँड्न पनि पछि पर्दैनन् । सायद यिनै कारणले पनि पछिल्ला दिनहरुमा स्कुटरहरु बढीजसो दुर्घटनाका सिकार बनेका छन् ।

स्कुटर दुर्घटनाका कारण महिलाहरुले ज्यान गुमाउने गरेको सन्दर्भलाई जोड्दै मैले एउटा ट्विट पनि गरेको थिएँ-‘केही समय यता काठमाडौंमा भएका दुर्घटनामा अधिकांश स्कुटी किचिएका छन् र त्यसमा महिला नै परेका छन्। संयोग हो कि हेप्न खोज्दा दुर्घटना भको हो?‘ भनेर । यसमा केही साथीहरुका प्रतिकृयाहरु पनि यसरी पाएँ । गौरव पोखरेलले यसलाई संयोगमात्रैको रुपमा लिन सकिन्न कि भनेर आशंका ब्यक्त गर्नुभयो । त्यस्तै लोकदोहोरी गायिका मुना थापामगरले यसलाई हेपाहा प्रवृत्तिका रुपमा लिनुभयो । दुर्गा शाहीले भने स्कुटी र महिलालाई मात्र होईन दुईपाङ्ग्रे सवारीलाई समेत ड्राईभरहरुले देख्न छोडिसकेको तर्क गर्नुभयो । साथै उहाँ सरकारलाई ‘चीर निन्द्रामा रहेको’ भनेर ब्यङ्ग्य समेत गर्नुहुन्छ ।

सन्तोष पुडासैनी, बिरोचन पराजुलीमहेन्द्र भुषाल भने अली फरक तर्क गर्नुहुन्छ । उहाँहरुको भनाई अनुसार दुई पाँग्रे सवारी चालकले पनि सडकमा आफ्नो सवारी साधन चलाउँदा खाली ठाउँ भेट्यो कि छिराईहाल्नु भएन । त्यसैगरी घरमै बसीबसी सवारी चालक अनुमति पत्र लिने प्रवृत्ति र सिकाईको कमीका कारण पनि यस्ता दुर्घटना भएका छन् भने दुवै पक्षले ट्राफिक नियमको वेवास्ता समेत गर्ने मात्रै हैन कि अधिकाँश ट्राफिक नियमकै बारेमा समेत बेखबर छन् ।

समग्रमा ट्विटरमा भएको यो बहसले सवारी दुर्घटना हुनुमा प्रवृत्तिलाई त दोषी देखाएको छ नै, साथसाथै नितिगत रुपमा समेत हाम्रो कमजोरी देखाएको छ । दुईपाँग्रे सवारीसाधनको लाईसेन्स किनबेचको कुरा हामीकहाँ बर्षौँ अघिदेखि चलेको हो र यो कुराको अहिले पनि उत्तिकै चर्चा हुनेगर्छ । काठमाण्डौँमा केही कम भएपनि जिल्लाहरुमा अँझैपनि स्कुटी या मोटरसाईकल नसिकेरै या भनौँ ट्रायल नदिएरै लाईसेन्स लिनेहरु हजारौँ छन् ।

जे होस्, एकले अर्काको कमजोरी देखाए पनि समग्रमा परिणाम एकातिर ‘आफ्नो आङ कन्याएर आफै छारो उडाउने’ जस्तै भएको छ भने अर्कोतिर बर्षेनी कैयौँले यसरी दुर्घटनाका कारण ज्यान गुमाउने या अपाङ्ग हुनुपर्ने अवस्था छ । आमनागरिकका हैसियतले यसको अन्त्य हुनका निम्ति आफै सचेत हुनुका साथै नितिगत सुधारका निम्ति सकारात्मक दवाव दिन पनि जरुरी छ भन्ने लेख्नुबाहेक मसंग अर्को विकल्प केहि छैन । छ त केवल उनलाई भन्ने एक वाक्य-‘भो प्रीय स्कुटी नचलाउ !’

तस्विर सौजन्य: मुना थापामगरको ट्विटरबाट

Posted in Article | Tagged , , | 13 टिप्पणीहरु

भुगोलपार्कको फलामे बारबाट चिहाएका ति क्षणहरु……


तिहारको भाईटिकाको दिन थियो, आफ्ना दिदी बहिनीहरु नभएका कारण केही बर्षयता तिहारमा टिका लगाउने क्रम टुटेकोले काठमाण्डौका सडकमा बरालिँदै थिएँ । सुरुमा रानी पोखरीतिर हुँईक्याएको मनले फेरी के सोच्यो कुन्नी अनायसै पाईलाहरु नयाँ सडकतिर हुत्तिए । नयाँ सडक तुलनात्मक रुपमा अघिपछि भन्दा सुनसान थियो । लगत्तै मनमा आयो बसन्तपुरतिर जाने । पाईलाहरु त्यतै सोझिए ।
बसन्तपुर पुग्नुअघि मेरो आँखा नयाँसडक पिपलबोट नजिकैको भूगोलपार्कमा पुगे । भूगोलपार्कमा तिहारको दिन के थियो र त्यस्तो जसमा म हेरेको हेर्‍यै हुन पुगेँ हुँला त ! हुन त यो काठमाण्डौ शहरका सडकलाई पैतालाले नापिरहेका म जस्ता हजारौँ नेपालीहका निम्ति नयाँ दृश्य पनि हैन । नयाँ र पुराना बसपार्कदेखि रत्नपार्क, भुगोलपार्क, भृकुटीमण्डप हुँदै सडकका सबै भागहरुमा देखिईरहने दृश्य हो ।_MG_7633
दृश्यलाई कैद गर्न क्यामेरा उचालेँ । उताबाट त्यसले खाउँलाझैँ गरेर हेरी अनि ढुँगो उचाली । मैले क्यामेरा लुकाएँ । लगत्तै म नयाँ सडकको शालिक चोकतर्फ अर्थात जुद्द बारुण यन्त्रको भित्तातिर पुगेँ र अर्को लेन्स फेरेर क्यामेरा सोझ्याँए । मैले मात्र उसको गतिविधि नियालिरहेको छु भनेको त उसले पनि मेरो गतिविधि नियालिरहेकी रैछ । सायद यस अघि उसलाई धेरै क्यामेराका काला अनि लामा लेन्सहरुले खेदेको हुनुपर्छ-त्यसैगरी झस्किईरहेकी थिई उ । अब भने मैले क्यामेरालाई साँच्चिकै बिश्राम दिने बिचार गरेँ । बरु उसका गतिविधिलाई नियाल्ने कोशिष गरेँ ।

_MG_7635

…………………………………………………………….

नाम थाहा छैन उसको मलाई । आफ्नै साथी-सहकर्मीको थाहा भएको नाम त बिर्सिईन्छ भने सडकमा देखिएकी त्यो किशोरीको नाम झन् कसरी थाहा होस् र ! उमेरले सायद १४-१५ बर्षकी जति हुँदि हो ! उसको शरिरको संरचना हेर्दा त्यस्तै लाग्थ्यो । जिउमा टम्म मिलेको कालो स्कर्ट लगाएकी थिई, वर्ण पनि निकै गोरो तर धुलोमैलो र फोहोरको बास भएर हुनुपर्छ ति गोरा अनि सुडौल शरिरलाई कालो र तल्पतिएको फोहोरले ढाक्ने कोशिष गरिरहेको थियो ।
उ मस्त थिई-सायद डेन्ड्राईडको नशामा । किनभने उसको मुखमा जोत्न लागेको गोरुको मुख मुखेला लगाएझैँ सेतो प्लाष्टिक हरदम टाँसिईरहेको थियो । उ भूगोल पार्कको फलामे बारभित्र जेलकै कैदी झैँ घरी यता कुद्थी घरी उता कुद्थी । छिनमै आकाशमा हेरेर मुस्कुराउँथी । सडकमा भाईटिका लगाएका दाईभाईहरु र दाईभाईलाई कोशेली पुर्‍याउन हिँडेका दिदीबैनीहरु आफ्नै सुरमा हिँडिरहेका थिए । न उसलाई ति दिदीबैनी दाजुभाईहरुको चासो थियो न सडकमा हिनेकाहरुलाई उसको गतिविधितिर चासो थियो ।_MG_7641
उसको स्वच्छन्दतामा एकै छिनमा ब्रेक लाग्यो । उ भन्दा ४-५ बर्षजति उमेर खाएका दुईजना ठिटाहरु भूगोल पार्कको रंगमञ्चमा देखा परे । उसलाई अघिपछिबाट घेरे । उ रोकिई । उनीहरुले दुईहातले समातेर ‘यति यति पानी….गंगेरानी’ खेल्न लागेझैँ उसलाई मानव साँङ्लोले घेरे । उ फूत्किन खोजी । प्रयास असफल भयो । केटाहरुले उसलाई घिसार्दै कुनातिर लगे । कुनामा लगेर उसलाई पल्टाउँदै एउटा केटो उसको भुँडीमाथि बस्यो अर्कोले हात समात्यो । कसोकसो यसपाली भने उ फूत्किई तर अस्थायी समयका लागि । फेरी केटाहरुले घेरिहाले । ति केटाहरुले उसलाई छुन कतै बाँकी राखेनन्- मान्छेका अँगहरुको नाम मैले भनिरहन परोईन । मलाई अत्यास लाग्यो, म गोरखापत्र संस्थान छिर्ने भागतिरबाट उनीहरुलाई भगाउन त्यता गएँ । एउटा केटो जुरुक्क उठेर मलाई ईट्टाले हिर्कायो । संयोग भनुँ-मलाई त्यसले छोएन । फेरी क्षणभरका लागि उसले मुक्ति पाई ।
यो कुनै रातको दृश्य थिएन र मैले सडक बत्तीको सहारामा देखिरहेको दृश्य पनि थिएन । दिउसोको दुई बजेको हुँदो हो र राजधानीको सबैभन्दा ब्यस्त नयाँ सडकको भूगोल पार्क भित्रको दृश्य थियो यो ।
यि तिनजना सडक बालवालिका भनेर चिनाईने मानव प्राणीहरुको यो अत्यासलाग्दो दृश्य हेर्दाहेर्दै भुगोलपार्कको रंगमञ्चमा फेरी १४-१५ बर्षका ४-५ जना केटाहरु र त्यत्तिकै संख्यामा केटीहरु आईपुगे । अघिसम्मको यो गतिविधिमा थोरै परिवर्तन आयो । अब उनीहरु सामुहिक मनोरञ्जनमा जुट्न थाले । नयाँ आएकाहरुले लुगा पनि नयाँ नै लगाएका थिए, सायद उनीहरुलाई आज तिहार हो भन्ने पक्कै थाहा थियो । अँझ कसैकसैले त मेकअप पनि गरेका थिए । उनीहरु अँकमाल गर्न थाले, केटाहरु थपडी बजाउन र केटीहरु नाच्न थाले । सबै नशामा झुमेका थिए सायद किनभने कसैको पनि हातबाट डेन्ड्राईडको प्लाष्टिक छुटेको थिएन ।

IMG_7642
उनीहरुको गतिविधि यति उदेकलाग्दो थियो कि त्यो गतिविधि हेर्न बिस्तारै मानिसहरु भूगोलपार्कको फलामेबारमा झुम्मिन थाले ।
…………………………………………………….
एक अध्ययनका अनुसार नेपालमा पाँच हजार यस्ता बालबालिकाहरु छन्, जसको दैनिकी सडकमै बित्ने गर्छ र बर्षेनी चार सयको संख्यामा उनीहरु थपिँदै जान्छन् । यसरी सडकमा आउने बालबालिकाहरु खासगरी ३ देखि ६ बर्षको उमेर समुहका रहेको पनि सो अध्ययनले देखाएको छ ।
सडक बालबालिकाहरुका थुप्रै समस्या होलान् तर मैले त्यसदिन भूगोल पार्कमा सडक बालकहरुको भन्दा थप समस्या बालिकाहरुको देखेँ । सडकमा आफूसंगै हुर्किएका केटाहरुबाट हुने हिंसा खासगरी यौन हिंसा र दुर्ब्यवहारको । दिनको उज्यालोमै सहरको सबैभन्दा ब्यस्त त्यस स्थानमा देखिएको दृश्यले मेरो मथिँगलमा उब्जाएको प्रश्न हो यो-रातमा कति सडक बालिकाहरु यस्तो हिंसाबाट प्रताडित् हुँदा हुन् !
Email : Plamichhane98@gmail.com
Twitter : @baabajee

Posted in Article | Tagged , , | 2 टिप्पणीहरु

कथा—‘बद्मास बसन्ते’


‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’

बसन्तेले हाँक मार्‍यो ।

नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ !
देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ सिपालु थियो । बसन्तेको युद्धकलाको भुक्तभोगी म उसको आदेशको अटेर गर्ने कसरी साहस गर्थेँ र !

बसन्ते र म दुबै समान पाँच कक्षामा पढ्थ्यौँ ।

बसन्ते पढाईमा अलि कमजोर थियो, आफ्नो ज्यानजस्तै रुन्चे लागेको ।

म प्रायः उसको गृहकार्य पनि आफै गर्दिन्थेँ । त्यसैले त उ आफ्नी आमालाई ढाँटेर पर्कासेसंग पढ्न जान्छु भनेर दिनभर खोलामा माछा मारिरहँदा समेत निस्फ्रिक्री भईरहन्थ्यो ।

……………………………………………………

अघिल्लो दिन किताब हराएको, दोश्रो दिन गृहकार्य नगरेकोले हेडसरको चुटाई पाएको बसन्ते आज कुनै हालतमा पढ्ने मुडमै थिएन । कक्षाबाट निकालिएपछि पछाडीतिरको झ्यालबाट उसले मलाई ईसारा गर्‍यो-‘ओए ! बाहिर निस्की !’

ठमप्रसाद सरले शारिरिक शिक्षा पढाउँदै हुनुहुन्थ्यो । ठमप्रसाद सर बोल्दा जसरी मुखबाट ‘खोयाबिर्के’को कडा दुर्गन्ध कोठामा फैलिन्थ्यो, अनुशासनमा पनि उत्तिकै कडा मिजास थियो उहाँको ।

मैले झ्यालतिर हेरेको फ्याट्टै देख्नुभो उहाँले ।

तुरुन्तै उहाँको अप्रेशन सुरुभो म माथि पनि । कन्सिरीका एकदर्जन जति रौँ उखेलिएपछि म पनि कक्षाबाट गलहत्याईएँ ।

बसन्ते मलाई देखेर फिस्स हाँस्यो । उसको खुसीको सिमा नै रहेन ।
धौला जुम्लीले बुनेको ऊनीको झोलाको फित्तालाई पछाडी कम्मरमा बाँधेर हामी हुँईकियौँ करेखोलातिर माछा मार्न ।

माछा मार्दै ओरालो लाग्दा दिन बितेको पत्तै भएन । साँझ झमक्क पर्न थालेछ । बाटोमा सारु कान्छो भेटियो । बोल्न नसक्ने उसलाई हामी सारु लाटो भनेर जिस्काउँथ्यौँ । एकछिन उसलाई जिस्काउन पर्‍यो भनेर कस्सिएको त मुर्दारले सिस्नोको आँठोले चुट्नु चुट्यो । रुँदै, चिच्याउँदै कसोकसो उम्केर हामी त्यहाँबाट फरार भयौँ ।

पछि कुरा बुझेको त गाईबस्तु हराएर सारु लाटो ‘उग्र’ भएको रैछ । त्यही घानमा पो हामी मुछिएका रैछौँ !

सिस्नोको पोलाई कम गर्न तितेपाती मिचेर खुट्टामा दल्दादल्दा खुट्टाका खालै गएछन् । बल्लबल्ल सिस्नोको पोलाई कम भएपछि बसन्ते र म खोलाबाट घरतिर हिँड्यौँ । घरपुग्दा साँझको आठ बजिसकेको रहेछ । भित्तामा झुण्ड्याएको पानासोनिक रेडियोमा साङ्ला कुद्‍दै थिए, तैपनि रेडियोले भन्न भ्यायो-‘दिस ईज रेडियो नेपाल ।’

मनमनै सोचेँ, आज रामधूलाई भेटिने भईयो ।

भयो पनि त्यस्तै, मैले हातखुट्टा बाँधेर आमाको हातको रामधूलाई भेटेँ। बसन्तेले सोही प्रकृतिले हजुरबुवाको हातको धूलाई भेटेछ ।

बसन्तेका बुवा लाहुरे थिए ।एक-दुईबर्षमा एकचोटी घर आउने भएर होला, उनले छोराछोरीहरुलाई माया गर्थे । उसो त मेरा बुवा पनि जागिरे भएकोले कहिलेकाँही घर आउँदा पिटिहाल्थेनन् । बसन्तेकी आमा भने सोझी थिईन । बसन्तेको उपद्रयाँईले ‘अत्ति’ भएपछि दिक्क मान्दै भन्थिन-‘बाबु ! तेरा बाँकी चार भाईबैनाले पनि यस्तै सिके भने के गति होला मेरो?’

बसन्ते अलिक भावुक थियो । आमाका यस्ता कुरा सुनेर एकछिन ग्वाँग्वाँ रोईहाल्थ्यो, तर मुर्दारको बानी छिनभरमै ‘कुकुरको पुच्छर बाह्रबर्ष ढुँग्रोमा हालेपनि बाङ्गोको बाङ्गै !’

बसन्तेको साथले मेरो पढाई बिग्रिने भो भन्ने चिन्ता पनि लाग्थ्यो कहिलेकाँही मलाई । तर उसको जिद्दीका अगाडि म ‘लुत्रुक्क’ परिहाल्थेँ ।

हजुरबासंग ठाकठुक परेपछि बसन्तेकी आमा उ सहित अरु चारोटा छोराछोरी लिएर छुट्टै बस्न थालिन् । यो कुराले सबैभन्दा धेरै खुस बसन्ते थियो । अब जति उपद्रयाँई गरेपनि रोक्ने-छेक्ने कोही हुनेछैन भन्ने कुराले नै उसलाई यो’सर्वोच्च’ खुसीको अवसर मिलेको थियो । पञ्चे नेता उसका हजुरबा अली कडा मिजासका थिए । उनलाई यो गल्ती हो भन्ने लागेमा आईमाई पो किन नहुन् कुटिहाल्थे बुढाले । अनि उनको यो दुर्वासा स्वभावबाट चकचके बसन्ते बच्ने त चान्स नै थिएन । त्यही भएर बसन्तेले आफ्नो हजुरबालाई ‘रावण’ भन्थ्यो ।

‘सुनिस पर्कासे ! रामणको लंका छोडेर हामी अब नयेँ घराँ सर्दैछम् नि !’

उन्मुक्त हाँसो सहित एकपल्ट उसले मलाई सुनाएको थियो ।

……………………………………………………

दशैँ तिहार सकिईसकेको थियो, कात्तिक महिनाको अन्तिम-अन्तिम तिरको दिन थियो । म हाम्रो नारेघरको आँटीमा बसेर पाठ घोक्दै थिएँ ।

नयेँबस्ती दाई दौडिँदै दौडिँदै आए र हतारिँदै आमासंग भने-‘माईजु, गाग्री-बाल्टी जे छ तुरुन्तै दिनुपर्‍यो ! बसन्तेले घरमा आगो झोसेछ, पुरै घर ह्वार्रह्वार्ती दन्किराख्या छ ।’

आमा दौडिँदै भित्र जानुभो र गाग्री लिएर नयेँबस्ती दाईसंगै बसन्तेको घरतिर जानुभो ।

मेरो पनि सातो गयो ।

‘मैले जत्तिको सोच्याथेँ त्यो भन्दा उत्पात धेरै काण्डकारी र उपद्र्याहा पो निस्क्यो त यो बसन्ते !’

जे होस् गाउँका सबै मान्छेहरु जम्मा भएर बसन्तेको घरमा लागेको आगो निभाए । त्यतिन्जेलसम्म बसन्ते गायब भैसकेको थियो । उ भागेर मामाघर गएछ । तीन दिनमा खबर पुगेपछि चौथो दिन मामाघरका हजुरबुवाले उसलाई लिएर आए । त्यतिन्जेल बसन्तेकी आमा र अरु तीन जना भाईबैनीहरु मेरोमा अस्थाई बसाईसराई गरी आएका थिए ।

चौथो दिन बसन्तेको आगमनपछि भने मेरो पनि सातो गयो ।

‘कुनैदिन यो उपद्र्याहाले मेरो घरमा पनि आगो झोस्दियो भने !’

‘अँहँ ! यस्तो सोच्नुहुन्न ।’

‘यस्तो सोच्यो भने झन् साँच्चिकै घरमा आगो लाग्छ रे !’
आफैले आफैलाई चित्त बुझाएँ । अनि डराईडराई बसन्तेसंग सोधेँ-‘ओई बसन्ते, तैँले आफ्नै घरमा कसरी आगो लगाउन सकेको?’

‘साला, चुरोट खान सिक्लाई गर्दैथेँ, पछाडी टौवामा भएको परालले आगोटिप्पिहालेछ, अनि त घर पुरै दन्किईहाल्यो नि !’ एकैसासमा बसन्तेले आफ्नोकुरा भन्यो मलाई ।

‘बसन्ते पाँच कक्षा पढ्दापढ्दै चुरोटको स्वाद लिने भैसकेछ । अब उसको संगत कुनै हालतमा गर्नुछैन मलाई ।’
‘एकपल्ट बाले सल्काउन देको देउराली चुरोट मुखमा हालेर तान्दा राम्रै रामधुलाई भेटेपछी चुरोट खान हुनी कुरा हैन्च भन्नी राम्रो हेक्का छ मलाई।’

मैले मनमै निधो गरेँ ।

मंसिरको पहिलो हप्ता आयो । हाम्रो पाँच कक्षाको जाँच पनि सिद्दियो । म ‘फर्स्ट’ भएँ ।

जेठाबाका छोरा दाईहरुले मलाई मिठाई किनेर दिए । सुमित हलमा लगेर परिवार भन्ने फिलिम पनि हेराए । दिनमा १२ घण्टा मसंगै हुने बसन्ते यतिबेला भने मसंग भेटिएकै थिएन । किनकी बसन्ते फेल भएको थियो ।

मैले सिद्दापाईलाको उकालो दौडेर पुरा गरी टुप्पामा पुगेर लामो स्वास लिएझैँ आनन्द मानेर लामो स्वास लिएँ-‘साला यो बसन्तेबाट बल्ल जीवनमा पहिलोचोटी मुक्ति पाईने भो ।’

म अब गाउँबाट नेवारे स्कुलमा पढ्न जाने भएँ । हाम्रो गाउँको स्कुलमा पाँच कक्षासम्म मात्रै पढाई हुन्थ्यो । बसन्ते चाँही फेरी त्यही स्कुलमा पाँच कक्षामै भर्ना भयो ।

म पास हुँदै गएँ, बसन्तेले कक्षाहरु दोहोर्‍याउँदै गयो । एउटै कक्षामा दुईदुईचोटी फेल हुन थालेपछि उसकी आमाले भनसुन गरेर ‘रिटोट्लिङ’ गराउँदै जेनतेन सात कक्षासम्म पुर्‍याईन् ।

……………………………………………………

‘विनय+संगीता’

पाँचमुले स्कुलको माथ्लोपट्टी, खरबारीमा रहेको केतुकीको पातमा यस्तो अक्षर कोरिएको देखेपछि बसन्तेको चेतसातो उड्यो ।

‘स्याला, आफ्नै साथी सत्तुर भएपछि कसको के लाग्छ? भन्ने बेलामा गौमतिलाई लप पार्‍याछु भन्दैथियो, स्यालाले आँखा मेरीतिर पो लगाको रैच?’

बसन्ते भुनभुनियो अनि आकाशतिर हेरेर फिल्मी स्टाईलमा लामो श्वास फेर्‍यो ।

एसएलसी दिएर म फूर्सदिलो भएको थिएँ । असार नभई रिजल्ट नआउने भएकोले यो गर्मी पहिलोपल्ट निश्फिक्री डुलेर बिताउने योजनामा म थिएँ । किनकी एक कक्षामा भर्ना भएदेखी यति लामो विदा पाएको सम्झना नै छैन मलाई ।

चैत महिनाको अन्तिम-अन्तिम ताकाको समय थियो ।
हाम्रो घर पारिपट्टी पलाँस फूलेर पुरै बन रंगीन भएको थियो, साथमा भर्खर फूलेको आँपको फूलको सुगन्ध नै बेग्लै । मौसम रमणीय थियो जे होस् ।

हिजो मात्रै बसन्ते र मैले बजार गएर ३०-३० रुप्पेका २०-२० वटा पोष्टकार्ड लिएर आएका थियौँ । हाम्रो योजना थियो-गाउँकी राम्री राम्री केटीहरु छानेर हिन्दी फिलिमका डायलग र सायरी लेख्दै नयाँ बर्षको शुभकामना सहितको ग्रिटिङ कार्ड दिने ।

बसन्तेले सुरुमा डायलग लेख्यो-‘हमको तो अपनो ने लूटा, गैरोंमे कहाँ दम था,

किश्ती वहाँ डूब रही जहाँ, आँख में पानी हि नही था !’

अरु पनि खै कुन्नी के के लेखेर संगीताको नाम+आफ्नो नाम लेखेर कार्ड तयार पार्‍यो उसले ।

कार्ड दिन हिँडेको बसन्तेले केतुकीको पातमा ‘आफ्नी’ संगीताको नाम अरुसंग जोडिएको देखेपछि कसरी चित्त बुझाओस् !

१५ बर्ष पुगेर १६ बर्ष लागिसकेपछि अरु साथीहरुले आफ्नो लभ परेको बताईरहँदा मलाई पनि रहर लाग्नु स्वभाविक थियो । यही रहर मैले पोहोर दशैको बेला गाउँमा साँस्कृतिक कार्यक्रम गर्दा बसन्तेलाई सुनाएको थिएँ । बसन्तेले त्यही बेला मलाई कमलालाई देखाउँदै उसंग ‘लप पारिदिने’ आश्वासन दिएको थियो । यसरी बसन्ते र मेरो ‘दोस्ती’ फेरी पाँच बर्षपछि जम्न पुगेको थियो ।

‘ओए बसन्ते ! खै त यार, छ महिना भैसक्यो तैँले कमलासंग मेरो लप पार्दिन्छु भनेको । अहिलेसम्म भेट समेत गरा’छैनस् ।’-मैले बसन्तेलाई भनेँ ।

‘अरे, सुपाघाटको जात्रा हो र लप भन्ने कुरा? भन्ने बित्तिकै केटी भेटिईहाल्यो अनि कामकुरा छिनिहाल्ने?’

बसन्तेले थर्कायो मलाई ।

हुन पनि हो, लभ पार्नु चानचुने कुरा थिएन ।

म बसन्तेका पछि लागिरहेँ । बसन्ते संगीताको पछि लागिरह्यो ।

यही बिचमा नयाँ बर्षको शुभकामना कार्ड दिन संगीताको घर अठारपाटे जाँदैगर्दा बसन्तेले केतुकीको पातमा यस्तो ‘रमिता’ देख्नुपर्‍यो ।

‘अरे यार, कसैले जिस्काको होला । कसैले लेखेका भरमा तँ पत्याउँछस् यो कुरा?
विनय र संगीताको लभ साँच्चै परेको भए गौमति कहाँ गई त?
उसले विनयलाई पर्खिबस्छे त उसभा?’

मैले प्रश्नहरुको भेल सोझ्याँए बसन्तेतिर ।

‘यो पातको मात्र बात कहाँ हो र पर्कासे !’-धर्मेन्द्र स्टाईलमा बसन्तेले भन्यो । आफ्ना बुवा ईण्डियन लाहुरे भएकोले बसन्तेले बुवाले ल्याईदिएका हिन्दी फिलिमका चक्का सुनेर मिथुन, गोविन्दा, अजय देवगणहरुको नक्कल गर्थ्यो अनि मुड अनुसार कमेडी, आक्रोश र हिरोईज्म अभिनयको कौशल मलाई देखाईहाल्थ्यो। एकफेरा यस्तै रामायणको नक्कल गर्ने क्रममा साथीको नाँकको डाँडीमाथी बाँण बर्षाएर आमालाई हजार रुप्पे क्षतिपुर्ति पनि तिराएको थियो बसन्तेले ।

‘अनि के त?’ मैले सोधेँ ।

‘मैले अरुको मुखबाट पनि गाईगुँई सुनेको छु । मुला विनय अचेल गौमतिलाई छोडेर संगीतासंग सल्किएको छ अरे ।’

‘हो र? अब के गर्ने त उसोभा?’

‘के गर्ने नी? पर्सी अठारपाटेमा संगीताको साथीको बिहे छ, उ साथीको बिहेमा पक्कै आउँछे, त्यही दिन उसलाई घिसारेर भएपनि ल्याउनुपर्छ ।’

‘घिसारेरै ल्याउने?’ घाँटीसम्म आईपुगेको प्रश्नलाई मैले त्यतै पचाईदिएँ । प्रश्न माथि प्रश्न गर्दा बसन्ते बम्किन्छ भन्ने मलाई राम्रोसंग थाहा थियो।

बसन्ते र संगीता दुबै आठ कक्षामा पढ्थे । उसो त विनय र गौमति पनि आठ कक्षामै पढ्थे । बसन्ते, संगीता, विनय र गौमतिकै सहपाठी थिई कमला । कमला पनि सुन्दर थिई । उसलाई मन पराउनेहरुको त झन लाईन नै लाग्थ्यो रे । बसन्तेले मलाई सुनाएको मलाई । नेवारेको चार बाहिनीका आर्मीहरु त सिभिल ड्रेसमा स्कुल छेउछाउ आएर कमलाकै लागि दिनभर कुरिरहन्थे रे । यो चाँही विनयले सुनाएको मलाई ।

एकपटक कमलालाई एकजना आर्मीले रगतले लेखेको चिठी दिएछ । कमलाले उसकैअगाडी त्यो चिठी ध्याररररर च्यातेर भन्दिई रे-‘भैँसीको किर्ना मारेर लेखेको चिठी लिएर आईन्दा मेरो अगाडी कहिल्यै नआउनु !’

जहिले देखि मलाई बसन्तेले कमलाको आश जगायो, कमलाले त्यही दिनदेखी सपनामा मेरो मनमा डेरा जमाएकी थिई । मैले मनमनै कमलालाई मन पराएझैँ बसन्ते चाँही संगीतालाई ‘खुल्लम्‍खुल्ला प्यार’ गर्थ्यो । संगीता पनि बेलाबेलामा बसन्तेलाई हेरेर मुस्कुराउँथी रे । यो चाँही बसन्तेले भनेको मलाई । त्यसैगरी विनय र गौमतिको जोडीको बारेमा पनि उनीहरुका साथीहरुले मलाई सुनाएका थिए ।

तर विनय भन्थ्यो-‘त्यो संगीता त्यस्तै हो, जस्लाई देखेपनि हाँस्दिन्छे ।’

बसन्तेको प्लान अनुसार बैसाख ७ गते हामी पाँच-छजना केटाहरु राती सुटुक्क निस्केर अठारपाटे लाग्यौँ । बाटोमा बसन्तेले सबैलाई प्लान सुनायो ।

‘साथीको बिहेका निम्ति संगीता पाँचमुलेबाट अठारपाटे गएकी हुन्छे । रातीबिहेको काम सकिएपछि उसलाई बसन्तेले बाहिर बोलाउनेछ । उ बाहिर आएपछि सकेसम्म बसन्तेले फकाउनेछ । संगीताले मानी भने उसलाई लिएर सबै फर्किने र बिहान झिसमिसेमै बसपार्कमा पुगेर उनीहरुलाई बस चढाई अरु घर फर्किने । त्यसपछि बसन्ते चाँही संगीतालाई लिएर आफ्नो बुवा भएको ठाउँ ‘मसुरी’ पुग्ने । अन्यथा संगीताले मानिन भने उसलाई घिसारेर झ्यान्‍कुटी पारेर भएपनि लिएर आउने र केही दिन बसन्तेको मामाघरमा उसलाई लुकाउने । पछि गाउँभरी हल्ला भएपछि संगितालाई मान्न कर लागिहाल्छ ।’

बसन्तेको प्लानमा सबैले टाउको हल्लाए-मानौँ, जम्बु-कश्मिरमा लड्न तयार सेनालाई उसको क्याप्टेनले आदेश दिँदैथियो ।
सहमति अनुसार उकालो लागेका हामी करिब ढाईघण्टापछि अठारपाटे पुग्यौँ । त्यहाँ बिहेको रौनक थियो । पहिलो झड्का लाग्यो-त्यहाँ बिहे केटीको नभई केटाको रैछ । संगीताले बसन्तेलाई उसको केटी साथीको बिहे भनेकी थिई रे ।

नौला मान्छेहरु बिहेको रत्यौलीमा देखेपछि मान्छेहरुले कानेखुसी र सोधीखोजी गर्न थालिहाले । अनावश्यक सोधिखोजी गर्न थालेपछि बसन्ते पनि रन्कियो । एक त संगीताले झुट बोलेकोमा उसको पारो पहिल्यै तातिसकेको थियो । ख्यालख्यालमै बसन्तेसंग त्यहाँ मादल बजाईराखेको केटाको भनाभन भयो । एकै छिनमा गाउँका अरु केटाहरु पनि आए । उनीहरु खुकुरी नै बोकेरआएका रैछन् । एकजनाले बसन्तेको नाकमा मुक्का हानिहाल्यो । बसन्तेको नाकबाट उलुलु रगतबग्न थाल्यो । अब हामी त्यहाँबाट कुलेलम् ठोक्नुको बिकल्प थिएन ।

बसन्तेले साथीहरुलाई आदेश दियो-‘केटा हो ! फरार !’

हामी गुटुटुटु कुद्न थाल्यौँ ।

पहाडको गाउँ । एकदमै भिरालो ठाउँ । चकमन्न रातिको समय । कुद्न खोज्दा बाटो पनि भेटिएन । उकालोतिर दगुर्दै थियौँ, माथ्थिरबाट ढुँगाको बर्षा हुनथाल्यो । फेरी तेर्सो बाटोतिर कुद्न खोजेको, भर्खरै काटेको चना र गहुँको ठुटाले खुट्टा कोतरेर छियाछिया पार्‍यो । त्यहाँबाट फेरी ओरालोतिर कुदेको सिस्नुघारीमा खस्न पुगियो । ऐया र आत्था भन्दै बसन्तेलाई धिक्कार्दै कुदिरह्यौँ ।

धन्न, भाग्य बलियो रैछ !! जसोतसो त्यहाँबाट भागेर हामी सबै पाँचमुले स्कुल आईपुग्यौँ ।

रात चकमन्न थियो तैपनि अन्दाज लगायौँ, दुई या तिन जति बजेको हुनुपर्छ । बसन्तेको घरजम बसाउने अरु कुनै उपाय नभेटेपछि गाउँतिर फर्कियौँ हामी । त्यसबेला राति आ-आफ्नो घर फर्किने कसैको जाँगर भएन । छिमेकीको टौवामासुत्यौँ सबजना ।

बिहान पख गाँईगाँई-गुँईगुँई गरेको आवाज सुनियो । बिउँझिएर हेरेको त हामी सबैका बा-आमा जम्मा भएका रैछन् ।

खै कस्ले हो, ‘अठारपाटे फलानोको बिहेमा गएर रत्यौली खेल्दै गरेका महिलाहरुलाई हातपात गरे रे बसन्ते, पर्कासे र अरु फलाना फलाना केटाहरुले’ भनेर कुरा लगाईदिएको रैछ ।

कुट्नमात्रै बाँकी राखेर सबैका बाआमाले गर्नुसम्म गाली गरे ।

म अरु कसैसंग नबोलि रुझेको बिरालो जस्तो भएर टौवाबाट उठेर गाविसतिर आउँदै थिएँ । बाटोमा भूपाल भेटियो । भूपाल हाम्रो मिल्ने साथी थियो । उ पनि बसन्तेसंगै आठ कक्षामा पढ्थ्यो । उसले सुनायो–‘थाहा पायौ प्रकाश? हामीसंग पढ्ने संगीता थिई नी ! त्यो त ब्यारेकसंग पोईल गईछ ।’

‘हँ !!! त्यही संगीता? जसको लागि हामी रातिराति अठारपाटे पुग्यौँ रज्यान जोगाएर फर्कियौँ उही संगीता?’ मैले भुपाललाई यो प्रश्न सोध्न जरुरी ठानिन । किन भने उनीहरुसंग पढ्ने संगीता उही मात्र एक्ली थिई ।

टाउको कन्याउँदै मैले पछिल्तिर फर्केर हेरेँ ।
अलि परबाट बसन्ते आँखाको कचेरा पुच्छ्दै हामी भएतिरै आउँदैथियो ।

समाप्त ।

plamichhane98@gmail.com

Twitter : @baabajee

Posted in कथा | Tagged , | 4 टिप्पणीहरु